तनाव र चिन्ताबाट मुक्त हुने सूत्र

सुप्रिया माँ

तनाव, उदास र चिन्ता रहित बनेर जीवन जीउन सक्नु भनेको जीवनको सबैभन्दा ठूलो उपलब्धि हो । दैनिक क्रियाकलापको ब्यस्तताले, ब्यस्त जीवन शैलीले र दौडधुपले हाम्रो मन धेरै बाहिरतिर भौतारि रहेको हुन्छ ।

जति मन बाहिरतिर भौतारिन्छ त्यतिनै मनमा तनाव र बेचैनि पनि बनि रहन्छ । त्यसैगरी प्रतिकुल परिस्थिति र नराम्रा घटनाहरु बारम्बार जीवनमा आईपर्यो भने र आफूलाई सम्हाल्न सकिएन भने मानिस तनाव र चिन्ताग्रस्त हुनु स्वभाविकै हो ।

तर सहज परिस्थिति र जीवनको सामान्य अवस्थामा पनि मानिसहरु उदास, तनाव, बेचैनी र चिन्तित बनिरहेका देखिन्छन् । यो एउटा गहन तरिकाले मनन् गर्नु पर्ने कुरा हो ।

प्रतिकुल परिस्थिति, दुःखका घटनाहरु र कुनैपनि असामान्य आवस्था जीवनमा आएको हुदैन तर पनि मानिसहरु उदास, निरास, भयवित्, तनावपूर्ण र चिन्तित् देखिन्छन् । धेरैजसो मानिसहरुलाई चिन्तित र तनावमा रहन कुनै पनि कारण चाहिदैन ।

तपाई चिन्तित र भयवित् रहनुको कारण के हो ? भनेर सोध्ने हो भने मानिसले त्यसको कुनैपनि कारण बताउन सक्दैन । कुनै कारण बताउन नसकेपछि मानिसले चिन्तित हुनै नपर्ने कुरालाई पनि चिन्ताको कारण बताएको हुन्छ ।

मानिस बिनाकारण तनाव, चिन्तित र भयवित् रहनुको कारण के हो ? भनेर भौतिक विज्ञानमा धेरै प्रकारका अनुसन्धानहरु पनि भै रहेका छन् ।

अध्यात्मको योग विज्ञानले, हाम्रा ऋषिमुनिहरुले मानिस बिना कारण तनाव, बेचैन्, भयवित् र चिन्तित बनि रहनुको कारण धेरै पहिला नै पत्तालगाई सकेका थिए । हाम्रा उपनिषद, योग विज्ञान र धार्मिक ग्रन्थहरुमा यो कुरालाई राम्रोसंग उल्लेख गरेको पाईन्छ ।

योग विज्ञानको कुरालाई भौतिक विज्ञानको अनुसन्धानले पनि विस्तारै प्रमाणित गर्दैछ । मानिस बिना कारण तनाव, उदास, चिन्तित, बेचैनी र भयवित् हुनबाट बच्ने सबैभन्दा महत्वपूर्ण सूत्र हो गहिरो र लामो स्वास लिनु ।

यो सूत्रलाई जीवनमा उतार्ने हो भने चिन्ता र तनाव मात्र होईन बिना कारण हुने भय र त्रासबाट पनि मानिस सधैकालागी मुक्त हुन सक्छ र मानिस जीवनभरी निरोगी बनेर बाँच्न सक्छ ।

हामीले भरखरै जन्मिएका साना–साना बालबालिकाहरुलाई राम्रोसँग नियालेर हेर्ने हो भने थाहा लाग्छ कि उनिहरुको स्वास लामो र गहिरो चलेको हुन्छ र स्वास चल्दा नाभि केन्द्र माथि उठ्ने र बस्ने गरेको हुन्छ ।

साना–साना बालबालिका हरुको स्वास नाभि केन्द्रसम्म पुगेको हुन्छ र नाभि केन्द्रबाट स्वास फालेका हुन्छन् । लामो र गहिरो स्वास लिएको कारणले साना–साना बालबालिहरु खुशी, आनन्दित र उर्जावान हुन्छन् ।

एउटा सानो बालकले ठूलो मानिसलाई थकाईदिन्छ, त्यति धेरै उर्जा हुन्छ बालबालिका हरुमा । उर्जाको कारणले उनिहरुको अनुहारमा एक प्रकारको चमक पनि रहेको हुन्छ । त्यो अनुहारको चमकको कारणले नै सबै मानिसहरु बालबालिकाहरु प्रति आकर्षित हुन्छन् ।

उर्जावान रहेकाले बालबालिकाहरु धेरै समय सम्म खेल्दा पनि थाकेका हुँदैनन् । मानिस जति ठूलो हुदै जान्छ, जति जीवनमा भय, त्रास, तनाव र चिन्ता बढ्दै जान्छ त्यतिनै स्वासको गति पनि सतह–सतहमा र छोटो–छोटो चल्न थाल्छ ।

मानिस ठूलो हुँदै जादा गहिरो र लामो स्वास लिने सहज प्रकृयालाई विर्सिन्छ र उस्को स्वास लिने बानि सतह–सतहमा र छोटो–छोटो बन्दछ । स्वास र हाम्रो अशान्त, बेचैनी र तनावको स्थितिको गहिरो सम्बन्ध छ ।

