डोरीेमा बाँधिएको आशाको जीवन

  •   
  •  

लिलाधर वली
दाङ, २१ पुस । एक अबोध बालिका । न उसको खुसी विद्यालयसम्म पुग्छ न त साथीभाइँसँगै नै । तुलसीपुर उपमहानगरपालिका–९ थर्कुडाँडा निवासी १५ बर्षीय आशा विक विगत एक दशकदेखि नै डोरीेको कसीमा छिन् ।

बौद्धिक अपांग विकलाई घरमा हेरचाह गर्नेसमेत कोही छैन । आमा सम्पर्कविहीन छिन्, बाबु घरको चुलो बाल्नको लागि दिनभर रिक्सा चलाउन बजार धाउँछन् । त्यो कारण उनी डोरीमा छिन् । बोल्न नसक्ने विकलाई घरमा दिनभर हेर्नका लागि कोही नहुने र उनी बेसुरमा हिँडेर टाढा–टाढा जाने र परिवारलाई दुःख दिने गरेको भन्दै परिवारले बाँधेर राख्ने गरेको छ ।

घरको कमजोर आर्थिक अवस्था कारण दुई बर्ष पहिले कमाउनका लागि भारत गएकी आमा मोतीसरा बिक एक बर्षदेखि सम्पर्कविहीन छिन् । घरमा छोराछोरीलाई सम्हालेर बसेका बुबा राजेश विकलाई दैनिकी चलाउनका लागि आर्थिक जोहो गर्नुपर्ने बाध्यता छ । जसले गर्दा उनी दैनिक मजदुरीका लागि तुलसीपुरलगायतका विभिन्न ठाउँमा जाने गरेका छन् । जेठा छोरा छुट्टिएर बसेका छन् । जेठी छोरी हराएको पनि सात बर्ष बढी भैसक्यो ।

भारतबाट नेपाल फर्कँदा हराएकी उनी अझै भेटिएकी छैनिन् । घरमा कान्छो छोरा छन् । तर उनी पढ्ने भएका कारण दिउँसो पढ्न विद्यालय जाने गरेका छन् । उनी विद्यालय गएपछि आशालाई घरमा हेरचाह गर्ने कोही हुँदैनन् । जसले गर्दा उनलाई डोरीमा बाँधेर राख्नुपर्ने बाध्यता रहेको अधिकारकर्मी राधिका परिवारले बताइन् । ‘सम्पत्तिको नाममा सानो झुपडी छ, त्यहीमा बसेर दिन काट्ने गरेका छन’–परियारले भनिन्– ‘तर दैनिकी चलाउनका लागि आम्दानीको श्रोत छैन, जसले गर्दा बुबाले तुलसीपुरमा रिक्सा चलाउने गर्दछन् । त्यही रिक्सा चलाएर आएको आम्दानीबाट दैनिक गुजरा चलाउनेदेखि छोरालाई पढाउने गरेका छन् ।’ बौद्धिक अपांगता जीवन बिताउँदै आएकी आशा बेसुरमा हिँड्ने गरेका उनलाई बाँधेर राख्नुपर्ने बाध्यता रहेको बुबा राजेश विकले बताउने गरेको परियारले बताइन् ।

गरिवी कारण बुबालाई काम जानुपर्ने बाध्यता छ तर घरमा छोरीलाई हेरिदिने मानिस समेत कोही हुदैनन । जसले गर्दा नचाहदा नचाहदै पनि छोरीलाई छोरीले बाध्नुपर्ने बाध्यता रहेको उनले बताइन । ‘बोल्न नसक्ने भए पनि उनी हिँडेर यताउता जाने समस्या रहेछ, जसले गर्दा विगत एक दशकदेखि डोरीमा बाध्नुपर्ने बाध्यता रहेछ’–उनले भनिन–‘कमजोर आर्थिक अवस्था कारण उक्त परिवारले समस्या भोग्दै आएको रहेछ ।’

गरिवीका कारण लामो समय भारत बसेको विकको परिवारले गरिबीकै कारण छोरीको उपचार गर्न नसकेको समेत उनले बताइन् । ‘परिवारलाई दैनिकी चलाउनै धौधौ छ, उपचार गर्ने त उनीहरुको लागि ठूलो सपनाजस्तै बनेको छ’–परियारले भनिन– ‘सहयोग गर्ने कोही छैन, दिनभरी काम गरेर भएको आम्दानी खान–लाउनमै सकिन्छ ।’ उनले पुसको चिसोमा पातलो भेस्ट लगाएर दिन काट्दै गरेको थाहा पाएपछि आफूले उक्त बहिनीलाई केही न्यायो कपडा सहयोग गरेकोसमेत उनले बताइन् । उनले आर्थिक अवस्था कमजोर रहेको उक्त परिवारलाई सहयोग गर्न समेत आग्रह गरेकी छिन् ।