उत्कृष्ट एवं जेहेन्दार विद्यार्थीको रुपमा सम्मानित हुँदा…

जीवा भुसाल दाङ महिला जेसीजको नेतृत्वको अन्तिम समयमा छिन् । २०७७ साल पुस २५ पछि उनी त्यो पदबाट मुक्त हुनेछिन् । एक वर्ष पदमा बस्दा जेसीजमा उनले धेरै राम्रो काम गरेकी छिन् । त्यो कामको मूल्यांकन समेत भएको छ । उनकै कार्यकालमा दाङ महिला जेसीज ‘जेसीज अफ द मन्थ’का रुपमा सम्मानित समेत भएको छ ।

त्यो उनको जीवनको खुशीको क्षण भएर बसेको छ । दाङ महिला जेसीजमा सन् २०२० को अध्यक्षका रुपमा निर्वाचित भुसालले आफ्नो एक वर्षीय कार्यकालमा विभिन्न सीपमुलक, क्षमता विकाससँगै सामाजिक काममा सक्रिय रहिन् ।

जसले गर्दा भुसालकै नेतृत्वमा दाङ महिला जेसीजले नेपाल राष्ट्रिय जेसीजको क्षेत्र ‘डी’ अन्तर्गत ४९ वटा शाखाहरुमध्ये उत्कृष्ट बन्दै अक्टोबर महिनामा ‘जेसीज अफ द मन्थ’का रुपमा सम्मानित बन्यो । ‘यो सम्मान मेरो लागि खुशीको कुरा हो’ उनले भनिन् ।

महिलालाई जेसीजलाई ‘जेसीज अफ द मन्थ’बाट सम्मानित बनाउनका लागि दाङ महिला जेसीजका सहकर्मी साथीहरुसँगै सामाजिक कार्यक्रममा लाग्न प्रेरित गर्ने आमा र श्रीमान्को विशेष साथ र सहयोग रहेको उनी बताउँछिन् ।

दाङ महिला जेसीजलाई उत्कृष्ट शाखाका रुपमा विकास गर्न भूमिका खेल्ने भुसाललाई गोरक्षको साप्ताहिक खुशी स्तम्भका लागि आफ्नो खुशीको क्षण सुनाउन आग्रह गर्दा उनले आफ्नो जीवनको पहिलो खुशीको क्षणका रुपमा माध्यमिक विद्यालय सेवार वनगाउँमा उत्कष्ट एवं जेहेन्दार विद्यार्थीको रुपमा सम्मानित हुँदाको क्षणको सम्झना गरिन् ।

त्यो समय अहिलेजस्तो समय थिएन । ५० भन्दा बढी विद्यार्थीहरु एउटै कक्षा कोठामा अध्ययन गर्दाको समयमा उत्कृष्ट विद्यार्थीका रुपमा सम्मानित हुँदाको क्षण मेरो जीवनको पहिलो खुशीको क्षण हो । ‘आपूmले भन्दा पनि सानो लाग्ने, सक्नेलाई ठूलो नलाग्ने तर आपूmले अध्ययन गर्दा विद्यालयमा पाएको त्यो सम्मान मेरो जीवनको पहिलो खुशीको क्षण हो’–भुसालले भनिन् । तत्कालीन निम्न माध्यमिक विद्यालयबाट औपचारिक शिक्षा सुरु गरेकी भुसालले माध्यमिक विद्यालय सेवार वनगाउँबाट एसएलसी पास गरेकी थिइन् ।

कलाकारिता भुसालको रुचिको क्षेत्र हो । त्यही कारण भुसाल २०५४÷०५५ सालतिर नवयुग नाट्य युवा समूहमा आबद्ध भइन् । त्यो समयमा दाङमा कलाकारिताको क्षेत्रमा सो समूहले नाटक देखाउनेलगायतका विभिन्न कार्यहरु गर्दै आएको थियो । उनले कलाकार कर्णप्रखर धिताल, मुनाल घिमिरे, विष्णु आर्टलगायतसँग नाटकमा काम गरिन् ।

उनीहरुसँगै भुसालले २०५८ सालमा एचआइभि÷एड्ससम्बन्धी सचेतनामुलक नाटक तुलसीपुरमा प्रस्तुत गरेकी थिइन् । एचआइभि÷एड्स लागेर समाजबाट वहिष्कार भएर सडकमा पुगेकी महिलाको कथामा आधारित पात्रको उनले अभिनय गर्नुपरेको थियो । उक्त नाटक समूहले घोराही, गोग्लीसँगै तुलसीपुरको वीपी चोकमा देखाएको थियो ।

