खेमराज रिजाल
तुलसीपुर, २५ मंसिर । तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीकी एक महिलाले झुण्डिएर आत्महत्या गरिन् । तीन दिनअघि उनी आफ्नै कोठामा झुण्डिएर आत्महत्या गर्नुअघि केही सुसाइड नोट पनि लेखिएको आफन्तले जनाउँदै प्रहरीमा किटानी जाहेरी नै दिए ।
प्रहरीले त्यो विषयमा अनुसन्धान पनि थालेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक झलक केसीले बताएका छन् । जाहेरी आइसकेको अवस्थामा चाँडै पोष्टमार्टम गर्नुको साटो राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले त पोष्टमार्टम गर्ने विशेषज्ञ नभएका कारण भन्दै पोष्टमार्टमको पनि रिफर ग¥यो । निमित्त मेसु ओम अर्यालले जारी गरेको रिफर नोटमा यस तुलसीपुर प्रादेशिक अस्पतालमा फरेन्सिक मेडिसिनको विशेषज्ञ नभएका कारण पोष्टमार्टम गर्न नसकिने भन्दै अन्यत्र लग्न रिफर गरियो ।
अन्यत्र कहाँ–कहाँ फरेन्सिक मेडिसिनका विज्ञ छन् वा छैनन् भन्ने जानकारी निमिm मेसु ओम अर्याललाई पनि सायदै हुनुपर्दछ । किनकि नेपालभरी फरेन्सिक मेडिसिन पढेका विशेषज्ञ आधा दर्जन पनि पुगेका छैनन् । शुरुमा त अस्पताल प्रशासनले पोष्टमार्टम गर्नका लागि जीवित बिरामीको शल्यक्रिया गर्नुअघिजस्तै लिखितम् गराउन खोजेको बिरामीका आफन्तले बताएका छन् ।
अस्पताल प्रशासनले गराउन खोजेको लिखितम्मा हामीले दिएको पोष्टमार्टम तपाईले मान्नुपर्ने छ, त्यसो भए पोष्टमार्टम गर्न सकिन्छ, नत्र अन्यत्र लगेर पोष्टमार्टम गर्नुस्’, अस्पताल प्रशासनले भनेको कुरालाई उद्धृत गर्दै मृतकका भिनाजु रमेश तिमिल्सेनाले भने । तर आफूहरुले पोष्टमार्टमकै लागि पनि लिखितम् दिन मञ्जुर गरेनौं । तर आफूहरुलाई मृतकका आफन्तहरुलाई सम्झाउने, काजकिरिया गर्ने पीडासँगै तुलसीपुरमा रहेको प्रदेशस्तरको अस्पतालले पनि किन यति ठूलो गम्भीर त्रुटि ग¥यो भन्नेमा धेरै चिन्ता लागेको बताए ।
अञ्चलस्तरको भेरी अस्पतालमा दैनिक १६ भन्दा बढी लाश पोष्टमार्टम भएरहेको अवस्थामा तुलसीपुर प्रादेशिक अस्पतालले फरेन्सिक मेडिसिन जानेको चिकित्सक छैन भनेर लाश पोष्टमार्टममै राजनीतिकरण गर्न खोज्नु दुर्भाग्य भएको पनि मृतकका आफन्त तिमिल्सेनाको अभिव्यक्ति थियो । अन्ततः तेस्रो दिन बिहीवार विहान घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृतकको शव पोष्टमार्टम गरियो । यद्यपि प्रतिष्ठानमा पनि मेडिकल अधिकृतले नै पोष्टमार्टम गर्ने हो ।
आवश्यक र शंकास्पद मृत्युमा मात्रै फरेन्सिक विशेषज्ञले अनुसन्धान गर्ने हो । त्यसका लागि भिसेरा परीक्षण पनि गर्न सकिन्छ त्यो त थप अनुसन्धानको पाटो भयो । तर तुलसीपुर प्रादेशिक अस्पतालले पोष्टमार्टन मै नगर्नु र अनावश्यक तनाव बनाएर मृतकको लाश तीन दिनसम्म सडाउन खोज्नुलाई तुलसीपुर उपमहानगरपालिका–५ ले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
