सिनेटसभाका प्रस्ताव सार्वजनिक : बिएएमएस विद्यार्थीलाई चाँडै शैक्षिक भवन

  •   
  •  

खेमराज रिजाल

बेलझुण्डी, ९ पुस । नेपाल संस्कृत विश्वविद्यालयले गत मंसिर २८ गते काठमाडौंमा भएको विश्वविद्यालय सिनेटसभामा लगिएका पारित प्रस्तावहरु सार्वजनिक गरेको छ ।

बुधवार विश्वविद्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ती प्रस्तावको जानकारीसँगै नेपाल संस्कृत विश्वविद्यालय, आयुर्वेद अध्ययन संस्थानअन्तर्गत सञ्चालित आयुर्वेद चिकित्सा बिएएमएस विद्यार्थीहरुलाई चाँडै अस्थायीरुपमा भए पनि शैक्षिक भवनको व्यवस्थापन गरी भौतिक उपस्थितिबीच पठन–पाठनको व्यवस्थापन गर्ने विश्वविद्यालयका रजिष्टार माधवप्रसाद अधिकारीले बताएका छन् ।

‘राज्यलाई अप्ठेरो परेका बेला विद्यार्थीहरुको शैक्षिक भवनमा कोरोना विशेष अस्पताल बनाउने प्रस्तावलाई स्वीकार गरिएको हो तर अब सबै शैक्षिक निकाय चलायमान भइसकेको अवस्थामा हामीले पनि बिएएमएसका विद्यार्थीहरुलाई चाँडै शैक्षिक भवनको व्यवस्थापन गरी पठन–पाठनको व्यवस्था मिलाउने छौं’, पत्रत्रार सम्मेलनमा रजिष्टार अधिकारीले भने । त्यसका लागि आजै मात्र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा पत्राचार गरी कम्तीमा १० कोठे प्रिफेव भवन निर्माणको प्रस्ताव पठाएको पनि उनको अभिव्यक्ति थियो ।

प्रदेश सरकारले अस्थायीरुपमा यो प्रस्तावित शैक्षिक भवन निर्माणमा सहयोग गर्ने अपेक्षा रहेको उनको अभिव्यक्ति थियो । यदि यसमा पनि केही ढिलासुस्ती भएको अवस्थामा बिजौरीमा रहेको एचए अध्ययन गर्ने शैक्षिक भवनलाई पनि प्रयोग गरेर बिएएमएसका विद्यार्थीहरुलाई भौतिक उपस्थितिबीच नै अध्यापन गराइने उनको दाबी थियो । तर कहिलेदेखि भौतिक उपस्थितिबीच पढाइ हुने भन्ने विषयमा भने उनले खुलाउन चाहेनन् ।

विश्वविद्यालय सिनेटसभामा बेलझुण्डीमा एकीकृत अस्पतालको प्रस्ताव पास भएको पनि कुलसचिव अधिकारीले दावी गरेका छन् । यद्यपि एकीकृत अस्पताल बिएएमएसको शैक्षिक भवनमा भने हुने छैन । त्यसका लागि प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन तयार गर्नका लागि १० लाख रुपैयाँ विनियोजन गरिसकेको पनि पत्रकार सम्मेलनमा बताए । ‘

कोरोना विशेष अस्पताल रहेकै भवनमा एकीकृत अस्पताल बनाउने होइन, विश्वविद्यालयको अन्य स्थानमा खाली रहेको जग्गामा त्यो अस्पताल निर्माण हुँदैछ, त्यसमा योजना आयोगका सदस्यसमेत सकारात्मक हुनुहुन्छ भने प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिले पनि सकारात्मक निर्देशन दिनुभएको छ’, पत्रकार सम्मेलनमा कुलसचिव अधिकारीले भने । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति यो विषम परिस्थितिमा पनि ४ घण्टाभन्दा बढी समय नेपाल संस्कृत विश्वविद्यालयको सिनेटसभालाई उपलव्ध गराउनुले आफूहरुलाई पनि आशावादी बनाएको उनले बताए ।

बोटानिकल गार्डेन

त्यसैगरी सिनेटसभामा लगिएको अर्को महत्वपूर्ण प्रस्ताव विश्वविद्यालयको बोटानिकल गार्डेनको प्रस्ताव समेत स्वीकृत भएको पत्रकार सम्मेलनमा दावी गरिएको छ । त्यसको डिपिआर निर्माणसमेत अन्तिम चरणमा पुगेको पनि पत्रकार सम्मेलनमा बताइएको छ ।

करिब ५ बर्षदेखि चर्चामा रहेको बोटानिकल गार्डेनका विषयमा स्थानीय पालिकाका वडा सरकारदेखि तुलसीपुर उपमहानगरपालिका प्रमुखले पनि धेरै भाषण गरे । तर समग्रमा बोटानिकल गार्डेनको योजनालाई यसअघिका पदाधिकारीको नेतृत्वले अनुमोदन गरी कार्यक्षेत्रमा उत्रिनै सकेको थिएन । हरेक बर्ष विनियोजित बजेट विश्वविद्यालयको खातामै सीमित छ । यसले आम विश्वविद्यालयका वनस्पति शास्त्रका अध्येतासँगै आयुर्वेद अध्ययन संस्थान परिवार पनि खिन्नताको अवस्थामा थियो ।

