के.पी.सुवेदी
आजभोलि शक्ति प्रदर्शनको होड चलेको छ । राजधानी काठमाडौंमा सायद शक्ति परीक्षण भइसक्यो होला । त्यसैले अब देशका विभिन्न भागमा शक्ति प्रदर्शन गर्ने क्रम चलेको छ । उता पार्टी चलाउन नसक्ने नालायकहरुलाई भारीमतले विजयी गराएर बाँदरको हातमा नरिवल थमाए जसरी देशको शासन चलाउने जनादेश नेकपालाई दिएका जनतालाई समृद्धि दिने र सुशी तथा सम्पन्न बनाउने काल्पनिक स्वर्ग बेचेका थिए ।
नेकपाका ढोँगी, पाखण्डी र अहङ्कारी नेताहरुले संसारका सामू लाजै नमानेर गणतन्त्रको खिल्ली उडाउलान् भनेर जनताले विश्वास गरेका होइनन् तर उनीहरु कपटी र जाली भएकोले धोका खान परेको कसैबाट लुकेको छैन । आज यति तल ओर्लेर हिजो वाह जोरेकालाई यसरी धारे हात लगाउनु र सराप्नु कति सैह्य हुन्छ ?
जनताले विचार गर्नुपर्ने होइनर ? जब–जब कथित जनसभाका नाममा सडक बन्द गरेर बर्बराउन सुरु गर्छन्, त्यसबेला यिनीहरु आफ्नै वर्गमित्रलाई के भनिरहेको छु ? भन्ने हेक्कासम्म पनि हुँदैन । जनतालाई विवेक शून्य पशुसरह सडकमा उभ्याएर मञ्चबाट बर्बराउन थालेपछि त्यहाँ न विचार हुन्छ न कुनै शिद्धान्तको व्याख्या नै हुन्छ । जे हुन्छ त्यहाँ गालीगलौज र निम्न स्तरीय प्रहसन मात्र हुन्छ ।
जनतालाई यसरी ठाउँ, कुठाउँ जम्मा पारेर कसैलाई दोषारोपण गर्दैमा म सज्जन हुन सक्छु र उसलाई दोषी सावित गर्छु भन्ने सम्झेर जनताको काम गर्नुपर्ने अमूल्य समय खेर फाल्ने नेताले देश र जनतालाई केही दिन सक्तैन भन्ने यो भन्दा सुस्पष्ट प्रमाण के हुन सक्छ ? सात दशक लामो संघर्ष र अनुपम उदाहरणको बलिदानप्रति ठट्टा गरिरहेका नेतृत्वबाट अझै पनि केही हुनसक्छ भनेर आशा गर्ने र उनीहरुका अश्लील उछृङ्खलवासप्रति तालीले साथ र समर्थन गर्नेहरुसँग कुन विवेकको अपेक्षा गर्ने ? परिस्थिति त हिजो र आजको समतुल्य हुन सक्तैन ।
किनभने हिजो केही हुन नसक्ने, हुन नदिने राज्य संरचना र संयन्त्र फेर्नका लागि शहादत दिएका थिए, योद्धाहरुले । हिजैका शासकको सिको गर्न र उसका कमजोरीतर्फ औँला देखाएर तुलना गर्न पाइन्छ ? अनि त्यसलाई सुनेर क्या गजव भनिरहँदा हाम्रो चेतना स्तरमाथि प्रश्न उठिरहेको छ । किनभने लोकतन्त्रमा जनताको पक्षधर प्रश्नकर्ता हुनुपर्छ र शासक पक्ष जवाफकर्ता हुनुपर्छ । तर विडम्बना ! यहाँ त जनतालाई प्रश्न सोध्ने अधिकारबाट वञ्चित गर्न अनेक कानुन बनाउन सुरु भएको छ । त्यसको प्रतिकार नगर्ने हो भने जनता नागरिकबाट रैती बन्नुपर्ने दिन नआउला भन्न सकिन्न ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस चलिरहेको विषयमा आज आम सर्वसाधरको धारणा स्पष्ट छ । प्रधानमन्त्री ओली प्रतिगामी बाटो लागेका छन् । जुन कुरा सुधार गर्न नयाँ कानुन बनाउनु प¥यो त्यसको खिलाफमा उभिएर मैले गरेको कानुनसम्मत छ भनिरहँदा त्यसलाई साथ दिने कानुन व्यवसायीहरु वर्तमान संविधानसँग असहमति राख्ने पुरानो सत्ताका समर्थक छन् । आधुनिक भनिएका महान्यायिवक्ता र पूर्व सभाध्यक्ष बहकिएका छन् ।
