संस्कार, यातना र महिला

यम रेग्मी

विवाहपछिको तेस्रो साँझ । पाहुना कोही थिएनन् । सबै आ–आफ्ना घर गइसकेका थिए । एक किसिमले विवाहको माहोल सकिसकेको थियो । रक्षा साँझको खाना बनाई । पहिले ससुरालाई खुवाई । सासूलाई खाना खुवाई । दिन साँझको सन्ध्या भयो । सन्ध्या रातमा रुपान्तरण भयो । क्रमिक रुपले रात पनि छिप्पिएर बूढो हुन लाग्यो । घण्टाको सुइले ९ः०० काटिसक्यो । विहानको खाना खाएर हिडेको पति विजय अहिलेसम्म घरमा आउनेको नामनिसान थिएन ।

रक्षा भान्सा कुरेर बसेकी थिई । सासू पूर्णकला पहिलेदेखि नै टिभीमा सिरिएल हेर्न व्यस्त थिइन् । ससुरा शशिधर सुत्न कोठा जानलाग्दै बोले–‘तिमी पनि खाऊ अनि सुत छोरी । दिनभरिको घरको कामले थाकेकी हौली । विजय आउँछ, आफै खान्छ ।’
रक्षा मुसुक्क हाँसी । शान्त स्वरले बोली, ‘हओस् बुबा । आइहाल्नुहुन्छ कि ? अब एकछिन बाटो हेर्छु र खान्छु ।’

पूर्णकलाका आँखा टिभीमा भए पनि कान बुहारतिरै थिए । जब लोग्नेको कुरा सुनिन् । उनलाई झनन्क रिस उठ्यो, आफ्नो लोग्नेप्रति । टिभीको आवाज सानो पारिन । चर्को स्वरमा बोलिन–‘ब्या भाको २४ घण्टा भाछैन । लोग्नेले नखाँदै स्वास्नी खाइहाल्ने ? अर्जापर्जाको घर हो र यो ?’ सासूको वचन केतुकेका काँडाझैँ चसक्क घोच्यो रक्षाको मनमा । तर केही बोलिन ।

किनकि पहिलो त ऊ छोरी थिई, छोरी । त्यसमाथि कसैको बुहारी थिई । हाम्रो समाजले उसको मुखमा ताला ठोकेको थियो । जिभ्रो थुतेको थियो । आदर्शको भारीले च्यापेर लाटी बनाएको थियो । बुहारीको बिल्ला घाँटीमा भिराएर कुजो बनाएको थियो ।ऊ समाज मर्यादा र लक्ष्मणरेखा नाघ्न सकिन । सहिरही, बहिरो बनेर ।

शशिधर चर्को स्वरमा बोले–‘तेरो मनमा दया र हरि भन्ने चीज कहिल्यै आन्न है ? महिला भएर महिलाको मर्म नबुझ्ने तेरो कस्तो मन हो हँ ?’
‘लोग्ने मान्छे भएर यस्ता साना कुरामा चासो राख्न तपाईंलाई लाज लाग्दैन ?’ पूर्णकला झनै चर्को स्वरले बोली ।

‘लाज त तँलाई पो लाग्ने हो ? रातभरि भोकै बसाल्न । भर्खर घरमा पाइला टेकेकी बुहारीलाई’–शशिधर सोफामा बस्दै बोले ।

‘पर्दैन; पर्दैद; कसैले पर्दैन भो । मेरो छोरालाई कुर्न । सबैले घिचे हुन्छ ।’ पूर्णकला वाणरुपी वचन बोली ।

शशिधर केही बोलिन । मनमा उठेको रिसलाई दबाएर राखे ।
रक्षालाई धेरै दिनपछि भोक लागेजस्तो भएको थियो । सासूको रुखो वचन लागेको भोक आफै मेटिर गयो । भान्सा कुरेर लोग्नेको प्रतीक्षामा बस्न थाली । रातको १०ः०० बज्यो ।विजय आएन । ११ः०० बज्यो ।आएन ।

११ः३० जति बजेको हुँदो हो । बढ्दो रातसँगै ंआँखा झपक्क लागे रक्षाका । आँखा लाग्नु र ढोका ढ्वाक ! ढ्वाक !! पार्नुसँगै भयो । आवाजले झसङ्ग भई । लोलाएका आँखा खुले । आँखा खुर्सानीभन्दा पिरा भएका थिए । आँखा मिच्दै बसेको ठाउँबाट जुरुक्क उठी । ढोका खोली ।

