यम रेग्मी
फोडेर छाँगा मुल झिक्नुपर्छ
पुगेर टुप्पा फल टिप्नुपर्छ
दोई बघेनी दूध बेच्नुपर्छ
आफ्नै धरामा मणि भेट्नुपर्छ ।
१
सम्झेर राती दिनमै दुखेको
पानी नपर्दै किन हो रुझेको
तरिन्न खोला दहमा डुबेर
झुल्दैन बाली अघि नै सकेर ।
२
बन्दैन चुल्हो पर अग्नि बाल्दा
बनिन्न माली परदेश भाग्दा
काचो, गलेको फल हुन्न मीठो
युवा बसेको घर क्या सुनौलो ।
३
मकै खडेरी जति धेर खान्छ
घुवा सुनौलो उति बन्न जान्छ
हिडेर मात्रै खुलिदिन्छ बाटो
आली लगाए बनिदिन्छ आठो
४
धुवा पुरानो खुब फाल्छ गाडी
चढ्छन नयाँ नै बसमा सवारी
आँधीहुरीमा बन रुख साल
युवा पिढी हौं युगको जहाज ।
५