छन्द–सारथी रमेश खकुरेल

खगराज न्यौपाने

युगयुगमा ठूलाठूला मानिसको जन्म हुन्छ भन्छन् । यी ठूला मानिसले आफ्नो अद्भूत प्रतिभाको परिचय समाजलाई दिने गर्छन् । त्यस्तैमध्येका रमेश खकुरेल हुन् । यिनमा दैवीशक्ति थियो । यसैकारण यिनले अनौठा कामहरु गर भनेर मानिसले अड्कल गरेका छन् । यिनै महापुरुषको छोटो जीवनी यहाँ म पस्कन गइरहेको छु ।

राणाकालीन समयमा राणा परिवारका नजिक, कविराज हरिप्रसाद खकुरेल चल्तीपूर्जीका व्यक्ति थिए । यी सम्पन्न पनि थिए । काठमाडौंमा १३ रोपनीसहितको कम्पाउण्डवाला घर यिनैको थियो । वि.सं. १९९९ साल असोज २२ गतेका दिन रमेश खकुरेलको जन्म काठमाडौंको धरहरानजिक १३ रोपनी एरिया भएको पर्खालवाला घरमा भएको हो । यिनका पिताको नाम हरिप्रसाद खकुरेल र माताको नाम मनोधरा खकुरेल हो । हरिप्रसाद सम्पन्न व्यक्ति थिए । तराईमा प्रशस्त जमिन थियो ।

यिनका छोरा रमेश खकुरेल अद्भूत प्रतिभाका धनी थिए । एकपटक सुनेको कुरा यिनलाई सम्झना नै रहन्थ्यो । ४ वर्षको उमेरमा यिनले कदेखि ज्ञसम्मका सबै अक्षर एकै दिनमा चिनेका हुन् । ५ वर्षको उमेरमा यिनी रमेश खकुरेल नेपाल ब्रह्म चर्याश्रम मृगस्थलीमा भर्ना भए । यहाँ संस्कृतको पढाई हुन्थ्यो । ब्रह्मचर्याश्रको नियमअनुसार छात्रहरु विदाको दिनमा नजिकका गाउँहरुमा गएर भिक्षा माग्ने काम गर्थे ।

गेरुवा वस्त्र धारण गर्थे । यस आश्रममा रमेश खकुरेलले ५ देखि ८ वर्षको उमेर हुँदासम्म पढ्ने काम गरे । यही उमेरमा यिनी संस्कृतका राम्रा ज्ञाता भए । संस्कृतमा बोल्ने, कविता रच्ने काम गरे । २००६ सालमा यिनले मोहन शमशेरको जन्मदिनमा संस्कृतमा कविता सुनाएर ४००।– रुपैयाँ मोहन शमशेरबाट पुरस्कार पाए । त्यो २००६ सालमा ४ सय रुपैयाँले मैतीदेवीमा २ रोपनी जमिन आउथ्यो । यसै साल यी रमेश खकुरेलले श्री पद्मागवत पुराणमा उपवाचक भएर सबैलाई दंग पारे ।

२००७ सालपछि यिनी रमेश अंग्रेजी पढ्नका लागि शाीन्त विद्यागृह माध्यमिक विद्यालयमा कक्षा ३ मा भर्ना भए । पढाईमा तेज भएको र एकपटक सुनेको सम्झनसक्ने क्षमताले गर्दा यिनी कक्षा ३ बाट कक्षा ५ मा गए । साथीभाइसँग पनि रमाइलो गर्थे । साथीभाइलाई आइसक्रिम, बाह्रमसला खुवाउँथे र कैलेकाहिँ सिनेमा पनि देखाउँथे । साथीहरुले यो पैसा कहाँबाट आउँछ भन्दा म तन्त्र साधना गर्छु, बिहान त्यो तन्त्र साधनाले गर्दा खोपामा पैसा आइपुग्छ भनेर साथीलाई भन्ने गर्थे ।

पढ्दै जाँदा एसएलसी गरेपछि साथीभाइ कुन विषय पढ्ने भनेर कुरा चल्दा एउटा साथीले त संस्कृत पढेको मान्छे विज्ञान पढ्न सक्दैनस् भनेछ । त्यसैको इखले अमृत साइन्स कलेजबाट आइएस्सी र त्रिचन्द्र कलेजबाट बीएस्सी गरे । पछि मोरङबाट अर्थशास्त्र र नेपाली विषय लिएर बी.ए. पास गरे ।