जब विजयको अवस्था देखी, तीनछक्क परी । मन काँक्रो चिरेझैँ चिराचिरा प¥यो उसको अवस्थाले । पाउमा एउटा जुत्ता, अर्को रित्तो । पयन्ट निथ्रुक्क भिजेको पिसावले । कपडाभरि हिलैहिलो । रक्सीले गोडा ठाउमा टेक्दैन । होस ठाउँमा छैन । बोली ठाउँमा छैन ।

ढोकामा खुट्टा अल्झिएर भूइँमा लडिसकेको थियो । रक्षा बच्चालाईझैँ च्याप्प छोपी र अ¥याई । लोट्नबाट बचाई । हातले डोराएर भान्सामा लागी । कुर्सीमा बसाली । खाना पस्की थालमा । दाल, तरकारी र अँचार राखी कचौरामा । खाना अगाडि राखी । शान्त स्वरमा बोली– ‘खाना खानुस् !’

विजय लड्बराएको स्वरमा बोल्यो, ‘खान्न मैले खानासाना । भोक छैन मलाई । मैले उतै मैयासित खाइसकेँ ।’

रक्षा झनै चिसी भई, ‘मैया’ शब्दले । विजयको दायाँ हात भातको थालीमा पु¥याउँदै बोली– ‘अलिकति भए पनि खानुहोस् न ?’

आगोमा हात राखे जसरी झ्वाट्ट हात तान्यो । रक्षाको दायाँ गालामा एकचोटी नराम्ररी बजायो । हान्दा टेबुल हल्लियो । थालको भात, कटौराको दाल र तरकारी, प्लेटको अचार, गिलासो पानी भूइँभरि पोखियो । ऊ टेबुलबाट जुरुक्क उठ्यो । दायाँ हातको चोरऔला देखाउँदै बोल्यो–‘खान्न भन्या सुनेनस् ? खान्न भनेसी नि कर गर्नुपर्छ ?’
रक्षा घोप्टो परी र गाला समाइरही ।

भाँडाको आवाज घरभरि गुञ्जायमान भयो ।ससुराको आँखा खुले । सासूका खुले । शशिधर निद्रामै आए । कोठाभरि खाना पोखिएको देखे । बोल्यो–‘के ग¥यो यो रातीमा ।

भर्खर विवाह गरेकी श्रीमतीमाथि हात छोड्न तँलाई लाज लाग्दैन ? यस बेलासम्म कामको नाममा कुकुर मुत घिँचेर आइस् । अझ घरमा महाभारत मच्चाउँछस् ?’
पूर्णकला लोग्नेको पछिपछि आई । आँखा मिच्दै बोली– ‘के भयो फेरि ?’ भूइँतिर आँखा डुलाउदै फेरि बोली, ‘राम ! राम !! राम !!! के ग¥या हो ? यो भुइँभरि भात पोखेर ?’
‘सोध न तिम्रो राजकुमारलाई ? के–के सुकर्म ग¥यो ?’ शशिधर रिसाएर बोले ।
‘के हो र बाबु ?’ ऊ छोराको नजिक गई ।

‘केही होइन मम ।’ विजय सरासर सुत्ने कोठातिर जान लाग्यो । पूर्णकला छोरालाई रोक्न खोज्दै बोली–‘बाबु ! ए बाबु ! पख न ? अलिकति पनि खा र जा न ? भोकै सुत्नुहुन्न क्या बा । शरीर कमजोर हुन्छ ।’ आमाले जति रोक्न खोजे पनि नमानेर सुत्ने कोठा छि¥यो ।

शशिधर स्वास्नीतिर हेर्दै बोले– ‘दिनभरि घिचेर आछ । हात्तीले खाए पनि खाइ नसक्ने जीउ छ । नखाएर सुते पनि के हुन्छ त्यो गधालाई ?

पूर्णकला छोरा भोकै सुतेको रिस लोग्नेतिर पोख्दै बोली–‘तपाईं किन छोराको मात्र दोष देख्नुहुन्छ हँ ? छोरा मान्छे हो कहिलेकाहीँ त रमाइलो गरिहाल्छन् नि ?’

– रक्सी खाएर र श्रीमतीलाई पिटेर रमाइलो हुन्छ ?

– स्वास्नी पनि त मनले खाको हुनुप¥यो नि ?

– के रे ? वाह ! विवाह गरेर ल्याउने ? अनि नानाभातीका कुरा गर्ने?
– कले ग¥यो नानाभातीका कुरा ?

– तिमीले ?

– अँ ! मैले गरे नानाभातीका कुरा ? आमा हँु आमा म । छोराको त्यत्ति कुरा पनि बुझ्दैन मैले ?

