गोरक्ष समाचारदाता
दाङ, पुस ५ । नेपाली कांग्रेसले संसद बिघटनको सिफारिस गर्ने सरकारको कदम र राष्ट्रपतिबाट भएको स्वीकृतिलाई ‘नेपाल कम्युनिष्ट पार्टीको सरकारको घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनीय’ कार्य भनेको छ ।
आइतबार आकस्मिक रूपमा बसेको पार्टीको बैठकले सरकारको निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक काम भनी टिप्पणी गरेको छ ।
त्यसैगरी कांग्रेसले विगतको निर्वाचनमा स्थिरता, शान्ति र संमृद्धिको नारा दिएर झन्डै दुई तिहाई जनमत प्राप्त गरेको वर्तमान सरकारले जनताबाट प्राप्त जनादेशको अपमान गरेको आरोप पनि लगाएको छ । ‘कोभिड—१९ को माहामारीले जनता सर्वाधिक पिडामा रहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीको सरकार जनताका जन–जिवीका र सुविधाका विषयबाट विमुख र निरपेक्ष हुदै, आफ्नो पद र शाक्तिका लागि सत्ता संघर्षमा केन्द्रीत रह्यो’ कांग्रेसले भनेको छ, ‘पछिल्ला घटना क्रमले कम्युनिष्ट पार्टी र सरकार देश र जनताका हितमा सत्ता संचालन गर्न अक्षम र जनताप्रति गैर जिम्मेवार र अनुत्तरदायी रहेको प्रष्ट छ । प्रारम्भदेखि नै असफलतातर्फ उन्मुख सरकारको यो कदम संवैधानिक मूल्य र लोकतान्त्रिक मान्यता विपरित कार्यहरुको श्रखृलाको निरन्तरता हो ।’
कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी र सरकारका कारण उत्पन्न यो असहज परिस्थितिमा नेपाली जनता सामु नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डो¥याउन आफ्ना सबै प्रयत्न केन्द्रीत गर्ने प्रतिवद्धता समेत व्यक्त गरेकोछ । त्यसका लागि कांग्रेसले सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसदमा क्रियाशील अन्य राजनीतिक दलहरुसंग समन्वय र सल्लाह गरी लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि संवाद अगाडि बढाउने पनि भएको छ ।