स्वदेशमै रोजगार सिर्जना गर्न युवाहरुको माग

दाङ, ४ पुस । युवाहरुले बैदेशिक रोजगारमा जानुपर्ने बाध्यतालाई विस्थापित गर्दै स्वदेशमै रोजगारको अवस्था सिर्जना गर्न राज्यसँग माग गरेका छन् । बैदेशिक रोजगारीमा जाने युवाहरु सीपअनुसारको श्रम नपाउने अवस्थासँगै ठगिने सम्भावनासमेत निरन्तर जारी रहेको अवस्थामा यस्तो माग गरियो ।

२१औं अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा अपांग मानवअधिकार एवं सरोकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्ने युवाहरुको यस्तो माग थियो । सो अवसरमा बोल्ने अन्य बक्ताहरुले विदेश जान चाहने युवायुवतीले सचेत बने धेरै व्यक्तिहरु ठगिनबाट बच्ने बताएका थिए ।

त्यसका लागि विदेश जान चाहने हरेक व्यक्तिले अनिवार्यरुपमा सीपसँगै आफू जान चाहेको देश र कम्पनीका बारेमा बुझ्न जरुरी रहेको बताएका थिए । बैदेशिक रोजगारीले आर्थिकरुपमा कमजोर परिवारलाई माथि उकास्न ठूलो भूमिकासँगै देशको आर्थिक विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले युवाहरुलाई अवसरसँगै घरपरिवारमा चुनौतीसमेत सिर्जना गरेको बताएका थिए । उनले बैदेशिक रोजगारीमा गएको युवाहरुले रोजगारीसँगै देशलाई आर्थिक रुपमा समृद्ध बनाउन भूमिका खेल्ने गरेको बताए । तर बैदेशिक रोजगारीले विभिन्न चुनौतीहरु समेत सिर्जना गरेको भन्दै त्यसका लागि युवाहरु सचेत हुन आवश्यक रहेको बताएका थिए ।

घोराही उपमहानगरपालिका नगर उपप्रमुख सीता न्यौपाने सिक्देलको अध्यक्षतामा भएको कार्यक्रममा मानवअधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्मा, बैदेशिक रोजगारीबाट फर्किएर सामी परियोजनामा कार्यरत कृष्णबहादुर खत्री, अशोकराज धामीलगायतले बोलेका थिए । कार्यक्रममा सामी परियोजनाले जिल्लामा गर्दै आएका गतिविधिहरुको बारेमा परियोजनाकी सहजकर्ता रीता लामाले जानकारी गराएकी थिइन् ।

उनका अनुसार २०६४ सालदेखि हालसम्म दाङबाट ७७ हजार ५ सय ७० जना रोजगारीका क्रममा विभिन्न देशहरुमा गएका छन् । त्यसैगरी उनले बितेको पाँच महिनाको अवधिमा ७ सय १४ जनालाई बैदेशिक रोजगारीसम्वन्धी परामर्श दिएको जानकारी गराएकी थिइन् । जसमा ४ सय ४५ जना पुरुष र २ सय ६९ जना महिला रहेका छन् ।

उनका अनुसार परियोजनाले पाँच महिनाको अवधिमा एक सय १३ जनालाई न्याय दिलाएको छ । बैदेशिक रोजगारीका क्रममा विदेशमा ठगिएका तथा स्वदेशमै ठगिएका ९२ जना पुरुष र २१ जना महिलाहरुलाई कानुनी रुपमा न्याय दिलाएको समेत जानकारी गराएकी थिइन् । त्यसैगरी रोजगारीका क्रममा विदेशमा गएर अलपत्र परेका ७८ जनामध्ये ५८ जनालाई घर फिर्ता गराइएको समेत परियोजनाले जनाएको छ ।

परियोजनाले दाङका घोराही र तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र बबई गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत बैदेशिक रोजगारीमा जान चाहनेलाई परामर्श, सीप, सूचना–न्याय, वित्तीय व्यवस्थापनसँगै मनोपरामर्शको काम गर्दै आएको छ ।

हाल नेपालीहरुलाई विश्वका १ सय १० देशहरुमा रोजगारीका लागि जान पाउने व्यवस्था गरेको छ । अपांग मानवअधिकार एवं सरोकार मञ्चका अध्यक्ष शिव घर्तीमगरको स्वागत मन्तव्यबाट कार्यक्रम शुरु भएको थियो ।