एक महिनामै नेपालमा कोरोना भ्याक्सिन : आचार्य

  •   
  •  

विश्वव्याधी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र निरुपणका लागि नासालगायत विश्वका धेरै वैज्ञानिकहरुले भ्याक्सिनको आविष्कार गरेका छन्, परीक्षण पनि भइरहेका छन् । हावापानी र माटो सुहाउँदो अनुकूलित भ्याक्सिनहरु पनि आविष्कार भइरहेका छन् । अमेरिकाको फाइजर कम्पनीलगायत चाइनाको कम्पनीका उत्पादित भ्याक्सिनहरु पनि प्रयोगमा आइरहेका छन् ।

त्यससँगै भारतको वायोटेक र सिनम स्इन्स्टिच्युट अफ इन्डियाले पनि खोप उत्पादन गरिसकेको छ । नेपाल सुहाउँदो खोप कसरी र कहिले ल्याउन सकिन्छ भन्ने सन्दर्भमा नेपाल औषधी आयातकर्ता संघले पनि अधिक्तम पहल गरिरहेको छ । कोरोना भाइरसको अर्को खतर्नाक स्वरुप पनि आएपछि विश्वका धेरै मुलुकहरु पुनः लकडाउनको अवस्थामा छन् । विकल्प भनेको भ्यक्सिनकै हो । आम नेपालीले पनि पछिल्लो समयमा सबै क्षेत्रलाई चलायमान गराउँदै भ्याक्सिनकै प्रतीक्षा गरिरहेका छन् ।

तर सरकार भ्याक्सिन खरिद र भण्डारणका विषयमा अझै पनि अलमलमा परेको छ । यसै सन्दर्भमा नेपाल औषधी आयातकर्ता संघका महासचिव तथा ब्लुस्काई हेल्थ केयरका अध्यक्ष पवन आचार्यसँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार संक्षेप ।

 नेपालीले कहिलेसम्म कोरोना भाइरस विरुद्धको भ्याक्सिन पाउँछन् भन्नेमा तपाईंले केही भन्न सक्नुहुन्छ ?

 हामीले गरेको अपेक्षा भनेको भारतका कम्पनीसँगको हो । मलाई लाग्छ, भारतमा आउँदो जनवरी १६ तारिकमा भ्याक्सिन लन्च हुँदैछ । भारत सरकारले आफ्नै मुलुकलमा उत्पादन भएको भारत वायोटेक र सिनम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेका भ्याक्सिनलाई प्रयोग गर्दै छ भन्ने हामीले जानकारी पाएको अवस्था पनि हो ।

किनकि यी दुवै कम्पनीलाई विश्व स्थास्थ्य संगठनले पनि अनुमोदन गरिसेकको अवस्था हो । मलाई लाग्छ, भारतमा यो खोप लन्च भएलगत्तै नेपालमा पनि खोप आयात गर्न हामी आतुर छौँ, अनि सरकारसँग आर्थिक एवं प्राविधिक पाटोमा पनि सहकार्य गर्न तयार छौँ । मलाई लाग्छ, एक महिनापछि नेपालमा पनि खोप आयात गरी प्रयोग गर्न हामी आतुर छौँ ।

 खोप निर्माण गरेका धेरै कम्पनीहरु छन् । बेलायत, अमेरिका, चीनलगातका मुलुकहरुले धमाधम खोप उत्पादन गरी प्रयोग समेत गरिरहेको अवस्था छ, फेरि भारतकै कम्पनीको खोप ताक्नुको कारण के हो ?

 मैले पहिले पनि दाङलगायत मुलुकका धेरै स्थानमा भएका कार्यक्रमहरुमा बोलिसकेको छु । हामीलाई हाम्रो भौगोलिक अवस्था, बत्तीको सहज आपूर्तिलगायतका विभिन्न समस्याले हामीले खोप भण्डारणमा पनि विशेष रुपमा ध्यान दिन आवश्यक छ । अमेरिकाको फाइजर कम्पनीले उत्पादन गरेको खोपलाइ भण्डारण गर्न माइनस ७० डिग्रीको तापक्रम व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

हामी सबै स्थानीय पालिकामा यो व्यवस्थापन गर्न सक्दैनौँ । किनकि हाम्रा सबै पालिकामा नियमित विद्युत सेवा छैन । भएको सेवा पनि दिनदिनै झ्याप्प–झ्याप्पको अवस्थामा छ । त्यो सबै नागरिकले महशुस गरेकै अवस्था हो । त्यो अवस्थाले पनि हामीले खोपको भण्डारण र सुरक्षित रुपमा भ्याक्सिनेशनका लागि त्यो खोप उपयुक्त नभएर भारतका कम्पनीले उत्पादन गरेका खोप ल्याउन सल्लाह दिएका छौँ ।

 खोप लगाउने सवालमा शुल्कको पनि कुरा आउला, तपाईंको विचारमा खोपलाई नेपाली नागरिकले पैसा तिर्नुपर्छ वा निःशुल्क पाउँछन् ?

 मलाई लाग्छ हामी सबै नेपालीले निःशुल्क रुपमा पाउने छौँ भन्ने अपेक्षा छ । किनकि खोपका विषयमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले भ्याक्सिनेशनका लागि बजेट समेत विनियोजन गरिसकेको छ । औषधी व्यवस्था विभागको सिफारिसका स्वास्थ्य मन्त्रालयमार्फत अध्यादेश समेत जारी भइसकेको अवस्था छ । यी सबै अवस्थाले आम नेपाली नागरिकले निःशुल्क रुपमा खोप पाउने छन् भन्नेमा म ढुक्क छु ।

अनि आयातको कुरा आउँछ, हामीले खोप आयातका लागि धेरै प्रक्रियामा नेपाल सरकारसँग हातेमालोसँगै सहकार्य गर्न पनि तयार छौँ । भारतमा खोप लन्च भएसँगै तत्काल नेपालमा पनि खोप अभियान थाल्नुपर्छ, त्यो पनि निःशुल्क रुपमा भन्ने हाम्रो चाहना हो ।

 खोप ल्याउने सवालमा कानुनी समस्याका कुराहरु पनि आइरहेका छन् भनिन्छ नि ?

