अहंकार पतनको मार्ग हो

नारायणप्रसाद श्रेष्ठ

नीति र नैतिकतामा आधारित कर्मशील भएर जसले आफूलाई गतिशील बनाउँछ वास्तवमा ऊ नै पुरुषार्थी र सक्षम व्यक्ति कहलाउँछ । सक्षम र पुरुषार्थी व्यक्तिबाट नै समाज, राष्ट्रले नयाँ गति लिन सक्छ । किनकि सक्षम व्यक्तिको हरेक गतिविधिमा तथा विचार र चिन्तनमा सहयोग र सद्भाव प्रकट हुने हुँदा उसले गर्ने प्रत्येक कर्ममा सहानुभूति र सेवाभाव झल्केको हुन्छ ।

अरुलाई परेको समस्यालाई आफ्नो ठान्ने प्रवृत्ति जागृत गरी ऊ सक्षम त म स्वयम् सक्षम भनी उसले विचार सम्प्रेषण गरिरहेको हुन्छ । यस्तो सक्षमता प्रदर्शन गर्न सक्नु नै पुरुषार्थी र सहयोगी सारथी बन्नु हो । विहानदेखि बेलुकासम्म खानु, घुम्नु, डुल्नु, हिड्नु जस्ता मानवीय जीवनका दैनिक कर्मभित्र मात्र सीमित रही म र मेरो भाव जागृत हुने गरी अरुप्रतिको सोचाईमा तल्लीन हुनु, जीवनका हरेक गतिविधि र कर्ममा स्वार्थ लुकाई प्रदर्शन हुनु यो अहंकारको सूचक हो । अहंकारी मानिस कहिल्यै सक्षम बन्न सक्दैन ।

सक्षम र सहयोगी व्यक्ति त्यही कहलाउन सक्छ जसले अरुको सुख, दुःखलाई आफ्नो सुख, दुःख ठान्दछ, अरुको खुशीमा आफू रमाउन सक्छ, वचनमा नम्रता, विचारमा पवित्रता र कर्ममा उदारता प्रकट गर्न सक्नु नै सक्षमता प्रदर्शन गर्नु हो । शारीरिक रुपले बलवान र पुरुषार्थ कहलाउने व्यक्ति यदि विचार र कर्ममा पुरुषार्थी छैन भने ऊ कहिल्यै पनि सक्षम कहलाउन सक्दैन । अरुले अरुपाई भनोस् या नभनोस् आफूले आफैलाई मपाई गराउने व्यक्ति केही समयको लागि पुरुषार्थीजस्तो देखिए पनि उसको प्रत्येक कर्म र व्यवहारमा स्वार्थ र अहंकार लुकेको हुन्छ । यस्तो व्यक्तिको विचार र आचरण स्वार्थप्रद हुन्छ ।

जन्म, मरणको इतिहासमा गुज्रेको मानव समुदाय जहाँ नारी र पुरुषको उपस्थिति रहेको हुन्छ त्यही समाजमा यदि पुरुषलाई मात्र पुरुषार्थी ठानिन्छ भने त्यो पनि मानव विचारको संकुचन धारणा मानिन्छ । पुरुष हुँदैमा उसले सबै गरिहाल्छ भन्ने सोच्नु वास्तवमा यो पनि अहंकारी सोच हो । नारी जगतले पनि आफूलाई कहिल्यै कमजोर ठानेको हुँदैन । उसलाई त पुरुषप्रधान समाजले पछाडि पारेको भ्रम मात्र हो । नारीमा पनि पुरुषार्थ देखाउने शक्ति छ ।

ऊ पनि सक्षम र पुरुषार्थी बन्नसक्छ । ज्ञान र विवेकको माध्यम समाज र राष्ट्रको लागि उदाहरण बन्न सक्छ । यति मात्र होइन अरुको सहानुभूतिको पात्र पनि बन्न सक्छ । त्यसैले पुरुषार्थ नारी र पुरुष जो पनि बन्न सक्ने सत्यलाई नजरअन्दाज गर्दै नीति र नैतिकतामा आधारित कर्मशील भएर लगन र धीरतालाई आत्मसात गर्दै जीवनलाई गतिशील बनाउनु पर्छ । मनबाट जागृत हुने क्षमता र प्रतिभालाई सबैको प्रिय बन्ने कर्मशील बन्नु पर्छ । समाजको लागि सच्चा पहरेदार बन्ने आधारलाई आत्मसात गरी अघि बढ्ने उदारवादी चिन्तक बन्नु पर्छ । सबैको आँखाको नानी बन्ने कोशिस गर्नु पर्छ ।

