के.पी. सुवेदी
मंसिर १० देखि मंसिर २५ सम्म लैङ्गिक हिंसा विरुद्धको सोह्रदिने अभियान यो वर्ष पनि विभिन्न, गोष्ठी, सभा, अन्तक्र्रिया आदि कार्यक्रम सहित सम्पन्न गरिएको छ । हिंसाका घटना दिन प्रतिदिन बढिरहेको छ । यही अभियानको अवधिमा महिलामाथि पाश्विक व्यवहार गरिएको छ ।
लैङ्गिक हिंसा वास्तवमा शब्दार्थका हिसाबले फरक लिङ्गीमाथि गरिने मानसिक वा शारीरिक हिंसा हो । सजिलो भाषामा भन्नुपर्दा लिङ्गभेद गर्दै विपरितलिङ्गीमाथि पीडा पु¥याउनु हो भन्ने बुझ्न सकिन्छ । जति–जति मानिस विभिन्न प्रविधिले सम्पन्न हुँदैछ त्यति–त्यति मानिसमा दानवीय चरित्रको रुप पनि प्रकट हुँदैछ ।
यसरी मानवीय संवेदनशीलता हराउँदो किन छ ? आजको चेतना यसरी संवेदनहीन भएर मानव सभ्यतालाई व्याङ्ग्य गरिराख्नु लाजको विषय हो । खास गरेर हिंसा सार्वजनिक अपराध हो तर यस्तो अपराध र हिंसामा संलग्न पीडकलाई राज्यले नै नियन्त्रण गर्न नसकिरहेको भन्नुपर्छ । कानुनको कार्यान्वयन गर्नुपर्नेले हेलचक्राई ग¥यो भने पीडक दुरुत्साहित हुन्छ ।
हिंसा महिलाद्वारा पुरुषमाथि पनि हुनसक्छ । यदाकदा यस्ता घटना हुने गरेको सुनिन्छ । तर ज्यादै नगन्य संख्यामा हुने घटनाको कुरा होइन हाम्रो सभ्यतालाई खल्बलाउने घटना हुन थालेको छ, आजभोलि । पुरुषद्वारा महिलाहरुमाथि गरिने यौनजन्य अपराधसँगै हत्या गर्ने गरिएका घटनाले सबैलाई चिन्तित बनाएको छ ।
सामूहिक बलात्कार भएका छन् । सबै उमेर समूहमा हुने गरेका यस्ता अपराधीले पछिल्लो समयमा अझै लज्जास्प्रद कार्य गरिरहेका छन् । अवोध बालिकाहरु यौन पिपासुको शिकार बन्ने गरेका छन् । अपराध बढेको हो कि अपराध विरुद्धको चेतना बढेको हो भनेर बहसबाजी गरिरहँदा अपराध भन्ने जानकारी हुँदा पनि त्यसको बचाउ गर्न लागिपरेका समाचार आउने क्रम छँदैछ ।
कसैलाई इज्जतको सवाल छ, कसैको भविष्यको सवाल छ । कसैले कसैप्रति मन नपर्ने व्यवहार गर्नु हिंसा नै हो । हिंसा नगर्नु मानिसको कर्तव्य पालन हो भने हिंसा हो भन्ने जानेर पनि पीडा दिनु वा निहित स्वार्थको लागि अरुमाथि अनिच्छित व्यवहार गर्नु सार्वजनिक अपराध मात्रै नभएर असभ्यताको परिचायक हो ।
हिंसाका घटनाको सूची हे¥यौँ भने दिनदिनै बढिरहेका छन् । हिंसा बढिरहनुका कारणको अनुसन्धान भइरहे पनि ठोस उपलब्धि भयो भनेर चित्त बुझाउने अवस्था आउनै सकेन । समाज जति–जति खुला र पारदर्शी हुनुपर्ने हो त्यस्तो नभएर अपारदर्शी र अनुशासनहीनता बढिरहेको देख्दा समाज सुधारका अभियानहरु सस्तो प्रचारमा अल्मलिएको जस्तो देखिएको छ ।
