पत्रिकामा पहिलो पटक कविता छापिँदा…

  •   
  •  

साहित्यमा एउटा स्रष्टाको नाम हो यम रेग्मी । छन्द कविता लेखनमा उनको रुची छ । रेग्मीका विभिन्न पत्रपत्रिकामा छन्दोवद्ध फुट्कर कविताहरु छापिनुका साथै दुई वटा कविता संग्रहहरु समेत प्रकाशित भएका छन् ।

जिल्लाको साहित्यमा सक्रिय स्रष्टाका रुपमा रहेका उनलाई गोरक्षको साप्ताहिक खुशी स्तम्भका लागि आफ्ना खुशीका पलहरु सुनाउन आग्रह गर्दा उनले आफनो जीवनको पहिलो खुशीको पलका रुपमा २०५८ सालमा गाउँघर साप्ताहिक पत्रिकामा पहिलो पटक कविता छापिँदाको सम्झना गर्छन् ।

उनले स्कूल अध्ययनकै क्रममा कविता लेख्ने र कार्यक्रममा वाचन गर्ने गरेका थिए । तर पत्रपत्रिकामहरुमा छाप्ने अवसर पाएका थिएनन् । उनी महेन्द्र क्याम्पस अध्ययनका क्रममा पहिलो पटक पत्रिकामा कविता छापियो । महिना माघ–फागुनतिरको जस्तो लाग्छ । साहित्य लेख्ने स्रष्टालाई पत्रपत्रिकाहरुमा रचनाहरु प्रकाशित गर्ने इच्छा हुन्थ्यो । त्यही इच्छा थियो, यम रेग्मीलाई पनि ।

स्कूल तहको अध्ययन सकेर उच्च शिक्षा अध्ययनका लागि महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा अध्ययनरत उनका एक जना साथी गाउँघर पत्रिकामा काम गर्ने गर्थे । उही साथीका माध्यमबाट पहिलो पटक ‘हामी नेपाली सन्तती’ शीर्षकको कविता पत्रिकामा छापियो । आफ्नो कविता छापिएर पत्रिका हातमा पर्दाको त्यो क्षण मेरो जीवनको पहिलो खुशीको क्षण हो ।

जुन क्षणलाई म सधैँ सम्झिने गर्दछु’ रेग्मीले भने । ‘कवितालगायतका अन्य साहित्यिक रचनाहरु धेरै पहिलेदेखि लेख्न थालेको थिएँ तर पत्रपत्रिकाहरुमा छापिएका थिएनन’– उनले भने–‘कलेज अध्ययनका क्रममा पहिलो पटक गाउँघर साप्ताहिक पत्रिकामा कविता छापियो, त्यो बेला म निकै खुशी भएको थिएँ ।’
उनले दोस्रो खुशीको रुपमा महेन्द्र क्यापसमा आयोजना गरिएको कविता प्रतियोगितामा प्रथम हुँदाको क्षणलाई सम्झिए ।

२०६३ साल तिर हो, कलेजमा कविता प्रतियोगिता भएको थियो । तत्कालीन सरकार र माओवादीबीचको सशस्त्र संघर्ष अन्त्यसँगै विस्तारै शान्ति प्रक्रिया अघि बढ्दै थियो । त्यही समयमा लेखिएको ‘हामी कहिले उठ्ने’ शीर्षकको कविता वाचन गरेको थिए । उक्त कविताको सन्देश हामी विकासको नाममा लडाइँ गरिरहेका छौँ । अब यसको अन्त्य गर्दै छिमेकी देश भारत र चीनजस्तै समृद्धिको दिशामा अघि बढौँ भन्ने थियो ।

‘त्यही कविताले प्रतियोगितामा करिब ३० र ३५ जना प्रतियोगीहरुलाई पछि पार्दै प्रथम भएको निर्णायकले सुनाउँदा मन साह्रै खुशी भएको थियो । त्यो पनि मेरो जीवनको खुशीको क्षण हो । जुन क्षणलाई म कलेज जीवनको एउटा खुशीको क्षणका रुपमा सधैँ स्मरण गर्दै आएको छु’ उनले भने ।

उनले माध्यमिक विद्यालय अध्ययनका क्रममै कविता, कथा, गजललगायत लेख्न सुरु गरेका थिए । तर ग्रामीण परिवेशसँगै रचनाहरु सुरक्षित राख्नका लागि अहिलेजस्तो सहज अवस्था नहुँदा धेरै रचनाहरु हराए । तीमध्ये कतिपय कविताहरु पाठकलाई सुनाउन समेत पाएनन् । तर उनले साहित्य लेखनलाई कहिल्यै छोड्न सकेनन् । निरन्तर अघि बढिरहे । त्यहीको परिणाम नै भनौ २०७० सालमा पहिलो कविताहरुको संग्रह ‘खुल्ला संसार’ कविता संग्रह छापियो । आफ्ना कविताहरु संग्रहका रुपमा छापिएर पुस्तक हातमा पर्दाको क्षण पनि अर्काे खुशीको क्षण हो ।