त्यसैले नीति र नैतिकलाई जीवनको अभिन्न अंगको रुपमा आफूलाई प्रस्तुत गर्ने वातावरण बनाउनु पर्छ । बुद्धि र विवेकशील भई आदर्श व्यक्तित्व निर्माणमा सबैको ध्यान केन्द्रित हुने गरी आफूलाई समर्पण गर्न सक्नुपर्छ ।

वर्तमान समयमा मानिसले विविध किसिमले व्यक्ति, समाज, राष्ट्रको सेवा गरेको अभिव्यक्ति दिइरहेको पाइन्छ । सहयोग र सद्भाव नै मेरो जीवनको उद्देश्य हो भनी सञ्चार माध्यमबाट आफूलाई प्रस्तुत गर्ने गरेको पाइन्छ । वास्तवमा यस्तो सोच सकारात्मक हो भनी मान्न सकिन्छ । तर अहिले सोही अनुसारका आचरण व्यक्तिबाट नभइरहेको अवस्था देखिँदै छ ।

अहिले व्यक्तिको आचरण देखाउने एउटा गर्ने अर्को भएर प्रस्तुत भएको पाइन्छ । मुखमा राम राम बगलीमा छुरा भनेझैँ कर्म, व्यवहार तथा बोली र वचनमा भिन्नता रहेको पाइन्छ । आमाको ममता र बाबुको समर्पणलाई क्षणिक स्वार्थभित्र केन्द्रिकृत गर्न समेत नहिच्किचाइरहेको वर्तमान समयमा मानिस कति पवित्र छ ? यो अहिलेको समस्या हो । गाउँ, टोल, समाज र राष्ट्रमा आफू कसरी उच्च बन्न सकिन्छ ? के गर्दा म र मेरो अस्तित्व उच्च र मर्यादित बन्न पुग्दछ ? त्यसैभित्र केन्द्रिकृत भई निहित स्वार्थका लागि मानिसले जे पनि गर्न तयार रहेको अवस्था वर्तमानमा देखिएको छ ।

सामाजिक, रीतिथिति र नैतिक आचरणप्रति उसको ध्यान त्यति नगएको आभाष देखा पर्दै छ । मेरो सोचाईबाट प्राप्त सक्षमता नै मेरो नैतिकता हो भन्ने अहम्भाव यदाकदा देखिने गरेको छ । म जे गर्छु सही गर्छु भनी अहंकारयुक्त व्यवहार अहिलेको विशेषता नै हो भन्ने गरी व्यक्तिको आचरणले देखाउन खोजेको पाइन्छ । ऊ होइन, म नै सक्षम हुँ भनी अरुलाई तीर्ण बराबर गर्ने चरित्र वर्तमानमा निकै झाँगिएको छ । सहयोग र सद्भाव के हो ? यो कसरी र कुन आचरण र व्यवहारबाट प्रष्टिन्छ त्यसतर्फ मानिसको खासै चासो छैन ।

मैले गर्नुपर्ने सहयोग हो, गरेको छु भनी पन्छिने प्रवृत्ति बढ्न थालेको छ । सहयोगबाट उसले प्राप्त गरेको खुशी र उसले सहयोगीप्रति देखाउनुपर्ने सद्भावमा कमजोरी देखिँदै छ । वास्तवमा यो पुरुषार्थी र सक्षम व्यक्तिको आचरण र कर्म होइन । यो नीति र नैतिकता विपरित कार्य हो । यो नेतृत्वमा सुहाउने विषय पनि होइन । त्यसैले इतिहासले सिकाएको नारी हुन् वा पुरुष हुन् उनले रचेको गौरवपूर्ण इतिहास र सिद्धान्तलाई जीवनको आधार बनाई अहंकारी होइन नीतिज्ञ, ज्ञानी र विवेकी बन्न सबैको लागि अनिवार्य आवश्यकता वर्तमानले सुझाइरहेको छ ।

