नासो जिन्दगी

  •   
  •  

यम रेग्मी

हरेक बिहानी । अझ हरेक पल नै भनौँ । किन सुखको डोरी बाट्दै आउँछ । किन दुःखको पासो थाप्दै आउँछ । सयम एउटै हो । सूर्य एउटै हो । अझ भनौ उज्यालोको प्रतीक हो, सूर्य । यो ब्रह्माण्डमा त्यही सूर्य कतै दिन हुन्छ, कतै रात । कतै रङ्गीचङ्गी उज्यालो, कतै निसास्सिँदो अँध्यारो । सूर्य एउटै स्थानमा फरक भयो भने उपस्थिति पनि फरकै हुँदोरहेछ ।

एउटै प्रेम पनि हरेक मान्छेपिच्छे, हरेक समयपिच्छे कतै मल्हमझैँ शीतलता दिन्छ । कतै चक्कु बनेर मुट रेट्छ । कतै जलमल बनेर फुलाउँछ जीवन । कतै असिना बनेर पाकेको अन्न बालीझैँ रिक्तो पार्छ जिन्दजी । कतै न्यानो राप छर्छ । कतै च्वास्स पोल्छ । कतै सिलाउँछ जीवन । कतै च्यात्छ जीवन । कसैलाई मीठो लाग्छ प्रेम, कसैलाई तीतो । कतै अमृत बन्छ, कतै विष बन्छ । ज–जसलाई जेजस्तो लागोस् । प्रेमको डोरीमा झुण्डिन वाध्य छ, मान्छे ।

नारी दुःख सहन सक्छे । यातना सहन सक्छे । तिरस्कार सहन सक्छे । तर जब त्यही निर्दोष नारीमाथि चरित्रको प्रश्न उठाइन्छ, नारी नारी रहन्न । ऊ आलो खुन पिएकी बघिनी बन्छे । महाकाली बन्छे । दुर्गा बन्छे । चण्डी बन्छे । कुजा हात तरवार बन्छन् । वर्षांै थला परेको जिभ्रो बमझैँ पड्किन्छ । ऊ दायाँ–वायाँ केही देख्दैन । अगाडि–पछाडि केही सोच्दैन ।

आँखा नदेख्ने हुन्छे, कान नसुन्ने हुन्छे । वीरङ्गना बन्छे दया, करुणा र ममताको महासागररूपी हृदयमा विच्छी र विषालु सर्पहरू दर्गुछन् । मर्यादाको धोती ध्वार्रर च्यातिन्छ । संस्कारको लक्ष्मणरेखा मेटिन्छ । विद्रोहको ज्वाला उठ्छ । त्यसको परिणाम थियो, हिजो साँझको घटना । रक्षा पहिलो पटक पतिमाथि हात उठाएकी थिई । असमानताको पर्खाल भत्काएकी थिई ।

रक्षालाई के–के नै होलाजस्तो लागेको थियो । सोचेको जति भएन । केवल एउटै भयो । मौनता, मुर्दा, शान्ति । शब्दले यातना दिने सासु मौन । भाषाले चरित्रको हत्या गर्ने पति मौन । रक्षा पहिले–पहिले आवश्यक परेको बेला मात्र बोल्थी । पछि सबै अभ्यस्त भइसकेपछि उसलाई पनि बोल्न आवश्यक परेन । उसले पनि भाषा वहिष्कार गरी ।

घरमा बोलचाल बन्द भयो । रक्षाले कहिले नगरेको नौलो अनुभूति गरी । उसलाई लाग्यो भाषा भोगी विद्वानहरुले निर्धोलाई तर्साउन बनेका रहेछन् । कमजोरलाई यातना दिन बनाएका रहेछन् । दुःखीमाथि आक्रमण गर्न भाषा बनाइएको रहेछ । अरुमाथि कोपर्न, चिथोर्न, पछार्न, आवेग पोख्न भाषा बनाइयो । भाषा अरुलाई दुःख, बशमा पार्ने माध्यम लाग्यो । रक्षाको भाषाबिना समय बित्यो, केही महिना ।

निर्धारित समयमा बिहान उठ्थी । सरसफाई गर्थी । खाना बनाउँथी । निर्धारित समयमै सासु भान्सा छिर्थी । खाना पस्किन्थी, दिन्थी । पति जान्थ्यो, उसलाई पनि पस्किन्थी, दिन्थी । आफू खान्थी । जुठो भाँडा माझ्थी । भान्सा सफा गर्थी । काम सकिएपछि बरण्डमा जान्थी र केही समय आराम गर्थी ।