हिंसा बाध्यता हो कि उछृङ्खलता राम्ररी विश्लेषणात्मक अनुसन्धान नगरिक नै बोलिदिने जानकारहरुको यहाँ कमी छैन । हतियार चलाउनु मारकाट गरेर जीवन कष्टकर बनाउनु वा जीवन नष्ट गर्नु विद्रोह हो, अधिकार हो भनेर पक्षपोषण गरिरहँदा त्यसले सबैखाले हिंसालाई दुरुत्साहन गरिरहेको हुन्छ भन्ने बुझ्नुपर्छ । किनकि नेपालमा हिंसात्मक गतिविधि बढेपछि लगातार रुपमा बढेको देखिन्छ ।
अझै खराब पक्ष पनि यो हो कि हिंसालाई राजनीतिकीकरण गरेर दोषीलाई उन्मुक्ति दिने । गौरवंशावली राजनीतिक इतिहास बनाएका नेपालीको लैङ्गिक हिंसाका घटनाले शिर झुकाएको छ । नयाँ संविधान जारी भएर सबै नागरिक अधिकार सम्पन्न भएको मुलुकमा दुइतिहाई मतको जनवादी सरकारको गठनसँगै नाबालिग, किशोरीहरु र बृद्धाहरु यौनहिंसाको शिकार बनेको दुःखदायी कालखण्ड हो, यो ।
सुरुवात थियो, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका दोषीलाई पत्तालगाउन नसक्नु अथवा लुकाउन खोज्नु । जे भए पनि सरकारको कमजोरीबाट बढेका यौन हिंसा निरन्तर बढिरहँदा यसको नियन्त्रण कसले कसरी गर्नसक्छ ? अहिलेसम्म उत्तर दिने निकाय मौन छ । नेपालको इतिहासमा पहिलो पटक संघीय संसद्का सभामुखले बलात्कार आरोपमा हिरासतमा बसेको कालखण्डमा बलात्कारपछि हत्या गर्ने जघन्य अपराध बढवुमा कहीँ न कहीँ अपराधीको दुरुत्साहन बृद्धि भएको अनुभव हुन्छ ।
बलात्कारीलाई सजाय दिने कानुन कडा बनाउनुपर्ने माग भइरहेका बेला बलात्कारीले आफ्नो अपराध लुकाउन झनै ठूलो अपराध गर्न सुरिनुले समाजको शान्ति सुव्यवस्थामा चुनौती थपिएको छ । मुख हेरेर न्यायको डण्डा चलाउने सबै तहका डण्डाधिकारीले अब विचार पु¥याएर निर्णय गर्नुपर्ने देखियो ।
प्रशासनिक निकाय मात्र होईन सबै तहका जनप्रतिनिधि, सामाजिक अभियन्तादेखि आम नागरिकले पनि आफ्नो भूमिका निर्वाह गर्नुप¥यो किनकि त्यस्तो व्यक्ति होस् वा प्रवृत्ति हाम्रै समाजको उत्पादन हो त्यसमा हाम्रो पनि कमजोरीले हरेक आपराधी कुनै पनि समय हाम्रो परिवारसम्म आइपुग्न सक्छ ।
एक–दुई होइन हरेक हप्तामा एक÷दुईवटा गरेर बालिका, किशोरीहरु बलात्कृत हँुँदै मारिँदै गर्छन् । लैङ्गिक हिंसा विरुद्धका अभियान चलिरहँदा पनि रोकिएन त्यो क्रम । त्यस क्रममा केही तथ्याड्ढहरु सार्वजनिक गरिए । कति समेटिए कति छुटे, जति लैङ्गिक हिंसाको ग्राफ जतिमाथि चढ्दै जान्छ त्यत्ति नै मात्रामा यौन हिंसाका घटनाहरु बढ्ने गर्छन् ।
कहीँ अन्धविश्वासले हिंसात्मक व्यवहार भएका छन् त कहीँ दाइजो । जे होस् लिङ्गभेदबाट बस्ने लैङ्गिक हिंसा अथवा यौनहिंसा सुन्दर शान्त समाजका कलंक हुन् । कुनै समय हिंसाको अर्कै रुप लाशको गन्ति सुनेर संवेदनहीनता बनिरहेका थियौँ र आज फेरि बलात्कारपछि हत्या जस्तो पाश्वित घटना सुनेर संवेदना गुमाइरहेका छ ा यसको अन्त्य असंभव छैन तर हाम्रो सक्रिय सहभागिता हुनुपर्छ ।