स्वास्थ्य बिमा ‘शुभारम्भ’

इन्द्र डि.सी.

दाङ, ३० माघ । नागरिकलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न जिल्लामा स्वास्थ्य बिमा सुरु भएको छ । स्वास्थ्य बिमा लागू हुने दाङ जिल्ला लुम्बिनी प्रदेशको ११ र देशभरको ६७औं जिल्ला हो । स्वास्थ्य बिमा वार्षिक कार्यक्रम हो । ३५ सय रुपैयाँ तिरेर बिमा गरेपछि वर्षभरमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार लिन सकिने व्यवस्था छ । स्वास्थ्य बिमाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले शुक्रवार शुभाराम्भ गरेका हुन् ।

स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले मुख्यमन्त्री पोख्रेललाई बिमा कार्ड उपलब्ध गराएर जिल्लामा बिमा शुभाराम्भ गरिएको थियो । त्यस अवसरमा मुख्यमन्त्री पोख्रेलले जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपाली, ज्येष्ठ नागरिक विन्तिराम चौधरी, काली चौधरीलगायतलाई बिमा कार्ड प्रदान गरेका थिए ।

कार्यक्रमको शुभाराम्भ गर्दै मुख्यमन्त्री पोख्रेलले आर्थिकको अभावमा रोग लुकाउने कार्यलाई अन्त्य गर्न बिमा कार्यक्रमले भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘पैसाको अभावमा अझै पनि धेरै मानिस रोग लुकाउन वाध्य छन्, अब यो कार्यक्रमले त्यसमा भूमिका खेल्ने छ’–मुख्यमन्त्री पोख्रेलले भने । उनले बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थाको सेवा सवलीकरण र सक्षम हुनुपर्ने बताए ।

बिमा कार्यक्रममा खट्ने स्वम्सेवकको परिचालन, भूमिका र आत्मविश्वासमा कार्यक्रमको प्रभावकारिता भर पर्ने भन्दै त्यो अनुसार जनशक्तिको विकासमा ध्यान दिन मुख्यमन्त्री पोख्रेलले सुझाव समेत दिए । कार्यक्रममा जनसंख्या तथा स्वास्थ्य राज्यमन्त्री नवराज राउतले स्वास्थ्य बिमा सरकारको मुख्य कार्यक्रम भएको भन्दै यसलाई सफल बनाउन सबैको भूमिका महत्वपूर्ण भएको बताए ।

‘जिल्लावासीको लागि यो ऐतिहासिक दिन हो, यसलाई सफल बनाउन र स्थानीय सरकारको मुख्य जिम्मेवारी छ’–राज्य मन्त्री राउतले भने–‘अब स्थानीय सरकारले नागरिकलाई बिमाको बारेमा जनचेतना जगाउनु पर्छ ।’

कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपाली र घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले स्वास्थ्य बिमालाई प्रभावकारी बनाएर लैजान सुझाव दिएका थिए । स्वास्थ्य बिमा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख मनोज पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोर्डका विज्ञ डा सुरेश तिवारी र जनस्वास्थ्य कार्यालय दाङका प्रमुख अङ्गदबहादुर शाहीलगायतले विचार राखेका थिए ।

गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधरणलाई प्रवाह गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता पनि गर्ने स्वास्थ्य बिमाको उद्देश्य हो । बिमा कैलालीबाट सुरुवात गरिएको हो । अहिले दाङ सहित ६७ जिल्लामा यो कार्यक्रम सुरू भएको छ । स्थानीय तहका हरेक वडामा एक जना दर्ता सहयोगी छन् । ती सहयोगी घर–घरमै जान्छन् । तथ्याङ्क सङ्कलन गरेर बिमामा सर्वसाधरणलाई आबद्ध गराउने काम गर्छन् ।

त्यही तथ्याङ्गकै आधारमा बिमा हुन्छ भने बिमित भएकै आधारमा कार्ड पनि वितरण हुने गरेको छ । परिवारबाट वार्षिक ३ हजार ५ सय बिमावापत लिने त्यो वापत वार्षिक १ लाख रुपैयाँसम्मको सेवा पाउने व्यवस्था भएको बोर्डले जनाएको छ । बिमा बोर्डले ५ जनाको परिवारलाई एउटा ईकाई मानेको छ । ५ जनाभन्दा बढी सदस्य रहेको हकमा प्रति सदस्य अतिरिक्त ७ सय खर्च गरेर वार्षिक १ लाखमा क्रमशः २० हजारका दरले औषधी उपचारको सुविधा थपिँदै जान्छ ।

ज्येष्ठ नागरिक छन् भने प्रतिज्येष्ठ नागरिकले १ लाखको उपचार सेवा पाउँछन्, त्यसका लागि कुनै योगदान गर्न पर्दैन । कुनै परिवार अति गरिबको सूचीमा छ भने उसको पनि निःशुल्क बिमा हुन्छ । बिमितलाई कार्डको व्यवस्था गरिएको छ ।