 अध्यादेशले सबै कानुनी झन्झट फुकाइसकेको छ । तर एउटा समस्या के छ भने भारतले भ्याक्सिन अन्त पठाउन अझै पनि प्रतिबन्ध लगाएको छ । यो समस्यालाई सम्बोधन गर्न नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्रीबीच छलफल पनि भइरहेको छ भन्ने मैले बुझेको छु । किनकि स्वास्थ्य समस्याका विषयमा भारत र नेपालबीच सहकार्य हुनै पर्दछ ।

मलाई लाग्छ, भारतीय प्रधानमन्त्री मोदीले यो प्रतिबन्ध चाँडै हटाउनुहुने छ । रोटी–बेटीको सम्बन्ध रहेको भारतले भ्याक्सिन निर्यातमा पनि प्रतिबन्ध लगाउने छैन भन्नेमा हामी औषधी आयातकर्ता ढुक्क छौँ ।

 भारतले भ्याक्सिन नदिएको अवस्थामा अन्य मुलुकबाट पनि औषधी आयात गर्ने तयारीमा व्यवसायीहरु देखिएका छन् नि ?

 हामी सकेसम्म चाँडो भ्याक्सिन आयात गर्ने सवालमा लागिरहेका छौँ । तर हामीले चाहेको भनेको नेपाल सुहाउँदो भ्याक्सिनको हो । हो, मलाई जानकारी पनि छ रसियाको कम्पनीका खोप पनि ल्याउने तयारी भइरहेको छ, अमेरिकी कम्पनी र चाइनाको कम्पनीको पनि नेपालमा ल्याउने प्रारम्भिक अभ्यास सुरु भएको छ ।

तर आम नेपालीलाई निःशुल्क र सहज रुपमा भ्याकिसनको उपलब्धता हुनुपर्दछ भन्ने मात्रै हाम्रो पहल रहेको छ । त्यसका लागि पनि काुननी प्रक्रिया हुन्छन् । त्यो सम्बन्धित सरकारी निकायले गर्ने हो । अहिले हामी त्यसमा प्रक्रियागत सवालको पक्षमा रहेका छौँ ।

 औषधीलगायत भ्याक्सिन खरिदमा औषधी आयात कम्पनीको पनि पहल हुनुपर्ने होइन र ?

 औषधी तथा भ्याक्सिन आयातका लागि क्लिनीकल ट्रायल एउटा पक्ष हो । त्यसका लागि मैले सुनेअनुसार एउटा कम्पनीलाई अनुमति दिएको भन्ने पनि सनुेको छु । नेपाल स्वास्थ्य अनुसन्धान परिषदमार्फत् त्यो सिफारिस भएको हुन पर्दछ । तर पनि हामीले चाहेको भनेको भारतले प्रयोग गरेको कम्पनीका भ्याकिसनलाई आयात गर्ने हो, किनकि यी भ्याकिसनलाई हामीले तोकिएको तापक्रममा भण्डारण गर्न सकछौँ ।

 तपाईंहरुको सोचलाई राज्यले सहकार्य गर्लाजस्तो लाग्छ ?

 हामी सहकार्यका लागि तयार छाँै भन्ने मात्रै हो । राज्यले सहयोग चाहेको अवस्थाभन्दा पनि हामीले नेपालमा धेरै औषधीहरुको माग आपूर्ति गरिरहेको अवस्था हो । हामीले विश्व समुदाय लकडाउनमा रहँदा पनि नेपालमा कुनै पनि औषधी पसलहरुमा औषधीहरुको अभाव हुन दिएनौँ । त्यो विषम परिस्थितिमा पनि हामीले गरेको योगदानलाई आम नेपालीले बुझिरहेकै अवस्था हो ।

अर्को कुरा पनि मैले यसै पत्रिकामार्फत् जानकारी गराउन चाहन्छु कि नेपालमा उत्पादित औषधीले यहाँको १० प्रतिशत माग पनि थेग्न सकिरहेको अवस्था छैन । हामी चाहन्छौँ, मुलुकमा औषधी उत्पादन उद्योगहरु बढ्न सकून् । औषधी आयातको अवस्था कम होस् अनि औषधीको मूल्यमा पनि एकरुपता होस् भन्ने हो ।

 सबै क्षेत्रमा मूल्यमा वार्गेनिङ भइरहेको देखिन्छ तर उपभोक्ताहरुलाई औषधी खरिदमा न उधारो न छुट, तर तपाईंहरुका टेण्डर प्रक्रियाले त धेरै छुटको अवस्था देखाउँछ नि ?

 हो हामीले उपभोक्ताहरुलाई छुट दिन नसकेको यथार्थ हो । यो सवालमा मैले आम औषधी वितरक कम्पनीहरुलाई पनि ध्यानाकर्षण गराउन चाहन्छु । उपभोक्ताहरुलाई पनि आवश्यकताका आधारमा निःशुल्क र छुटको समेत व्यवस्थापन गरिनु पर्दछ । किनकि अन्य उत्पादनसँगै औषधीको खरिदमा पनि केही सहुलियत दिनु पर्दछ भन्ने हो । हामी चाहन्छौँ राज्यले पनि यसमा नियमित अनुगमन र निगमन गर्न आवश्यक छ ।