धारापानीमा दाताको सहयोगमा विभिन्न संरचना निर्माण हुँदै

  •   
  •  

दाङ ६ फागुन । दाङको प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा दाताहरुको सहयोगमा विभिन्न संरचना निर्माणको काम सुरु भएको छ । कोरोना संक्रमणपछि मन्दिरमा बन्द भएको भौतिक निर्माणको काम पुनः शुरु भएका छन् ।

विभिन्न दाताहरुको सहयोगमा धारपानीमा ज्येष्ठ नागरिक तथा अपांगमैत्री प्रवेशद्वारा, यज्ञमण्डप, पितृमोक्ष स्थललगायतका संरचना निर्माण हुन थालेका पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिका सचिव बिष्णुराम आचार्यले वताए । उनका अनुसार घोराही–१५ निवासी उपेन्द्र शर्माले स्व. रामप्रसाद शर्माको स्मृतिमा करिव १० को लागतमा मन्दिरको रिङरोटमा पर्ने गरी ज्येष्ठ नागरिक तथा अपांगमैत्री प्रवेशद्वारा निर्माण गर्न थालेका हुन् ।

प्रवेशद्वाराको शर्माले मंगलवार सरस्वती पुजाको अवसर पारेर काम शुरु गरेका हुन् । बैशाख महिनाभित्र सम्पन्न गर्ने गरी काम शुरु भइसकेको समेत सचिव आचार्यले बताए । त्यसैगरी घोराही–६ गुरुवागाउँ निवासी चूडामणि पौडेल र उनका छोराबुहारीले स्व. क्वाँरादेवी पौडेलको स्मृतिमा यज्ञ मण्डप निर्माण गर्न थालेका छन् । करिब १० लाखको लागतमा यज्ञ मण्डप निर्माण कार्यको शुरुवात गरिएको हो ।

घोराही–१५ निवासी प्रभात घिमिरेले करिब ५ लाखको लागतमा पितृ मोक्षस्थल (श्राद्ध गर्ने स्थान) निर्माणको काम थालेका छन् । संरचना निर्माणका लागि मन्दिरले जग्गा उपलब्ध गराउने र बाँकी काम स्वयम् व्यक्तिहरुले नै गर्ने भएको सचिव आचार्यले बताए ।

त्यसैगरी कोरोनाका कारण मन्दिरमा दाताहरुको सहयोगमा निर्माण गर्न थालिएका संरचनाहरु निर्माणमा समस्या भएकाले सहयोग गर्न मन्दिर व्यवस्थापन समितिले सबैमा आग्रह गरेको छ । कोरोनाका कारण आर्थिक संकट पर्दा पाण्डवेश्वर मन्दिरदेखि–खड्गदेवी मन्दिर सुनकोटसम्म निर्माण थालिएको सिँढी, गुरुकुल संस्कृत वेद विद्यालय, सुनकोटमा खड्गदेवीको मन्दिरलगायतका काममा असर गरेको सचिव आचार्यले बताए ।

‘यीलगायतका धेरै कामहरु मन्दिरमा दाताहरुको सहयोगमा निर्माण भइरहेका थिए’, सचिव आचार्यले भने– ‘तर कोरोनाले समस्या पारेपछि धेरै दाताहरुले सहयोग गर्न सक्नुभएको छैन । जसले गर्दा निर्माणमा समस्या भएको छ ।’ उनले सुनकोटसम्म ४ हजार ९ सय ६३ वटा सिँढी निर्माण गरिने भनिए पनि अहिलेसम्म करिब डेढ सय बढी सिढीहरु मात्र निर्माण हुन सकेको उनले बताए ।

त्यसैगरी गुरुकुल संस्कृत वेद विद्यालय, सुनकोटमा भगवतीको मन्दिर निर्माणको कामसमेत हुन नसकेको उनले बताए । उनका अनुसार घोराही–६ पचुर्खा निवासी सुनिल पाण्डेको सहयोगमा मन्दिर प्रवेशद्वार नजिक शिव पार्क निर्माणको कार्य जारी रहेको बताए । गतवर्षबाट शुरु भएको काम बैशाखसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । धार्मिकस्थलको रुपमा रहेको धारपानीमा विश्वकै अग्लो त्रिशुल राखिएपछि धारापानीको आकर्षण बढ्दै गएको हो ।