प्रतिनिधिसभा विघटनको अधिकार कसैलाई छैन : गिरी

  •   
  •  

कांग्रेसको विरोध प्रदर्श

बालाराम खड्का
दाङ, २६ पुस । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले विनाकारण संसद् विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिवार मुलुकका ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमै विरोध कार्यक्रमको गरेको छ । त्यसै अनुरुप दाङ जिल्लाका ६ स्थानमै विरोध ¥यालीसहित विरोधसभा भएका छन् ।

तुलसीपुरको वीपीचोकमा गरिएको विरोधसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले वर्तमान सरकार लोकतन्त्रको पक्षमा नरहेको भन्दै यसलाई जनताको आन्दोलनले परस्त गर्ने अभिव्यक्ति दिए । ‘हामीले यो सरकार पूरै समय चलोस् भन्ने चाहेका थियौँ, हामीलाई अहिल्यै सरकार ढालेर सरकारमा सहभागी हुनुपर्ने छैन तर पनि सरकार एकपछि अर्को गरी गलत कदमतिर उन्मुख भइरहेको छ, यो निरंकुश सरकारलाई लोकतान्त्रिक सरकारको नेतृत्व गर्ने हैसियत छैन’–केन्द्रीय सदस्य गिरीले भने–‘यो सरकारले न जनताका विकासका सपना साकार बनाउन सक्यो न त स्वतन्त्र न्यायालय र स्वच्छ प्रशासनलाई गतिशील बनाउन सक्यो अनि विकास निर्माणका सवालमा पनि यो सरकार पूरै असफलजस्तै देखियोे ।’

जनताले केही गर्छ कि भनेर दुइतिहाई मत दिएर नेकपाको गठबन्धनको सरकारलाई विजयी बनाएको र क्रमशः दुइतिहाई भताभुङ्ग हुँदै अन्ततः यो सरकार निरंकुशको बाटोमा लागेको नेता गिरीले बताए । उनले यो सरकारका विरुद्धमा जनता आफै सडकमा आइसकेको बताउँदै तत्काल निरंकुश एवं असंवैधानिक कदम समेत सच्याउन पनि आग्रह गरे । यो संविधान जनताले बनाएको उल्लेख गर्दै प्रतिनिधिसभा विघटन गर्ने संवैधानिक अधिकार कसैलाई पनि नभएको भन्दै यसको सही न्याय अब सर्वोच्च न्यायिक निकायले दिने नेता गिरीले विश्वास व्यक्त गरे ।

क्षेत्र नं. ३ ‘क’ का क्षेत्रीय सभापति घनश्याम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य शंकर गिरीले सरकार लोकतन्त्रको समृद्धिमा नरहेको भन्दै सरकारले चालेका असंवैधानिक कदमका विरुद्ध नेपाली कांग्रेसले सबै प्रदेश तहसम्मै विरोधका कार्यक्रम थालेको बताए । उनले दुइतिहाईको सरकारमा घरझगडा मिलाउन नसक्दा देशलाई अस्थिरतातिर लैजान लागेको बताए । उनले सरकारले संविधान च्यातेको बताए । ‘हामी संविधानको सही व्याख्या गर्न चाहन्छौँ, संविधानलाई सही बाटोमा लैजान चाहन्छौँ, त्यसैका लागि कांग्रेको आन्दोलन पनि हो’—गिरीले भने ।

त्यस्तै प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले प्रजातन्त्र जोगाउनका लागि आफूहरु आन्दोलित भएको भन्दै अदालतको निर्णय भने मान्ने बताए । उनले जनतालाई राहत दिनुभन्दा पनि संंविधान मिचेर विभिन्न गलत कार्यमा सरकार लागेको बताए । ‘हामी लोकतन्त्रप्रति विश्वास गर्ने पार्टीमा छौँ लोकतन्त्रका खातिर कांग्रेसले जस्तोसुकै कदम पनि चाल्छ, देश र जनताको पार्टी कांग्रेसहो हामी जनताप्रति जवाफदेही छौँ’–उनले भने ।

कार्यक्रममा देविका नेपाली, नेपाली कांग्रेसका जिल्ला सचिव टेकबहादुर वलीले आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा दुइतिहाईको सरकारले असंवैधानिक कदम चालेर लोकतन्त्रमाथि आक्रमण गरेको बताए । कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव चुर्णबहादुर चौधरीले गरेका थिए ।

यसैगरी नेपाली कांग्रेस क्षेत्र नंं ३ ‘ख’ को आयोजनामा पश्चिम दाङको श्रीगाउँमा विरोधसभा सम्पन्न गरेको छ । विरोधसभालाई कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरी, संविधानसभा सदस्य बुद्धिराम भण्डारी, कांग्रेसका नेता केशव आचार्य, खिमप्रसाद खराल, शंकरप्रसाद डाँगी, जगतबहादुर खड्का, कमानसिंह डाँगी, भरत केसी फल्कुदत्त भण्डारी, मेघराज सोनी, प्रमोद बस्नेत, पिमा खड्का, शोभाकर न्यौपाने, योगराज खत्री, मोहन चौधरी, पदमा चौधरीलगायतले सम्बोधन गरेका थिए । क्षेत्र नं. ३ ‘ख’ का सभापति खिमबहादुर वलीको अध्यक्षतामा भएको सभाको सहजीकरण क्षेत्रीय सचिव चुडामणि ढकालले गरेका थिए ।

