कविता : युवा पिढी

यम रेग्मी

फोडेर छाँगा मुल झिक्नुपर्छ
पुगेर टुप्पा फल टिप्नुपर्छ
दोई बघेनी दूध बेच्नुपर्छ
आफ्नै धरामा मणि भेट्नुपर्छ ।

सम्झेर राती दिनमै दुखेको
पानी नपर्दै किन हो रुझेको
तरिन्न खोला दहमा डुबेर
झुल्दैन बाली अघि नै सकेर ।

बन्दैन चुल्हो पर अग्नि बाल्दा
बनिन्न माली परदेश भाग्दा
काचो, गलेको फल हुन्न मीठो
युवा बसेको घर क्या सुनौलो ।

मकै खडेरी जति धेर खान्छ
घुवा सुनौलो उति बन्न जान्छ
हिडेर मात्रै खुलिदिन्छ बाटो
आली लगाए बनिदिन्छ आठो

धुवा पुरानो खुब फाल्छ गाडी
चढ्छन नयाँ नै बसमा सवारी
आँधीहुरीमा बन रुख साल
युवा पिढी हौं युगको जहाज ।