वडाध्यक्ष बीरेन्द्रकुमार शाहले यसअघि दैनिकरुपमा नै पोष्टमार्टम भइरहेको अवस्थामा कुनै पनि विषम परिस्थितिविना अस्पताल प्रशासन र निमित्त मेसुले लिखितरुपमै पोष्टमार्टम गर्न एकाएक चलखेल गर्दै रिफर गरिनुले अस्पतालको विश्वासप्रति नै आशंका सिर्जना भएको बताए ।
नेपालभरी सबै अस्पतालमा फरेन्सिक मेडिसिनका विशेषज्ञ नभएको अवस्थामा मेडिकल अफिसरले नै पोष्टमार्टम गर्न सक्ने अवस्थामा प्रादेशिक अस्पतालले पोष्टमार्टम नै नगर्नुलाई शंकाको नियतमा स्थानीय सरकारले हेरिरहेको अध्यक्ष शाहले बताएका छन् । यस्तै अवस्था रहेको अवस्थामा अस्पतालको नेतृत्वप्रति नै आम नागरिकहरुको सेवाप्रतिको विश्वास गुम्दै जाने पनि उनको अभिव्यक्ति थियो ।
कन्ट्रोभर्सी जाहेरी केस थियो : अस्पताल प्रमुख
यसैबीच प्रादेशिक अस्पतालका प्रमुख विनोदकुमार सिंहले किटानी जाहेरी नै आएपछि यो विषय कन्ट्रोभर्सी बनेकाले फरेन्सिक मेडिसिनलाई रिफर गरिएको बताए । फरेन्सिक स्पेसलिष्ट प्रादेशिक अस्पतालमा नभएकाले अन्त पठाइएको अस्पतालले हतारोमा दिएको चिठीमा उल्लेख गरिएको छ ।
आत्महत्या दुरुत्साहन मुद्दामा मृतकको पोष्टमार्टम गर्न तालिमप्राप्त चिकित्सक चाहिने भएको र त्यस्ता चिकित्सक हाल अस्पतालमा नभएकाले पोष्टमार्टम तालिम प्राप्त चिकित्सक कहाँ पठाउन भनी निमित्त मेसु ओम अर्यालले जारी गरेको जानकारी पत्रमा उल्लेख गरिएको छ । तर यसअघि नै हेमन्तपुरमा भएको एउटा शंकास्पद मृत्युको पोष्टमार्टम भने तुलसीपुरकै प्रादेशिक अस्पतालमा भएको थियो ।
प्रहरीले शूक्ष्म अध्ययन गर्ने यी आपराधिक प्रवृत्तिका घटनामा प्रहरीले पोष्टमार्टमबाटै पन्छनु दुर्भाग्यपूर्ण भएको पनि बताइएको छ । मृत्यु जहिल्यै पनि अस्वाभाविक नै हुन्छ तर मृत्युपछि पनि परिवारका सदस्यहरुलाई थप तनाव दिनु कुनै पनि अवस्थामा न्यायसम्मत र संवेदनशील हुन सक्दैन । एउटा प्रदेशस्तरको अस्पतालले पोष्टमार्टम गर्न समेत आनाकानी गर्नु दुर्भाग्यपूर्ण हो । यसलाई आगामी दिनमा सच्याउन आवश्यक भएको नागरिक अगुवाहरुले बताएका छन् ।
अब यही अस्पतालमै सबै केसको पोष्टमार्टम : अस्पताल प्रशासन यसैबीच अबदेखि यस्ता सामान्य केसको पोष्टमार्टमका लागि अस्पताल व्यवस्थापनभित्रकै चिकित्सकहरुको सामूहिक सल्लाहमा गरिने सहमति बिहीवार अस्पतालमा भएको छ । अस्पतालमा आयोजित बैठकले अब पोष्टमार्टमका केसलाई समेत रिफर गर्न नहुने भन्दै सबै विशेषज्ञ चिकित्सकको सल्लाहमा पोष्टमार्टमको पनि काम हुने निष्कर्ष निकालिएको अस्पताल स्रोतले बताएको छ ।
अस्पताल विकास समितिका प्रमुख पदम न्यौपानेसमेतको उपस्थितिमा भएको बैठकले अब पोष्टमार्टमका केसलाई अन्यत्र रिफर गर्न नहुनेतर्फ सबै सचेत हुने पनि बताइएको छ । बिहीवारैदेखि थाँती रहेका पोष्टमार्टमका केसहरु समेत पोष्टमार्टमको प्रक्रियामा गइसकेका छन् ।