त्यसरी वहकिनुमा प्रधानमन्त्री ओलीको प्रतिगमनसँग सँगै सति जान तयार भएका हुन् । प्रतिगमन र अग्रगमन जेसुकै भए पनि सत्तामा रहेर केही भ्रष्ट, कमिशनखोर र दलालको हालीमुहाली यो देशको अर्थतन्त्रमा चलिरहोस् भन्ने मनसायले निरंकुश शासक बन्न चाहेका ओलीलाई साथ दिने पनि लक्षित समूहले नै सम्भव हुन्छ । नेकपाको ओली इतरको समूह पनि केही कम छैन र देशलाई अस्थिरतातर्फ धकेल्न उनीहरुको पनि उत्तिकै जिम्मेवारी छ ।
किनभने अर्को समूहका नेता भनिएका प्रचण्डले परिवाद चलाएको सबैले देखेका छन् । जुन जगबाट उनको राजनीति त्यो उचाइमा पुग्यो त्यसमा योगदान दिने विद्रोहका सहयोद्धा हालको सता–ताका सुविधा भोगमा छैनन् । तिनीहरुलाई प्रचण्डले अलपत्र पारेर सत्तामा उक्लेका हुन् ।
सत्ता र सडक दुवै क्षेत्र ओगटेर एककर्कामा हिलो छ्याप्न थालेपछि प्रमुख प्रतिपक्षलगायतका सत्तामा नरहेका दलहरुले त्यसरी नै सडकमा अर्को तमासा गर्न त सक्तैनन् । तैपनि देशलाई यी अवसरवादी, ढोँगी र अहङ्कारी कम्युनिष्टको मनपरीतन्त्रबाट निकालेर लोकतान्त्रिक बाटोमा डो¥याउन फेरि पनि पृथक ढङ्गले सडकमै निस्किनुपर्ने होला ।
किनभने संसद भङ्ग गेर आफ्नो विरुद्ध उठने कदमहरुलाई ओलीले रोकेका छन् र प्रचण्डको समूहले लोकतान्त्रिक पद्धतिलाई एउटा बिसाउनी चौतारी भन्दै विध्वंसक बाटोमा हिडेको अर्को अवैध नेकपासँग सहकार्य गर्न जाने धम्की दिँदै आएको छ । यदि ओली र प्रचण्ड मिले भने हामीले व्यहोरेको अलोकतान्त्रिक शासन हुनेछ र नमिलेको अवस्थामा कानुनको राज्य यिनीहरुको दर्शनमा नहुने छ । हामीले व्यहो¥यौँ कि मिल्दासम्म ओलीको सरकारले गरेका भ्रष्टाचारका विरुद्ध प्रचण्ड समूह बोलेन ।
राष्ट्रपतिको लागि खरिद गरिएको विमानलगायतका विलाशिताका खरिदमा भएको विवादास्प्रद निर्णय, जनताका मौलिक हक र संवैधानिकहक कुन्ठित गर्ने विधेयक ल्याउँदा, कर छलि र भन्सार सुविधा दिने गरी गोप्य सूचना चुहाउँदा, स्वास्थ्य सामग्री खरिदमा अनियमितता हुँदा, त्यस्तै प्रधानमन्त्री ओलीले हेलिकोप्टरमा केक ओसारेर जन्मदिनको नाटक गर्दा, यति होलडिंसबाट अर्वौं कमिशन लिँदा, सबैमा भाग पुग्दासम्म समर्थन मात्र होइन ढाल बनेर रक्षा गरेकै हुन् ।
अहिले नेकपा इतरबाट हुने गरेका विरोध कार्यक्रमलाई ओली या प्रचण्ड एकको विरोध र अर्काको समर्थन भन्ने अबुझ र मुढे तर्क गरिरहेको पाइन्छ । तर वास्तविकता धेरै फरक छ । यथार्थमा विरोध व्यक्तिको होइन संविधान विरोधी कदमको हो । त्यसका साथै सम्पूर्ण रुपमा नेकपाका दुवै समूहको हो । किनभने अहिले दुई वा जतिसुकै समूहमा विभक्त देखिए पनि यिनीहरु नालायक, असक्षम र देश र जनताप्रति वेइमान भएकोले देश दुर्घटनातर्फ उन्मुख भएको हो ।
नेकपाका स्वार्थ फेरि पनि देशमा लुट मच्चाउन मिल्न सक्छ । इतिहासतर्फ फर्केर हेर्दा शैद्धान्तिक रुपमा मिल्नसक्ने अवस्था थिएन तर मिलेर सत्तामा रजाइँ गरे । न मिले पनि उनीहरुसँग खानका लागि मिल्ने सहमति हुन सक्छ नत्र देशको र लोकतन्त्रको सम्बद्र्धन एवं संरक्षणमा धोका मात्र हात लाग्छ भन्ने प्रमाणित भएको छ । त्यसैले सहकार्य पनि वैज्ञानिक, तर्कसंगत र प्राकृतिक हुनुपर्छ । कुनै पनि तर्कले युक्तिसंगत नहुने सहकार्य असम्भव छ ।