सदाझैँ बिहानको काम सकेर रक्षा बराण्डामा टोलाएर बसेकी थिई । तीज नजिक आइरहेको थियो । बाठोमा मान्छेको चहलपहल निकै बढेको थियो । केटाकेटी, किशोरी, महिला सबै आ–आफ्ना धुनमा मस्त देखिन्थे । मानिसका चहलपहल हेर्दै टोलाइरहेकी थिई । भित्र फोनको घण्टी बज्यो । जुरुक्क उठी र भित्र गई । आमाको फोन रहेछ ।

उताबाट आमा बोलिन– ‘हेलो नानी आरामै छौ बा ? ‘हेलो आमा नमस्ते । आरामै छु । हजुरहरु नि ? बाबा आरामै हुनुहुन्छ ?’ बोल्दाबोल्दै आँखा रसाए । गला अवरोध भयो । धेरै दिन नबोलेर होला, राम्ररी वाक्य फुटेन । स्पष्टसँग शब्द उच्चारण गर्न सकिन ।
‘किन रुन्चे आवाज आ‘छ तो ! सन्चो छैन क्या हो ?’ आमा जिज्ञाशु भावले बोलिन् ।
‘होइन आमा रुघाखोकी लागेर हो ।’ यति बोल्दै गर्दा आँखाबाट आँसुको ढिका नाकको डाँडीमा आएर अडिए ।

‘तीज पनि नजिक आइसक्यो नानी । पर्सि तिम्रो बा लिन आउनुहुन्छ होला तयार भएर बसे ।’ आमा आदेश दिँदै बोलिन् ।

रक्षा पुलुक्क पेटतिर आफ्नो आँखा पु¥याई । व्यालुन फुल्लिएझैँ पेट पाई । पेट देखेर आफै लजाई । ठूलो पेट लिएर माइत जान मन लागेन । पेटमाथि बायाँ हात राख्दै बोली– ‘आमा यो तीजमा आउँदैन होला ?’

– ‘किन बा ? काँ के भयो र ?’ आमा आश्चार्य स्वरमा बोलिन् ।

– जुठा प¥या छौँ, भाइबगालको मृत्य भा‘छ ।

– ए हो र ! हुन्छ वा चोखिएपछि आए है त ।

– हओस् । आमाले फोन काटिन् ।

जब आमाले फोन काटिन् । मन झनै अत्तालियो । झल्झली माइतको याद आयो । एकएक घटनाहरू ताजा बनेर आए, विगतका ।

एक हप्तापछिको कुरा हो । २०६५ सालको तीजको दिन थियो । बिहानैदेखि पेट हल्का दुखिरहेको थियो । लोग्नेको दुई दिनदेखि अत्तोपत्तो थिएन । सासू व्रत बसेकी थिइन् । आफू पनि व्रत बस्ने भएकाले खाना पकाउन परेन । उठ्न गाह्रो, बस्न गाह्रो बिहानैदेखि भएको थियो । कटौरामा जर्किनबाट तेल झिकी । कोठामा छिरी ।

कुर्थामाथि सारी । पेटलाई नियालेर हेरी । बुरुक्क ! बुरुक्क ! बाख्रा पाठो उफ्रेझैँ । बच्चा खेलेझैँ लाग्यो पेटभित्र । अझै नियालेर हेरी पेटलाई । बाहिरबाट स्पष्ट खेलेको देखि पेटमा, बच्चा । कसैले देख्यो कि भनेर यताउता हेरी । आफ्नो पेट देखेर आफै लाज लागेर आयो । लाजले राती–पिरी भई । हर्षको टुँसा पलाएर आयो ।

झल्यास पेटभित्रको बच्चामा छोरीको अनुहार देखी । मन भक्कानिएर आयो । छोरीको भाग्य पनि आफ्नो भाग्यझैँ सम्झी । झनै छटपटी भयो । शरीरबाट खलखल पसिना आयो । उसले छोरीको जीवन सम्झेर समग्र महिलालाई प्रश्न गर्न थाली–‘जीवन हाम्रो प्रयोग पुरुषको । दोषी पुरुष सजायको भागिदार महिला । रोवटझैँ काम गर्छौँ माथि पार्न पुरुषलाई ।

राम्री बन्छौँ खुशी बनाउन पुरुषलाई । व्रत बस्छौँ पुरुषकै दीर्घायु र सुस्वास्थ्यका लागि । नारीको अर्को रूप समर्पण हो ? भूत, वर्तमान र भविष्य केही छैन हाम्रो ? छ भने किन हामी हाम्रो बारेमा कहिल्यै सोच्दैनौँ ?’ मन अमिलो भयो छोरीको कल्पनाले ।