यसैबीच लमहीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले लोकतन्त्रलाई कसैले खेलका रुपमा प्रयोग गरे, त्यसको नतिजा अर्कै आउनसक्ने बताए । दशकौँको आन्दोलनपछि आएको लोकतन्त्रलाई कसैले खेलौनाका रुपमा प्रयोग गर्न नहुने भन्दै वर्तमान प्रधानमन्त्रीले उठाएको कदम लोकतन्त्र र संविधान विपरित रहेको बताए ।

कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले लोकतन्त्र र लोकतान्त्रिक संविधानलाई नै निष्प्रवाही बनाउन कुनै पनि शक्ति सफल नहुने बताए । कार्यक्रम क्षेत्रीय सभापति देवानजंग चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेता जानकीलाल बस्नेत, शिक्षक नेता अर्जुन योगी, महिला नेतृ गिरिजा न्यौपानेलगायतले बोलेका थिए ।

यसैगरी गढवामा पनि कार्यक्रम भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले वर्तमान सरकारले लोकतन्त्र र लोकतान्त्रिक संविधानलाई नै धावा बोलेर प्रतिनिधिसभा विघटन गरेकोमा आपत्ति जनाइन् । उनले लोकतन्त्र र लोकनान्त्रिक आन्दोलनमा साथ दिन आम नागरिकलाई आग्रह गरिन् । प्रदेशका क्षेत्रीय सभापति ताराबहादुर डिसीको अध्यक्षतामा भएको विरोध कार्यक्रममा संघीय निर्वाचन क्षेत्रका सभापति भेषराज पाण्डेलगायतले सम्बोधन गरेका थिए ।

यसैबीच नेपाली कांग्रेस क्षेत्र नं. २ (क) ले घोराहीमा वर्तमान सरकारको असंवैधानिक कदमका विरुद्धमा प्रदर्शन गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अन्तर्गत नेपाली कांग्रेस क्षेत्र नं. २ (क) ले घोराहीमा विरोध कार्यक्रम गरेको हो ।

नेपाली कांग्रेसको पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥यालीले बजार परिक्रममा गरेर वीपीचोकमा पुगेर सभामा परिणत भएको थियो । विरोधसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति विरकेशवरी गौतमले वर्तमान सरकारको संसद विघटन गर्ने असंवैधानिक कदमका विरुद्धमा सम्पूर्ण पार्टीहरु एकढिक्का भएर विरोधमा लाग्नुपर्ने बताए । व्यक्तिगत सत्ताका लागि देशलाई संकटमा लग्ने सरकारबाट जनताले विकासको अनुभूति गर्न नपाउने बताएका थिए ।

क्षेत्रीय सभापति गिरिराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा असंवैधानिक र अलोकतान्त्रिक कार्यले संविधानको घाँटी निमोठ्ने काम गरेको समेत बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति कमानसिंह भारती, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष सावित्रा राना, नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव कमलकिशोर घिमिरे, महासमिति सदस्य सुशीला थापा, नेपाल महिला संघ क्षेत्र नं. २ का सहसभापति सुशीला पौडेल, नेपाली कांग्रेस घोराही–१५ का सभापति प्रकाश श्रेष्ठ, तरुण दलका नेता नारायण जिएम, नेपाल दलित संघका देवबहादुर नेपाली, नेपाल विद्यार्थी संघका तिलक रावतले विरोधसभालाई सम्बोधन गरेका थिए । कार्यक्रमको सहजीकरण नगर सचिव दिनेश अधिकारीले गरेका थिए ।

यसैगरी नेपाली कांग्रेस क्षेत्र नं. २ (ख) ले नारायणपुरमा विरोध कार्यक्रम गरेको छ । केन्द्रीय कार्यक्रम अन्तर्गत २ (ख) ले घोराहीको नारायणपुरमा विरोधसभा गरेको हो । सभालाई सम्बोधन गर्ने नेताहरुले सरकारको असंवैधानिक कदम सच्याउन आग्रह गरेका थिए । त्यसका विरुद्ध कांग्रेसले केन्द्रदेखि स्थानीय तहहरुमा विरोध गर्नुपर्ने समेत बताएका थिए ।

कार्यक्रममा संविधानसभा सदस्य राजु खनाल, लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठ, नेपाली कांग्रेसका नेता भरत न्यौपाने, कांग्रेसका जिल्ला सदस्य कमल वली, श्याम सुवेदी, बालिका लम्साल, निर्मल न्यौपाने, गोविन्द रेग्मी, महिला संघ दाङकी अध्यक्ष गोमा रावत, क्षेत्रीय उपसभापति भगतसिंह भण्डारी, पूर्व क्षेत्रीय सभापति गोविन्द रेग्मी, क्षेत्रीय सभापति भूपबहादुर डाँगी, क्षेत्रीय प्रतिनिधि प्रचण्ड न्यौपाने, नेपाल महिला संघ क्षेत्र नं. २ का सभापति जानका केसी, नेपाली कांग्रेस तुलसीपुर–१६ का सभापति हिमबहादुर डाँगीलगायतले बोलेका थिए । सभापति कमल गौतमको अध्यक्षतामा भएको कार्यक्रम भएको थियो । साविक त्रिपुर नगर सभापति दीपक पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम क्षेत्रीय सदस्य शरद समीप विकले सञ्चालन गरेका थिए ।