– सबै भइसकेपछि आज आएर बल्ल त्यसले नराम्रो देख्यो ? हिजो त्यसका आँखा फुट्या थे ? राम्रो लागेन भनेर आधा रातमा यसरी अर्को छोरी मार्ने ? मार यसलाई तिमी आमाछोराले ?

– के रे ? कोले मा¥यो हजुरकी प्यारी बुहारीलाई ? मैले मारे ?

– सासूको कुराले रक्षाको टाउको फुट्ला जसरी दुख्यो । सासुससुरा कराउँदै थिए । रक्षा रुँदै कोठामा छिरी । ढोका लगाई । बन्द ढोकासँगै आवाज पनि बन्द भयो ।
मरेको मान्छेझैँ । चङ्ग्रङ्ग पल्टेको थियो विजय कोठामा । उसको अवस्था देखेर

अथाहा घृणा जागेर आयो । हेर्न सकिने उसको अनुहार । बत्ती निभाई । भूइँमा गलैचा बिच्छाइएको थियो । हेङ्गरमा दुई वटा ओढ्ने बर्का झुण्डिएका थिए । झिकी । एउटा गलैँचामाथि बिछ्याई, अर्को ओढी । सर्पझैँ डल्लो परी । पल्टिई । तलको चिसो । माथिको चिसो । पीडारुपी तातो मन । मिलन हुन सकेन । निद्राले पनि सुख नै खोज्ने रहेछ क्यारे ? राम्रो विस्तरा खोज्छ होला ? ताता कपडा खोज्छ होला ? सुखीसँग मात्र सम्बन्ध गाँस्छ होला ? उसको पटक्कै निद्रा आएन । रातभरि छट्पटाई रही । आँखा काँचै रहे ।

रातको २ः०० बजेको हुँदो हो । झल्ल बत्ती बल्यो । उज्यालो भयो कोठा । उज्यालोले भस्किई रक्षा । साह्रै डर लाग्यो । मनमा नेगेटिभ मात्र कुरा खेल्न थाले । घाँटी च्यापेर मार्ने पो हो कि ? घाटीमा चुन्नीको पासो लगाएर मार्ने पो हो कि ? वा टुक्राटुक्रा पार्दै काटेर मार्ने हो ?

ऊ भित्रभित्र लुगलुग कापिरही । मर्न त मनदेखि विवाह गरेको दिनदेखि नै मरेकी थिई । तर पनि प्राण जाँदाको अवस्था सम्झी झनै डराई । निदाएको अभिनय गरी । थाहा पाएर पनि केही थाहा नपाएजस्तै गरी ।

रक्सीले छोडिसकेको उसलाई । उसको हिडाई, बोलाई, हेराईको व्यवहारबाट स्पष्ट हुन्थ्यो ।

विजय पलङबाट झ¥यो । रक्षाको नजिक आयो ।सामुन्य बस्यो । कुममा कोट्याएर हल्लाउँदै बोल्यो–‘ए ! ए !! उठ तो ?’

रक्षा चालै गरिन । उसले केही थाहा नपाएको जसरी डकमक गरिन ।
विजय अल्ली जोड्ले फेरि कुम हल्लाउँदै बोल्यो–‘ ए ! उठ्न ? सुनिनस् ? उठ भन्या ?’
रक्षाले बल गरेर उसको हात कुमबाट मिल्काई । अर्कोतिर फर्की । बोली– ‘मरिगए पनि उठ्दैन ।’

विजय जुरुक्क उठ्यो बसेको ठाउँबाट । पलङतिर जादै बोल्यो, ‘सुत यही चिसोमा रातभरि ।’ पलङमा केही बेर थचक्क बस्यो । लामो सास फाल्यो एकपटक मुखबाट । शिरक ओढेर पलङमा पल्टियो । केही बेर सन्नाटा छायो कोठामा । रक्षा ढुक्क भई ।

केही बेरपछि जुरुक्क उठ्यो पलङबाट । कोठाको बत्ती झ्याप्प निभायो । रक्षालाई बेहोस भएको बिरामीलाई टाउका र गोडाबाट उठायो । आफू सुत्ने पलङमा ल्यायो । रक्षालाई जवर्जस्ती गर्दै बोल्यो, ‘तँ मेरी स्वास्नी होस् । जति रात म घरमा हुन्छु त्यत्तिकै काँ छोड्छु र तँलाई, बुझिस् ?’

तल्लो जीवन उपन्यास अंशक्रमशः …