‘अब बोटानिकल गार्डेन निर्माणको काम रोकिने छैन, डिपिआरसमेत तयार भइरहेको छ, मलाई लाग्छ केही सातामै यसको टेण्डर गर्ने प्रक्रियामा छौं’, विश्वविद्यालयका रजिष्टार अधिकारीले भने ।

विश्वविद्यालयले परिकल्पना गरेको डिजाइन र डिपिआरमा सो बोटानिकल गार्डेनमा एउटा गोल घर हुनेछ, त्यही वनस्पति संग्रहालय हुनेछ, वनस्पति बगैचामा औषधिजन्य वनस्पतिका विषयमा आगन्तुकहरुले अध्ययन अवलोकन गर्न पाउनेछन्, आस–पासमा नेपालका दुर्लभ वनस्पतिको विषयमा पनि सहजकर्ता रहने छन् । अध्ययन र अध्यापन गराउनेहरुका लागि सोही क्षेत्रमा एउटा क्याफे रहने छ । चिया चमेनाको व्यवस्थापन पनि त्यही रहेनछ, अनि धेरै–धेरै अध्येताका लागि वनस्पति उद्यान फलदायी हुनेछ ।

इतिहासको पुनरावृत्ति

यसैबीच यो सिनेटसभाले फेरि एकपटक नेपाल संस्कृत विश्वविद्यालयमा विश्व विद्धत सम्मेलनको आयोजनाको प्रस्ताव गरेको छ । नेपाल संस्कृत विश्वविद्यालयमा वि.सं. २०२४ सालमा यस्तै सम्मेलनको आयोजना गरेको थियो । जुनबेला कस्तो परिस्थिति थियो भने, यहाँको सम्मेलनलाई उज्यालो बनाउन कोइलाबासबाट जेनेरेटर बोकेर ल्याइएको थियो ।

भारतका विभिन्न मठाधीश र विश्वविद्यालयका उपकुलपतिहरुलाई दाङको बिजौरीमा ल्याइएको थियो । ‘हामीले त्यसैगरी संस्कृत शिक्षाको महत्वलाई उजागर गर्नका लागि त्यस्तै विद्धत सम्मेलन आयोजना हुँदैछ, त्यसका लागि प्रधानमन्त्री तथा कुलपति अत्यन्तै सकारात्मक हुनुहुन्छ, यसको प्रोजेक्ट प्लानसमेत हामीले बनाइसकेका छौं’, कुलसचिव अधिकारीले भने– ‘यो एउटा सांस्कृतिक कोशेढुंगा हुने हामीले अपेक्षा गरेका छौं ।’

त्यसो त विश्वविद्यालयले आउदो शैक्षिक सत्रदेखि नेपाल संस्कृत विश्वविद्यालयमा योग तथा प्राकृतिक चिकित्साको अध्ययनको सुरुआच, वास्तु इन्जिनियरीङको पठन पाठन गर्ने, विश्वविद्यालयको दिक्षान्त समारोह वेलझुण्डिमै जेठ महिनामै सम्पन्न गर्ने, कोरोना भाइरसको संक्रमणका कारण अवरुद्ध पठनपाठनलाइ जागरुक बनाउन जाडो र गर्मिविदा दुवै कटौति गर्ने पनि प्रस्ताव पारीत भएको पत्रकार सम्मेलनमा बताइएको छ ।

त्यसैगरी पत्रका सम्मेलनमा ५ सय क्षमताको सभाहल निर्माण गर्ने पनि प्रस्ताव भएको बताइएको थियो । तर पत्रकार सम्मेलनमा रिक्त सिनेटसदस्यको पदपुर्ति तथा विश्वविद्यालय कार्यकारी परीषदको पुर्णताको विषयमा भने केहि पनि जानकारी गराएएन । पत्रकार भेटघाट भनेर बोलाइएपनि त्यहां स्थानिय पालिकाका जनप्रतिनिधि, वेलझुण्डि क्षेत्र विकाश समितिका पदाधिकारी लगायत धेरैलाइ आमन्त्रण गरिएको थियो ।

छोटो समयमा धेरैले धेरै गुनासा गरेका थिए । वेलझुण्डि क्षेत्र विकाश समितिका अध्यक्ष चन्द्र वहादुर वलीले हरेक पदाधिकारीले पस्किएका योजनाहरु कार्यान्वयनमा नपुगेका भन्दै उधारा सपनाकालागी प्रचारबाजी गर्नुभन्दा पनि काम गरेर देखाउने विश्वविद्यालय पदाधिकारीलाइ आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति यादव प्रसाद लामिछानेले विश्वविद्यालय सवैको साभाm थलो भएकाले यसको समृद्धिमा सवैको साथ र सहयोगको अपेक्षा गरे । ‘यो धरोहरमा म आएको केहि दिन मात्रै भएको छ, मैले तपाइहरु सवैको साथ र सहयोगको अपेक्षा गर्दै विश्वविद्यालयका प्रगति हरेक सय दिनमा जानकारी गराउने छु’—पत्रकार सम्मेलनका अध्यक्ष उपकुलपति लामीछानेले भने ।

विश्वविद्यालयको अतिक्रमित जग्गा व्यवस्थापन देखि विद्धत सम्मेलन र दिक्षान्त समारोहमा पनि साथ र सहयोगको अपेक्षा गर्दछु’—उपकुलपति लामीछानेले भने । लेखा प्रमुख हरीवहादुर डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उपकुलपति कार्यालयका उपप्रशासक प्रदिप गौतमले गरेका थिए ।