तुलसीपुर उद्योग वाणिज्य संघको अधिवेशन : व्यवसाय, पार्टी, अनि ग्रुपिजम्‘

  •   
  •  

खेमराज रिजाल
तुलसीपुर, ३० माघ । घोराहीमा हुस्सु लागिरहँदा तुलसीपुरमा बिहीवार विहानै घाम लागेको थियो । भैरहवा र नेपालगञ्जको हवाइ यातायात सेवा लिने प्रदेश सांसद तथा सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी यसपाली तुलसीपुरकै विमानस्थलमा उत्रे । तर यो उनको बाध्यता थियो, अनि छैठौं फ्लाइट पनि थियो ।

महरा पनि यही फ्लाइटमा धेरै चोटी अवतरण गरे । तर व्यवसायीहरुले माग गरेअनुसार विमानस्थल सुधार हुनुको साटो सरकारले फेरि वैकल्पिक विमानस्थलको अवधारणा ल्याएको छ । डिपिआरका लागि सायद बजेट पनि विनियोजन गरेको छ । तर यहाँको विमानस्थल उडानको समस्याले कमजोर देखाइँदै छ ।

अर्को समृद्धिको पाटो भनेको तुलसीपुरलाई पूर्व–पश्चिम राजमार्गमा जोड्नुको वैकल्पिक एवं सुनिश्चित एवं छोटो दुरीको तुलसीपुर–हापुरे–सुर्खेत राजमार्गको स्तरोन्नति थियो । त्यसमा दाङ उद्योग वाणिज्य संघले तीन जिल्लाका सडक कार्यालय, जिल्ला विकास समितिका अधिकारी, नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिहरुलाई पनि समावेश गराइएको थियो ।

तर दश बर्षसम्म पनि उनासी किलोमिटर बाटो नबन्दा अनि नचल्दा राज्यलाई कति इन्धन खपत बढिरहेको छ भन्ने विषय तुलसीपुर उद्योग वाणिज्य संघको मुद्दा थाँती रहेको छ । देखिन थालेको छ, व्यवसायीहरुबीच पार्टी, तालमेल र ग्रुपिजम… ।

तुलसीपुरको सुरक्षाको एउटा समस्या कुटनीतिक नियोगका ट्राभल एड्भाइजरीमा सुरक्षित तुलसीपुर बनाउने, अर्को कुरा हवाइसेवालाई बढाउँदै लैजाने त्यसपछि बल्ल आन्तरिक व्यवस्थापनका कुरा आउँछन् । सडक विस्तारभन्दा पनि पछिल्लो समयमा सडक व्यवस्थापनको कुरा हो ।

असन र न्युरोडभन्दा फराकिला सडक हुँदाहुँदै अहिले सडक विस्तारभन्दा पनि व्यवस्थापनमा व्यवसायी लाग्नुपर्ने हो कि होइन ? तर कसैले घर फालौं भन्छन्, कसैले मैले फाल्दैन भन्छन्, अनि सडक स्तरोन्नतिको काम रोकिएको छ । तर यो विषयमा पनि उद्योगी व्यवसायीहरु फुटेका छन् । व्यवसायी जुट्न सकिरहेका छैनन् ।

क्लबको घोषित उम्मेदवार कोही हुन सक्दैन, परिवारबादको उम्मेदवार पनि कोही हुन सक्दैन, अनि राजनीतिक दलले सिफारिस गरेको उम्मेदवार पनि बलियो हुन सक्दैन । सकेसम्म निषेधको राजनीतिलाई अन्त गर्ने सर्वसम्मत उम्मेदवारको चयन हुनुपथ्र्यो । तर खासमा तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्व व्यवसायीहरुको इच्छाले चयन हुन सकेको छैन ।

यो बर्ष पनि व्यवसायीहरु विभाजित हुँदै गर्दा राजनीतिक दलहरु पनि विभाजित भएर व्यवसायीको चाकरीमा लाग्नसमेत बाध्य भए । पार्टीको मिशनभन्दा पनि यो व्यवसायी मेरो, ऊ उसको भन्ने सवालमा सर्वसम्मत नेतृत्व चयन हुन सकेन । अन्ततः अहिले तुलसीपुर उद्योग वाणिज्य संघ चुनावी मैदानमा छ । यसमा आम व्यवसायीहरुले दलीय प्रभावलाई कत्ति पनि स्वीकार गर्ने छैनन्, आवश्यकताका आधारमा नेतृत्व ल्याउनेछन् भन्ने पनि नागरिक अभिव्यक्ति छ । यो हेर्न अझ बाँकी छ ।

नेकपा फुटेको अवस्थामा कांग्रेस फुटेको छैन । तर कांग्रेसमा पनि आन्तरिक समस्या त छँदैछ, तर यो निर्वाचनमा पनि कांग्रेसले अधिकतम प्रयास गरिरहँदा पनि केही झिना–मसिना समस्या सम्बोधन हुन सकेका छैनन् । उम्मेदवार तोक्ने विषयमा पनि केही समस्या थिए तर त्यसलाई व्यवसायीहरुकै ग्रुपिजमले बिगारेका एक नेताले बताए ।

दीपक गिरी, गेहेन्द्र गिरी, खिमप्रसाद खराल, केशव आचार्य पार्टीका नेता हुन् । उनीहरुसँगै क्षेत्रीय सभापति जगत खड्का र राजनीतिमा जोडिएका अन्य पार्टीका पूर्व सभापति र नेताहरुसँगै महिला नेतृहरुले समेत तुलसीपुर उद्योग वाणिज्य संघमा चासो देखाएका छन् । तर कांग्रेसमै आवद्ध व्यवसायीहरुको समस्याका कारण सर्वसम्मत नेतृत्व किन हुन सकेन ? यो सबैभन्दा ठूलो समस्या हो । यसमा कांग्रेस नेता र व्यवसायीहरु, कांग्रेस र प्रेस युनियनबीचको सुमधुर सम्बन्ध स्थापित हुनुपर्ने अर्का व्यवसायीले बताएका छन् ।

