सेवाघरद्वारा उबासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत सम्मान

केएल बुढाथोकी
दाङ, ५ फागुन । मानव कल्याण समाज (सेवा घर) दाङले आज दाङ उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा स्वागत सम्मान गरेको छ ।

घोराही उपमहानगरपालिका–१५ स्थित सेवा घरको कार्यालयमा आयोजित स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा प्रमुख अतिथि एवं घोराही १५ का वडाध्यक्ष रमेश पाण्डे, सेवा घरकी अध्यक्ष सुमी मानव, सचिव विजय पोख्रेल, कोषाध्यक्ष सुदर्शन जोशी एवं अभियन्ताहरु अनिल राजथला, सुष्मिता श्रेष्ठ र गीता चौधरीले नवनिर्वाचित अध्यक्ष टंकसिंह बुढाथोकी, निवर्तमान अध्यक्ष नारायण भूसाल, उपाध्यक्ष रामप्रसाद पोख्रेल, महासचिव महेन्द्र बुढाथोकी, सचिव नरेश कुमार श्रेष्ठ, सहकोषाध्यक्ष राज राणा र सदस्यहरुलाई अबिर टीका र पुष्पगुच्छाले स्वागत एवं सम्मान गरेका हुन ।

सेवाघरकी अध्यक्ष सुमी मानवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एवं वडाअध्यक्ष रमेश पाण्डेले सेवाघरले राज्यले गर्नुपर्ने कार्य गरेको भन्दै सेवाघरको स्थायित्वको लागि आफूले विशेष पहल गरिरहेको बताएका थिए ।

दाङ जिला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, निवर्तमान अध्यक्ष नारायण भूसाल, उपाध्यक्ष रामप्रसाद पोख्रेल, महासचिव महेन्द्र बुढाथोकी, सचिव नरेश कुमार श्रेष्ठ, सहकोषाध्यक्ष राज राणा र एवं सदस्यहरुले सेवाघरले सडकमा अलपत्र र असहायरुपमा रहेकाहरुको उद्धार र संरक्षण गरेकोमा सह्राना गर्दै सेवाघर संचालन गर्न आफूहरूले सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थिए ।

कार्यक्रममा स्वागत कोषाध्यक्ष सुदर्शन जोशीले र सहजीकरण सचिव बिजय पोख्रेलले गरेका थिए । सडकमा अलपत्र परेका असहायहरुको उद्धार, संरक्षण एवं पारीवारिक पुनर्मिलन गराउने उद्देश्यले संचालित सेवाघरले २०७७ मंसीरदेखि दाङमा शाखा स्थापना गरेको हो । अहिले यस सेवाघरमा २२ जना असहायहरु छन् भने ३० जनालाई परिवारसंग पुनर्मिलन गराइएको छ ।