काठमाडौंमा पढ्दा रमेश खकुरेलले आफै भात पकाउने, खाना खाइसकेपछि भान्सा गोबरले लोटाउने, पोतारीले पोत्ने काम पनि आफै गर्थे । पितामाता प्रायःजसो तराईमा जमिन थियो त्यसैले उतै बस्ने गर्थे । रमेश खकुरेल प्रतिभाशाली भएको हुनाले संस्कृतमा पनि शास्त्री गरेका थिए । विद्यालयमा पढ्दा, कलेजमा पढ्दा, बादविवाद, साहित्यिक कार्यक्रममा पुरस्कार प्राप्त गर्थे । विज्ञान पढ्दा सजिलो होस् भनेर फिजिक्स (भौतिक विज्ञान) अनुष्टुप छन्दमा लेख्न पुगे । यिनले कर कार्यालयमा अधिकृत पदमा जागिर पनि खाए ।

अञ्चलाधीशले यिनको जागिर खाइदियो । त्यो बेला यिनी सडकछाप हुन पुगे । जे–जस्तो परिस्तिि आउँछ, त्यसैमा संघर्ष गर्दै अगाडि बढ्ने रमेशको बानी ऐलेसम्म पनि उस्तै छ । वीर अस्पताल अगाडि सुन्तला बेच्ने काम रमेशले गर्न पुगे । यिनले जीवनमा कहिले पनि हरेश खाएनन् । जागिरविहीन भएका रमेशले ऋण लिएर ट्रक किने । आफै ट्रक ड्राइभर भएर मेचीदेखि महाकालीसम्म, काठमाडौंदेखि तराई हुँदै कलकत्तासम्म ड्राइभरको काम गरे ।

यसो गर्दा २४।२५ वर्षसम्म उनी साहित्य संस्सारबाट टाढा रहेको देखिन्छ । यिनी ज्यादै सहयोगी स्वभावका पनि थिए । गुल्मीका कुनै ज्ञवाली थरका साथीलाई समस्या परेको रहेछ । उनले रमेशसँग आफ्नो समस्या बताए । रमेशले क्षेत्रपाटीको एउटा साहुसँग ७७००।– भारु १० प्रतिशत ब्याजमा आफूले ऋण लिएर ज्ञवालीलाई दिए । त्यसैकारणले गर्दा रमेशका पिता हरिप्रसादले काठमाडौंको जग्गा १३ हजारमा बेचेर क्षेत्रपाटीका साहुको ऋण तिरे । यसो गर्दा रमेशको परिवार टाँट पल्टेको देखिन्छ ।

हाल रमेश खकुरेल १२ भाषामा बोल्ने र लेख्ने सामथ्र्य राख्दछन् । संस्कृत, नेपाली, अंग्रेजी, हिन्दी आदि भाषा अध्ययन गरेरै रमेशले सिकेको देखिन्छ । सप्तरीमा जमिन भएकाले त्यहाँ बस्दा हरुवा, चरुवासँग बोल्न मैथिली भाषा सिकेको उनी भन्छन् । भोजपुरी, अवधि, पञ्जावी, वाङ्ला र उर्दूभाषा ट्र चलाउँदा सिकेको कुरा स्वयं रमेश भन्छन् । मारवाडी भाषा कर कार्यालयमा बस्दा सिकेको बताउँछन् । नेवारी भाषा ज्यापूहरुसँग बोल्दा–बोल्दै सिकेको रमेश भन्छन् । जीवनमा धेरै उकाली–ओराली रमेशले पार गरेका छन् । धेरै कुराको ज्ञान पनि आर्जन गर्न सफल भएका छन् ।

२०४८ सालमा आएर रमेश नेपाली साहित्यमा पुनः देखा परे । यिनले धेरै किताबहरु प्रकाशन गरेका छन् । कविता संग्रह, खण्डकाव्य, महाकाव्य, यात्राकाव्य, बाल कवितासंग्रह, पूजाविधि आदि विभिन्न यिनले लेखेका किताबको संख्या १७ पुगेको छ । कवि रमेशले पत्रिकाहरु पनि सम्पादन गरेका छन् । रमेश खकुरेल विभिन्न संस्थाहरुका महत्वपूर्ण पदमा बसेर काम गरिसकेका छन् ।

यिनले विभिन्न समयमा धेरै संघसंस्थाहरुबाट स्वर्णपदक, रजतपदक, सम्मान र पुरस्कार गरेर २ दर्जनभन्दा बढी प्राप्त गरेका छन् । छन्दमै कुरा गर्न सक्ने सामथ्र्य राख्ने रमेश खकुरेल हाल ७८ वर्षमा पनि ज्यादै सक्रिय देखिन्छन् । स्मरणशक्ति पनि ज्यादै तेज छ । छन्दलाई नचाउन सक्ने रमेश छन्दसारथी हुन् । यिनको छन्द सिर्जनाको निरन्तरताका लागि, स्वस्थ एवं दीर्घजीवनका लागि शुभकामना व्यक्त गर्दै यो छोटो परिचयात्मक आलेख यही विश्राम गर्ने अनुमति चाहन्छु ।