गुरुप्रसाद शर्मा रेग्मी
मनमा उदवेग, उमंग, उत्साह आउँदैमा राजनीतिमा प्रवेश गर्ने हो भने त्यो परिणामदायी हुन सक्दैन । यसको लागि आफ्नो दृष्टिकोण, बदल्नु पर्दछ । आफ्ना मान्यताहरु आवश्यकताहरुलाई परिवर्तन गर्न सक्नु पर्छ । अनि मात्र राजनीतिक सेवा, साधनाको रुपमा देखिन थाल्दछ ।
हरेक मानिससँग एउटा कुनै न कुनै अनौठो शक्ति हुन्छ भने एउटा सानो जीवन हुन्छ । यसलाई लौकिक जीवनमा लगाउने या परमार्थिक प्रयोजनमा लगाउने यो निर्णय ठोस रुपमा आफैले गर्नु पर्छ । आफ्नो स्वार्थको लागि सबैले प्रयत्न गर्दछ । तर राजनीतिकर्मीहरुले आफूसँग रहेको शारीरिक र मानसिक शक्तिको सुनियोजन जनताको सेवाको लागि गर्ने गरेको हुनु पर्छ ।
त्यसैले एउटा राजनीतिकर्मीले आफ्नो आवश्यकता सुविधामा अरुकोभन्दा भिन्न दृष्टिकोण राख्नु पर्द छ र र देखिनु पर्दछ । यति मात्र नभएर आफ्नो जीवन स्तर, आवश्यकता तथा साधनको उपयोगका रीति, गीति भिन्न भएको देखाउन सक्नु पर्दछ । अनि मात्र ऊ सबैको लागि अनुकरणीय, प्रशंसनीय र पुज्य हुन सक्दछ ।
यस सन्दर्भमा नेपालका राजनीतिकर्मीहरुले आफ्नो दृष्टिकोण बदल्ने राजनीतिक दृष्टिकोण बनाउन नसकेकाले उनीहरुले सम्पन्नता र समृद्धिलाई नै आफ्नो जीवनको लक्ष्य बनाउने गरेकाले त्यही प्राप्ति नै राजनीतिकर्मीहरुको राजनीतिक मान्यता र धर्म बनाएको वर्तमानको अवस्थाले उनीहरु उपहासका पात्र बन्न गएको यथार्थलाई नकार्न सकिँदैन ।
राजनीतिकर्मीहरुले साधनको विपुलतालाई प्राथमिकता नदिएर व्यक्तित्वको श्रेष्ठतालाई आधार बनाउन सक्नु पर्दछ । यसो गर्न नसकेकाले सर्वसाधारणको दृष्टिकोण पनि सुविधा विलाषिताको साधन नै जीवनको सार्थकता बन्न गएको छ । यदि राजनीतिकर्मीको दृष्टिकोण पनि यही बन्न गयो भने त्यसले विनाशलाई निम्त्याउँछ भन्ने कुर कहीँ कतै जानु पर्दैन । आफै देशका राजनीतिकर्मीहरुलाई हेरे हुन्छ ।
यो देशमा देश र जनताको नेता कोही हुन सकेन । आफै र आफ्नै नेता बन्न गए । अझ स्पष्ट भन्ने हो भने पैसाको रकमी नेता बने । किन यस्तो अवस्था भयो भन्ने सम्बन्धमा ‘ऐना’ पुस्तकमा एउटा कविता छ । त्यसलाई उल्लेख गर्नु असान्दर्भिक नहोला भनेर यहाँ उल्लेख गरेको छु ।
पढ्न नसकी कुलतमा फसेका
गृहस्थी बिगारी काम नपाएका
प्रमादि र उन्मादि मान्छे
भर्ती भएका छन् राजनीतिक केन्द्रमा ।
सभ्य र सामाजिक बन्न हिडेकी
सन्त डगाई अंश नपाई वैधव्य भोगेकी
असफल साहित्यकार विचलित जोगी
सबै बसेका छन् राजनीतिक वसभरि ….
राजनीतिकर्मीहरुले कमसेकम आफना आवश्यकताहरु राख्ने दृष्टिकोणको विकास गर्नु पर्दछ । शान, शौकत, मोजमस्तीको विलाषिता, साधनको उपयोग नै धनीमानीको जीवन हो भन्ने सोच र चिन्तन नै गलत हो । यही गलत सोच र चिन्तनको परिभाषा नै राजनीतिकर्मीहरुले बदल्नु पर्दछ ।
धनीमानी र सबैको मनमा बसेको व्यक्ति बन्न धनसम्पत्ति या सान, शौकत नभएर उत्कृष्ट र आदर्श व्यक्तित्वको आवश्यकता पर्दछ । विगतका राजनीतिकर्मी व्यक्तित्वहरु सुविख्यात र प्रशंसित भएका छन् । उनीहरुको बारेमा भन्नु पुनः रुक्ति मर्नु मात्र हो । उनीहरुले सत्परामर्श दिएर मानिसको मनोबल उठाइदिने गरेका थिए । सहयोगी पनि बनिदिने गरेका थिए ।
तर यतिबेलाका राजनीतिकर्मी मायाकी कालगेमी जस्ता भएर उसैको भूमिका निभाइरहेको देखिन्छ । यिनीहरुले अनेक षड्यन्त्रहरु रचेर देश र जनताको विकासमा बाधक मात्र भएका छैनन्, आफ्नै दलका साथीहरुप्रति अन्तरघात गरेर राजनीतिक मूल्य र मान्यतालाई कलुषित बनाएका छन् । जनतालाई पथभ्रष्ट र दूराचारी तस्कर बनाउन पनि कम्मर कसेकै देखिन्छन् ।
यिनी र यस्तै नेताहरु आदर्शवादी, त्यागी, अध्यात्मकवादी, योगी, प्रख्यात राजनीतिज्ञ, जनसेवी, राष्ट्रवादीहरुले आफ्ना झोक र चम्चाहरुलाई जे भन्न लगाए पनि हकदार पटक्कै छैनन् । यिनीहरुको चरित्रको विश्लेषण गर्ने हो भने यिनीहरुको भित्र पनि अहमताको चोर ढोकाबाट छिरेर तानाशाहझैँ सिंहासनारुढ बनेर बसेको देखिन्छ । अझ यतिबेला सन्त धर्म सम्प्रदाय संस्थाहरु प्रतिस्पर्धाको कहालीलाग्दो केन्द्र बनेका छन् ।
एउटै संस्था वा दलका सदस्य भएका, एउटै लक्ष्य भएको भए पनि अरुलाई निचा देखाउन र आफूलाई उच्च देखाउन दम्भ र अहम्ताको सानो छुचुन्द्रोझैँ आफ्नो करिश्मा देखाइरहेका हुन्छन् । त्यसैले राजनीतिकर्मीहरुमा राजनीतिको र को लेस पनि हुँदैन भन्दा अत्युक्ति नहोला ।
राजनीतिकर्मीहरुको यस्तै सोच र चिन्तनले गर्दा यो देश र देशका जनतालाई विपन्नताको आहालमा डुब्नु परेको हो । यस्तो प्रतिकूल राजनीतिक दृष्टिकोणमा भुलगत सुधार नभएसम्म देशको अवस्थामा कुनै सुधार हुन सक्दैन ।