ऊ छोरीको भविष्य सम्झेर साह्रै दुःखी भई । नजिकै पानीको जग थियो । आधा जग पानी एकै सासमा घटघटी पिई । पानीले केही शान्त भयो मन ।

फेरि छोरोको कल्पना गरी । पतिको अनुहार नाच्यो आँखामा । एक्कासी रिसको पारो उम्लिएर आयो । सारा पुरुषसँग तुलना गरी छोरालाई । आफ्नै कोखप्रति घृणा जागेर आयो । चिरेर फालौँझैँ लाग्यो पेटलाई ।

दिउँसो दुई बजेको हुँदो हो । रक्षा कोठाबाट बरण्डामा आई । बाटोतिर मानिसहरुको चहलपहल बाक्लो थियो । नियालेर मान्छेलाई हेरिरहेकी थिई ।

पल्लो घरकी छायाँ बाटोमा देखापरिन् । उनी बाटैबाट बोलाइन् नाँच हेर्न जानलाई । रक्षा जान्न भनी । उनी धेरै जिद्धी गरिन् । रक्षा नाइ भन्न सकिन । रातो साडी, रातो ब्लोज र रातो स्यान्डिलमा तल झरी । बालमन्दिरतिर लागी ।

बालमन्दिरमा मान्छेको मेला थियो । कोही नाच्नमा मस्त थिए । कोही हेर्नमा मस्त थिए । शरीरको अवस्थाले होला, मन रम्म सकेन । सारीको सप्कोले पुरै पेट ढाक्न सकेको थिएन । सबैका आँखा पेटमा परेझैँ लाग्यो । पेटभित्रको बच्चा छ्वाङ्ग बाहिर देखिएझैँ भान भयो ।

धेरै बेर बस्न सकिन, मेलामा । छायाँसँग फर्किई । केहीबेर छायाँको घरमा बसी । झमक्क रात पर्दै गयो । छायाँले पूजाका सबै सामग्री ठीक पारेकी थिइन् । उतै पूजा गरी । पूजापछि छायाँ फलपूmल अगाडि राखिदिई ।

रक्षा भोकले आकुलव्याकुल भएकी थिई । दिनभरि पानीसम्म मुखमा राखेकी थिइनँ । हातमा फलफ्रल छोपेर खान के लागेको थिई, झल्यास आमालाई सम्झिई । हरेक वर्ष आमाले तीजको दिनभरिको वर्षपछि लोग्नेको गोडाको जल खाएर मात्र फलफुल खाएको लेखेको थिई । जसरी फलफूल हातमा ल्याएकी थिई, त्यसरी नै राखी ।

जुरुक्क उठी बसेको ठाउँबाट । एउटा हातमा जलको बेला छोपी । अर्को हातमा टीकाको थाली छोपी । यताउति कतै नहेरी सरासर घरमा आई । घरमा कोही देखिन । जल र टीकाको थाली छोपेर सुत्ने कोठातिर लागी ।

जब ढोकाको नजिक पुगी । भूइँमा आँखा डुलाई । पतिको जुत्ता । महिलाको अग्ला हिल सँगै देखी । मन फुलेर आयो भूइँमाको हिलले । ढ्वाक ! ढ्वाक !! ढ्वाक !!! सुस्तरी ढोका पारी, बेलाको घेराले । ढोका खुलेन । मनले धैर्य गर्न सकेन । बेस्सरी गोडाले ढोकामा बजाई । चुकुल फुत्किएर ढोका ह्वाङ्गै भयो ।

जङ्गली जनावरलाईझैँ निर्वस्त्र रूपमा, दशैँमा तातो पानीले भुत्ल्याएको नाङ्गो खसीझैँ आइमाईलाई देखी अनि पतिलाई पनि । आँखाले हेर्न सकेनन्, त्यो अनौठो दृश्य । पुरै संसारै फनफनी घुम्यो रोटेपिङ घुमेझैँ ।

दुबै हात लुला भए । सँगसँगै प्रतिस्पर्धा गर्दै जलको बेला र टीकाको थाली भूइँमा खसे । जल टीकामा मिसिएर पुरै जमिन रातै भयो, कोठाभरि बग्यो । दायाँ हातले ढोकाको चौकस समाई । बायाँ हातले शिर अड्याई । भुँइमा थचक्क बसी । बेहोस भएर ढोकाको संघारमै पल्टिई ।

तल्लो जीवन उपन्यास अंश क्रमशः …