जब मानिस शान्त, तनाव रहित्, खुशी, आनन्दित र सहज अवस्थामा भएको हुन्छ त्यतिबेला स्वास स्वतः लामो र गहिरो चलेको हुन्छ र त्यसको विपरित जब मानिस भय, त्रास, तनाव, अशान्त, चिन्ता र असहज अवस्थामा हुन्छ तब स्वास छोटो र सतहमा चल्दछ ।

सतहमा र छोटो–छोटो स्वास लिनु असहज प्रक्रिया हो भने हाम्रो शरीर ले त्यसरी स्वास किन लिन्छ ? यसरी स्वास चल्ने व्यवस्था शरीरमा किन भयो ? भन्ने प्रश्न पनि उठ्न सक्छ । शरीरमा यसरी स्वास चल्न पनि आवस्यक छ, त्यसकारणले शरीरमा यस्तो स्वास चल्ने व्यवस्था पनि छ ।

मानिसको जीवनमा कुनै पनि विपत्ति र आपत्ति आई पर्यो भने मानिस परिस्थिति प्रति सजग बनि रहोस भनेर शरीरले स्वासलाई छोटो–छोटो र सतह–सतहमा आफै चलाउँछ । तर कुनैपनि आपत्ति र विपत्ति आएको छैन र पनि मानिसले स्वास छोटो–छोटो र सतह–सतहमा फेर्दछ भने हाम्रो शरीरको आफ्नो बुद्धिमत्ता (Bodily Intelligence)ले आपत्ति र विपत्ति आएको हो भन्ने बुज्दछ र हाम्रो मनले काल्पनिक विपत्ति सृजना गर्दछ र मानिसलाई भय, त्रास, बेचैनी, तनाव र परिस्थिति प्रति सजग बनाउँछ ।

त्यसकारणले मानिसले सधै स्वास छोटो–छोटो र सतह–सतहमा फेर्दछ भने कुनै पनि कारण बिना मानिस सधैभरी भय, त्रास, बेचैनी, तनाव र परिस्थिति प्रति सजग बनि रहन्छ ।

सधैभरि छोटो–छोटो र सतह–सतहमा स्वास फेर्ने मानिस कुनै पनि आपत्ति र विपत्ति जीवनमा नआएको बेलामा पनि जीवनमा आपत्ति र विपत्ति आई परेको जस्तो असहज अवस्थामा रहेको हुन्छ र जीवनभरि भय, त्रास, बेचैनी, तनाव र परिस्थिति प्रति सजग बनि रहन्छ ।

यस्तो मानिस विस्तारै रोगहरुले ग्रस्त बन्दछ । हाम्रो स्वास आपत्ति र विपत्ति आएको अवस्थामा बाहेक अरु बेला प्राकृतिक र सहज तरिकाले लामो र गहिरो चलेको हुनु पर्छ । हाम्रो स्वास नाभि केन्द्रबाट चल्नु पर्छ, माथि छातीबाट मात्र होईन ।

धेरैजसो मानिसहरुको स्वास असहज तरिकाले चलेको हुन्छ । साना–साना बालबालिका हरुले जसरी स्वास लिएका हुन्छन् ठूला मानिसहरुले पनि त्यसरीनै स्वास लिनुपर्छ । लामो, गहिरो र नाभि केन्द्रबाट सधै जस्को स्वस चल्दछ त्यस्तो व्यक्ति जीवनमा कहिल्यै पनि भयवित् हुदैन र जीवनभरी तनाव र चिन्ता रहित बनि रहन्छ ।

चाहे परिस्थिति जतिनै प्रतिकुल होस र जीवनमा जतिनै दुःख आओस व्यक्ति सहज र शान्त अवस्थामा रहेको हुन्छ । हामी शान्त र तनाव रहित अवस्थामा रहेको बेलामा हाम्रो स्वास स्वतः लामो र गहिरो भएको हुन्छ ।

त्यसैगरि हामीले याद गरेर स्वासलाई लामो र गहिरो लिने हो भने तुरुन्तै हाम्रो भय, त्रास, तनाव र चिन्ता हराउँछ र हामीलाई शान्त, खुसी, चिन्ता रहित र सहज बनाउंछ । नाभि केन्द्रबाट लामो र गहिरो स्वास फेरि रहने व्यक्ति सधै शान्त र आनन्दित रहन्छ ।

यस्तो मानिसलाई कहिल्यै पनि तनाव, चिन्ता र भय हुँदैन । सधै लामो र गहिरो स्वास लिने मानिस शारीरिक र मानसिक रुपले उर्जावान र स्वस्थ रहन्छ । यस्तो लामो र गहिरो स्वास लिनु योग विज्ञानको सबै भन्दा महत्वपूर्ण सूत्र हो ।

यो सूत्रलाई ध्यानमा राखेर हाम्रा अध्यात्मका गुरुहरुले मानिसहरुलाई तनाव, चिन्ता र भय रहित जीवन जीउने कला सिकाउंन धेरै प्रकारका प्राणयाम विधिहरु, कुम्भक विधिहरु र ध्यानका विधिहरु पनि बनाएका छन । त्यो विधिहरुलाई प्रयोग गरेर मानिसहरु शान्त, तनाव रहित, भय रहित, आनन्दित र रोग मूक्त बन्न सक्छन् र बनि रहेका पनि छन् । आजलाई यति नै, हरी ॐ !

 

सुप्रिया माँ आनन्दपथ सस्थाकी संस्थापक हुन् ।