नेपालको इतिहासलाई पल्टाएर हेर्ने हो भने सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक रुपमा यहाँ धेरै उथलपुथल भएको पाइन्छ । नरसंहारदेखि आदर्श र नैतिक चरित्रवान् व्यक्तिको उदय समेत भएको देखिन्छ । राजनीतिक धरातलको साँघुरो घेराभित्र रहेर पनि राष्ट्र र राष्ट्रियताका लागि उल्लेखनीय योगदान दिएको पाइन्छ । इतिहासका केही कालखण्ड निकै आशलाग्दो र भरोषायुक्त भएर देखापरेको पनि पाइन्छ । विशेषतः राजनीतिक क्षेत्रमा उत्रिएका राजनीतिज्ञले राष्ट्रियताप्रति देखाएको समर्पणले यहाँ वैयक्तिक स्वतन्त्रतादेखि राष्ट्रिय स्वाभिमान पनि उच्च राखेको पाइन्छ ।

दूरदर्शी चिन्तन राखी प्रजातन्त्रको व्यख्या र विश्लेषण गर्ने धेरै नेताहरु यहाँ नजन्मिएका होइनन् । नीति र नैतिकतालाई आफ्नो आचरणभित्र राखी कर्म र व्यवहारबाट सबैप्रति उत्तिकै आदर सम्मान देखाउने राजनीतिक व्यक्तित्वहरु यस धर्तीमा धेरै आए । तर विडम्बना मान्नु पर्छ अहिले समाज, राष्ट्रको हितभन्दा व्यक्ति स्वार्थ र अहंकारले राजनीतिले राष्ट्र र राष्ट्रियताप्रति गम्भीर चुनौती उत्पन्न गरेको छ ।

राजनीतिक नेतृत्वको आचरण र व्यवहारबाट समस्यामाथि झन समस्या देखिँदै छ । कोही काम नपाएर छटपटिएको देखाइरहेका छन् भने कसैले काम गर्न नपाइको भनी प्रस्तुत भइरहेको अवस्था छ । हिजो राष्ट्र र राष्ट्रियताप्रति समर्पित भई आहूती दिएको इतिहास कोरिएको हाम्रो राजनीतिक पृष्ठभूमिमा राष्ट्र कसैको पेवा होइन र हुँदैन पनि भन्ने यसलाई साझा फूलबारीको रुपमा प्रस्तुत गर्ने राजनीतिक व्यक्तित्वहरु यहाँ निकै जन्मिएका थिए ।

प्रधानमन्त्री पदलाई गौण विषय बनाएको इतिहास पनि यसै धर्तीमा देखिएको थियो । प्रतिनिधिमूल शासन व्यवस्थाबाट नै राष्ट्र र राष्ट्रियताको गौरवपूर्ण इतिहास कोरिन्छ भनी हरेक व्यक्ति र वर्गको विचार तथा प्रतिभाको हिजो उचित मूल्यांकन गरिएको थियो । राजनीतिक राष्ट्रिय विकासको लागि गरिने एउटा सुन्दर पक्ष हो र जनइच्छाअनकूल राष्ट्रिय विकास राजनीतिको उद्देश्य हो । यसर्थमा हिजो नेतृत्व लागिपरेका थिए ।

वीपी, गणेशमान, पुष्पलाल तथा मदन भण्डारी जस्ता राजनीतिक आदर्श भएका व्यक्तिले नेपालको राजनीतिलाई गोरेटो देखाएको यस मुलुकमा हाल आएर केही असावधानी र अहंकारको कारणले आपसी खिचातानीको वातावरण देखिएको छ । नीति र नैतिकता हराए जस्तो गरी अहंकारी प्रवृत्ति राजनीतिक क्षेत्रमा मौलाउँदै गएको देखिन्छ । तसर्थ, अहंकारले कहिल्यै पनि सफलता हासिल गर्न सक्दैन भन्ने मान्यतालाई शिरोधार्य गरी वर्तमानले राजनीतिक आचरण खोजिरहेको छ ।

आफूलाई सक्षमता देखाउने होडबाजीमा एकअर्काको विचार र नैतिकतामा हिलो छ्याप्ने कार्य कोही कतैबाट हुनु राम्रो विषय पनि होइन । समझदारीपूर्ण राजनीति तथा नैतिकता र निःस्वार्थता वर्तमान राजनीतिज्ञको आचरण हुनु वर्तमान समयले खोजेको छ । हामी र हाम्रो मानसिकता जगाई दोषारोपण होइन आइपरेको समस्या समाधानमा सबैको ध्यान केन्द्रित हुनु पर्ने वर्तमानले औल्याइरहेको छ ।

अहंकार प्रवृत्ति वर्तमानको दुश्मनै हो । यसलाई निमिट्यान्न पार्नु सबै राजनीतिज्ञको कर्तव्य पनि हो । यसैमा हाम्रो भविष्य सुनिश्चित रहन्छ । सबैलाई चेतना भया ।