पार्टी विभक्तको संघारमा पुगिसकेको अवस्थामा पनि नेकपा एकाकार भएको सन्देश दिँदै प्यानल खडा गरेको छ । नेकपाले विद्रोही उम्मेदवार उठाएको पनि छैन । नेकपाले चुनाव जित्ने अठोट पनि गरेको छ । नेकपाको समीकरणका लागि उनीहरुको व्यापार संगठनले गरेको निर्णय सर्वोपरी भएको छ ।

तुलसीपुर नगरसचिवले निर्णय गर्दै गर्दा घोराही नगरसचिव गेहेन्द्र बस्नेत र उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य ध्रुव श्रेष्ठ भारीले पनि चासो देखाउँदै समन्वयकारी भूमिकामा रामप्रसाद चालिसेलाई उठाए । तर कांग्रेसको यो अवस्था अझै पनि गौण देखियो ।

अनुपकुमार श्रेष्ठ एउटा असल, सरल र सौहार्द व्यवसायी थिए । उनी दाङ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष एवं कुशल व्यवसायी तोरणध्वज श्रेष्ठका छोरा पनि हुन् । विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् । सामाजिक सेवामा उनले कहिल्यै हात झिकेका छैनन् । सहयोगको प्रतिफल पनि खोज्दैनन्, तर उनलाई खल्तीको उम्मेदवार किन बनाइयो, धेरै व्यवसायीहरुले यही सोधिरहेका छन्, बजारमा ।

तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्नका लागि अर्कोपटक पहल गर्ने अहिले सहजीकरण र समीकरण मिलाउन लागिरहेका युवा व्यवसायी विनिल केसीको महासचिव पदका लागि पनि फेरि अर्का उम्मेदवारलाई उठाइएको छ, । अर्का उम्मेदवार केशव केसी पनि होनहार युवा हुन् । तर पार्टीले उनलाई अर्को कुनै स्पेश दिनुपर्छ कि कारबाहीको चेतावनी । कोषाध्यक्ष पदका उम्मेदवार देवबहादुर केसीलाई नेपाली कांग्रेसले उपाध्यक्षमा टिकट दिइसकेको थियो ।

तर उनी फेरि व्यवसायीहरुलाई स्वतन्त्ररुपमा निर्वाचन गराउन सक्ने भन्दै कसैको संकेतमा उपाध्यक्षमा उम्मेदवारी नदिएर कोषाध्यक्षमा उम्मेदवारी दिए । अहिले उनले पनि त्यो रियलाइज गरिसकेका छन् । उनी भन्छन्– ‘केही नेताको संकेत कोषाध्यक्षमा आउनुपर्दछ भन्ने थियो, त्यसैले यो पदमा उम्मेदवारी दिएँ ।’ कुन नेताले के संकेत गर्छन् र के हुन्छ भन्ने निर्णय आम व्यवसायीहरुले गर्नेछन् । देवबहादुर केसीलाई उद्योग वाणिज्य संघको नेतृत्वमा आउन कुनै समस्या छैन, तर नेतृत्वकै समस्याले बरालिएका हुन् ।

उनको विषयमा अब पार्टीले भन्दा पनि व्यवसायीहरुले मत दिएर न्याय गर्नेछन् भन्ने व्यवसायीहरुको बुझाइ छ । डिजाइन र सेटिङले अब तुलसीपुर चल्दैन, पार्टीले हस्तक्षेप गरेर पनि चल्दैन, त्यसका लागि व्यावसायिक एकता मात्रै अहिलेको आवश्यकता हो’, तुलसीपुरको बीरेन्द्रचोकका एक व्यवसायीले भने ।

समीक्षालयबाट शुरु भएको ¥याली

यसैबीच सर्वसम्मत निर्णग गर्नका लागि अधिकतम् पहल गरेका कांग्रेस नेता केशव आचार्य र प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष जनक खरालको नेतृत्वमा समीक्षालयबाट मत माग्ने अभियान शुरु भएको छ ।

कांग्रेसका आधिकारिक उम्मेदवार टेकनप्रसाद बस्नेतलाई जिताउनका लागि कांग्रेस सभापति कीर्तिबहादुर खड्का, संविधानसभा सदस्य बृद्धिराम भण्डारी, क्षेत्रीय सभापति जगत खड्का, नेता केशव आचार्य, तुलसीपुरका केही जनप्रतिनिधिहरु पनि सहभागी भएका थिए ।

त्यसैगरी अर्का अध्यक्षका प्रत्यासी रामप्रसाद चालिसेको नेतृत्वको टोली पनि चुनावी घरदैलो अभियानमा रहेको छ । चालिसे पनि उद्योग वाणिज्य संघका वर्तमान उपाध्यक्ष हुन् । उनलाई पार्टीले सँगै आम व्यवसायीहरुले पनि स्वच्छ नेतृत्वका रुपमा लिइरहेका छन् ।

उनका पछिका नेतृत्व को–को छन् भन्दा पनि चालिसेलाई भने स्वच्छ व्यावसायिक छवि भएका रुपमा लिइरहेको नेपाल व्यापार संगठनमा आवद्ध एक व्यवसायीले बताएका छन् । हेरौं, चुनावमा कसको पल्ला भारी हुन्छ ? जसले जिते पनि व्यवसायीकै जित हुने तर्क आम व्यवसायीहरुले दिएका छन् । व्यावसायिक समृद्धि र एकता आम व्यवसायीले खोजिरहेका छन् ।