त्यही नाटक देखाउने क्रममा तुलसीपुरको वीपीचोकमा साच्चिकै पागल महिला रहिछ भनेर केही मानिसले अभिनयका क्रममा ढुङ्गाले हानेको क्षणलाई उनले अर्काे खुशीको रुपमा सुनाइन् । ‘त्यो नाटक सचेतनामुलक थियो, एचआइभि÷एड्सबारे खुल्न नसक्ने समयमा मैले एचआइभि÷एड्सकै कारण सडकमा आइपुगेकी पागल महिलाको अभिनय गर्दा मलाई तुलसीपुरमा ढंङ्गा प्रहार भएको थियो । जुन क्षण मेरो जीवनको कहिल्यै भुल्न नसकिने क्षण हो’–उनले भनिन्–‘नाटकपछि किन हानेको भनेर बुझ्दा साच्चिकै बहुलानी भनेर हानेका रहेछन् । जुन क्षणले मलाई अहिले पनि खुशी गराउने गरेको छ ।’

जिल्लामा मात्र नभएर उनी नाटककै क्रममा जिल्ला बाहिर पनि विभिन्न ठाउँमा पुगिन् । त्यस क्रममा पनि उनले राम्रै प्रशंसा पाइन् । भर्खर एसएलसी पास गरेकी थिइन् । देशमा सरकार र माओवादीबीचको सशस्त्र संघर्ष बढ्दै थियो । जसले गर्दा कतिबेला कुन ठाउँमा के हुने हो भन्ने पत्तै हुँदैनथियो । त्यही समयमा सुर्खेतमा भएको नाटक प्रतियोगितामा दाङबाट हाम्रो नाट्य समूह पनि गएको थियो ।

हत्या, हिंसा, बलात्कारले आतंकित र त्रसित बनेको समयमा मैले शान्तिका लागि भन्दै ‘नेपाल आमा’को भूमिकामा अभिनय गरेको थिएँ । पहिलो पटक राष्ट्रिय स्तरका निर शाहलगायतका कलाकारहरुको अगाडि महेन्द्रनगरमा देखाएको नाटकबाट प्रभावित भएर गरेको प्रशंसा पनि मेरो जीवनको अर्को खुशी हो ।

‘२०५८ सालतिरको घटना हो, नाटक देखाइसकेपछि निर शाहले मेरो अभिनयको तारिफ गर्दै अभिनयलाई नछोड्न आग्रह गर्नुभएको थियो । त्यो पनि मेरो जीवनको खुशीको क्षण हो’ उनले भनिन् । उनले अहिले पनि विभिन्न भूमिकामा अभियानको काम गर्दै आएकी छिन् ।

यसैगरी उनले नेपाल महिला समुदायिक सेवा केन्द्रअन्तर्गत सञ्चालित लघुवित्त कार्यक्रममा समेत काम गरेकी थिइन् । काम सधैँ मिहिनेत र इमानदारीपूर्वक गर्नुपर्छ भन्ने विश्वास राख्ने भुसाल उक्त सस्थामा पनि पहिलो कर्मचारीका रुपमा सम्मानित हुँदाको क्षणलाई पनि खुशीको क्षणका रुपमा लिने गरेको बताइन् ।

दाङ महिला जेसीज २०२० को अध्यक्षसँगै भुसाल शुभकामना कृषि वहुउद्देश्यीय सहकारी संस्थाको सचिव, उद्यमी महिला समूहको सचिव, नवयुग नाट्य युवा समूहको पूर्वसचिवलगायत अन्य विभिन्न संघसंस्थाहरुमा आबद्ध रहेर काम गरेको बताइन् ।

२०३९ साल असार ३ गते बंगलाचुली गाउँपालिकाको कमिरेचौरमा पिता तुलाराम भुसाल र माता दीपा भुसालकी कान्छी सन्तानकी रुपमा जन्मिएकी हुन् । उनकी एक दिदी छिन् । कमिरेचौरमा जन्मिए पनि उनी भने हालको घोराही उपमहानगरपालिका–३ बडहरामै हुर्किइन् । २०६६ साल मंसिरमा खुशलराम घिमिरेसँग वैवाहिक जीवनमा बाँधिएकी भुसालका शशांक र सन्जीव गरी दुई छोराहरु छन् ।

                                                                                                                प्रस्तुती : लिलाधर वली