‘साहित्य लेखनका क्रममा धेरै स्रष्टाहरुका धेरै पुस्तकहरु पढेको थिएँ, त्यही क्रममा आफूलाई पनि आफूले एउटा कविता संग्रह निकाल्न पाएझँै हुने गरेको थियो, तर हुन सकेको थिएन’–उनले भने–‘त्यो सपना भनौँ वा चाहना २०७० सालमा भयो जनु बेला पहिलो पटक ‘खुल्ला संसार’ कविता संग्रह छापिएर पुस्तकका रुपमा हातमा पर्दाको क्षण पनि मेरो जीवनको क्षण हो ।’ उनको उक्त कविता संग्रहमा ४४ वटा कविताहरु छन् ।

त्यसपछि रेग्मीले २०७६ सालमा दोस्रो कृतिका रुपमा ‘पहराको जून’ कविता संग्रह ल्याए । त्यो कविता छापिँदाको क्षणलाई पनि उनले खुशीको क्षणको रुपमा लिने गरेका छन् । यस पटक छापिएर हातमा पर्दाको क्षणलाई नभएर उनले उक्त कविता संग्रहमा भएका कविताहरु रेडियो नेपालको कार्यक्रम मधुवनबाट वाचन गर्न पाउँदाको क्षणलाई खुशीको क्षणको रुपमा लिने गरेको बताउँछन् । हुन त आपूmले पनि केही समय पहिले घोराहीमा रहेको झरना एफएममा साहित्यिक कार्यक्रम सञ्चालन गरेका बताउँछन् ।

त्यो हिसाबले रेडियोमा बोल्ने चाहना त पूरा गरिसकेका थिए । तर रेडियो नेपालमा पुगेर आफ्ना रचनाहरु देशभरका स्रोताहरुलाई सुनाउने रहर थियो । त्यो अवसर ‘पहराको जून’ कविता संग्रहले वरिष्ठ साहित्यकार नवराज लम्सालको कार्यक्रमबाट सुनाउने अवसर जुराइदियो ।

त्यो क्षण पनि मेरो जीवनको अर्काे खुशीको क्षण भएको रेग्मीले बताए । त्यससँगै उनले चर्चित कार्यक्रम प्रस्तोता अच्युत घिमिरेको बुलबुलबाट समेत रचना सुनाउने अवसर प्राप्त गरेका थिए । त्यहीको माध्यमबाट जिल्लाका विभिन्न पत्रपत्रिकाहरुसँगै काठमाडौंबाट प्रकाशन हुने जनमत, प्रहरी, सुलेखलगायतका साहित्यिक पत्रिकाहरुमा समेत रचना छापिने गरेका छन् ।

साहित्य सिर्जना गाह्रो विषय हो । त्यसमा छन्द कविता झन गाह्रो हुने गर्दछ । छन्द कवितालाई सूत्रमा ढाल्नुपर्ने र ढालिएका शब्दरुबाट भाव समेत आउनुपर्ने भएका कारण जटिल मानिने गरिन्छ । जसले गर्दा छन्दमा कविता कमैले लेख्ने गर्दछन् । साहित्य विचारबाट प्रभावित हुने भए पनि राजनीतिबाट प्रभावित हुनु हुँदैन भन्ने मान्यता राख्ने रेग्मीको अर्काे खुशीको क्षण हो राप्ती साहित्य परिषद्बाट पहिलो पटक पुरस्कार पाउँदाको क्षण । २०७१ सालमा परिषदले मूल्याङ्कन गरेर हुकुमादेवी छन्द पुरस्कारबाट सम्मानित हुँदाको क्षण पनि जीवनको अर्काे खुशीको क्षण भएको रेग्मीले बताए ।

रेग्मी २०४१ बैशाख २ गते बुबा कलाधर रेग्मी र आमा तुलसादेवी रेग्मीको पाँचौ सन्तानका रुपमा घोराही उपमहानगरपालिका–४ मा जन्मिएका थिए । उनका तीन दाजुभाई र तीन दिदीबहिनीहरु रहेका छन् । २०६५ सालमा शान्तिनगर निवासी गीता न्यौपानेसँग वैवाहिक जीवनमा बाँधिएका रेग्मीका युगीन रेग्मी र योजना रेग्मी दुई सन्तान छन् । लामो समयदेखि जिल्लामा साहित्यक गीतिविधिमा संलग्न रेग्मी राप्ती साहित्य परिषद र शिक्षण पेसाका रुपमा घोराही उपमहानगरपालिका–४ मा रहेको सगरमाथा बोर्डिङ स्कूलमा आबद्ध छन् ।

गंगा माध्यमिक विद्यालयबाट औपचारिक पढाई सुरु गरेका उनले २ कक्षादेखि ५ कक्षासम्म रात्री प्राथमिक विद्यालय पलासेमा अध्ययन गरेका थिए । त्यसपछि ६ देखि १० कक्षासम्म माध्यामिक विद्यालय डाँडागाउँ गोग्लीमा अध्ययन गरेका उनले २०५८ सालमा एसएलसी पास गर्दाको क्षणलाई समेत आफ्नो जीवनको खुशीको क्षणका रुपमा लिने गर्दछन् ।

रेग्मीका विभिन्न फुटकर कविताहरुसँगै ‘खुल्ला संसार’ र ‘पहराको जून’ छन्द कविता संग्रहका रुपमा प्रकाशित छन् । त्यससँगै उनका ‘तल्लो जीवन’ उन्यास, कथा संग्रह र गंजल संग्रह समेत प्रकाशनको तयारीमा छन् ।
प्रस्तुती : लिलाधर वली