व्लडबैंकमा रगत रित्तिएपछि…

तुलसीपुर, ४ पुस । तुलसीपुर प्रादेशिक अस्पतालमा भर्ना भएका बिरामीलाई आवश्यक परेको रगत अञ्चल अस्पताल परिसरमा रहेको कालिकादेवी स्मृति रक्त सञ्चार केन्द्रमा नपाइएपछि विरामीका आफन्तहरुको रगतका लागि दौडधुप शुरु भयो ।

बिहीवार दिउँसो सो रक्त सञ्चार केन्द्रमा बिरामीका लागि आवश्यक ओ पोजेटिभ एक पोका पनि नभएको अवस्थामा फेबुकमा रगत मागको स्ट्याटससहित रक्त सञ्चार केन्द्रले पनि रगत अभाव भएको आह्वान गरेपछि शुक्रवार अनकल रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रगतको अभाव टार्न रोटरी क्लव अफ तुलसीपुरले आफ्नो संस्थामा आवद्ध सदस्यहरुलाई आह्वान गरेपछि कम्तीमा २० जनाले रक्तदान गरेका छन् । अधिकांश ओ–पोजेटिभ समूहका पनि रहेका छन् । रक्त सञ्चार केन्द्रको अनकलमा हामीले आकस्मिकरुपमा शुक्रवार नै रक्तदान कार्यक्रमको आयोजना गरेका हौं’, रोटरी क्लव अफ तुलसीपुरका महासचिव देवेन्द्र केसीले गोरक्षलाई भने ।

रोटरी क्लवले बार्षिक रुपमा दुईपटक नियमित कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको भए पनि शुक्रवारको रक्तदान भने आकस्मिकरुपमा तय गरिएको थियो । त्यसो त रोटरीमा आवद्ध रक्तदान गर्न चाहने युवाहरुको रक्त समूहसहित रक्त सञ्चारकेन्द्रकै भित्तामा नाम र सम्पर्क नम्बरसमेत टाँगिएको छ ।

तर रक्त सञ्चार केन्द्रले ती व्यक्तिहरुलाई आवश्यक परेका बेला बोलाउन झन्झट मान्दै बिरामीका अभिभावकहरुलाई रगत नभएको भन्दै फर्काउने गरेको गुनासो पनि रोटरी आवद्ध युवाहरुले गरेका छन् । महासचिव केसी भन्छन्– ‘बिरामीका आफन्तको आग्रहमा हामीले मध्यरातमा समेत आएर रगत दान गर्ने गरेका छौं, ओ–पोजेटिभलगायत जुनसुकै रक्त समूहका रक्तदाताहरु रोटरीको सम्पर्कमा छन् ।’

रक्तदान जीवनदान भन्ने सामाजिक भावनाका साथ आफूले जानकारी पाउनासाथ रक्तदान गर्न यहाँ आएको गुरुजजुर मावि रक्षाचौरकी शिक्षिका विष्णु केसीले बताइन् । रोटरीमा आवद्ध हुनु नै सामाजिक सेवाभाव भएको भन्दै व्लड बैंक वा बिरामीका आफन्तले आग्रह गरे आफूले आवश्यक परेका बेला रगत दान गर्न तयार रहेको पनि उनको अभिव्यक्ति थियो ।

कोरोनाको भाइरसको संक्रमणसँगै पछिल्लो समयमा मुलुकभरी नै ओ–पोजेटिभ रक्त समूहको रगत अभाव भएको छ । संक्रमितहरुको उपचारका लागि ओ–पोजेटिभ समूहको रगतको प्लाज्माको माग धेरै अस्पतालहरुमा बढेसँगै यो समूहको रगत खोज्न नेपालगञ्जबाट समेत बिरामीका आफन्तहरु दाङसम्म आउने गरेको रोटरी क्लव अफ तुलसीपुरले जनाएको छ । ‘व्लड बैंकमा जुनसुकै समूहको रगत अभाव भएमा हामीहरु चौबीसै घण्टा रक्तदानका लागि तयार छौं, आवश्यक जानकारीका लागि सबैमा अनुरोध गर्दछौं’, क्लवका अध्यक्ष सुरेश हमालले गोरक्षलाई भने ।

स्वागत बोर्ड टा“गियो

यसैबीच रोटरी क्लव अफ तुलसीपुर र लायन्स क्लव अफ तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका प्रवेश गर्ने चारवटै नाकामा स्वागत वोर्ड पनि बार्षिक कार्यक्रमअन्तर्गत शुक्रवारै टाँगेको छ ।

दुईवटा स्वागत बोर्ड रोटरी क्लव अफ तुलसीपुर र दुईवटा बोर्ड लायन्स क्लव दाङले टाँगेका हुन् । त्यस्तै शुक्रवारै रोटरी क्लव अफ तुलसीपुरको बर्ष २०२१÷२०२२ को कार्यसमिति समेत गठन गरिएको छ । सो कार्यसमितिको नेतृत्व शिव श्रेष्ठले गर्ने बताइएको छ ।