दाङ,२५ मंसिर। दाङको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले क्रिश्चियन धर्मावलम्बीहरूको लागि चर्च निर्माण गर्न अहिलेसम्म १५ लाख छुट्याएका छन । चौधरिले यस अगाडि दश लाख रुपैयाँ छुट्याएका थिए भने यसपाली थप ५ लाख गरेर १५ लाख रुपैया बजेट दिएका हुन ।
पूर्वाधार विकास कोषमार्फत् खर्च गर्नुपर्ने चार करोड बजेटमध्ये क्षेत्र नं.१ का निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले क्रिश्चियनको चर्च निर्माण गर्नको लागि भनेर बजेट विनियोजन गरेका छन्।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतको ४ करोड रकममध्ये चौधरीले छनोट गरेका २० यो जनामध्ये अघिल्लो पटक दस लाखको एउटा चर्च निर्माण गर्न बजेट विनियोजन गरिएको छ। अहिले पनि सोहि चर्चलाई फेरि चौधरीले बजेट दिएका हुन । जुन लमही नगरपालिका वडा नं. ६ खैरीमा निर्माण गर्न लागिएको हो। फेरि सोहि चर्चलाई उनले बजेटमा निरन्तरता दिएपछि थारु जाती भित्र आलोचना सुरु भएको छ ।
‘‘थारु जातिको लागि राज्यले धेरै बजेट दिँदै आएको छ, तर विचरा किश्चियनहरूको चर्चलाई कसैले दिँदैन। त्यसैले अघिल्लो पटक दस लाख र अहिले थप ५ लाख बजेट दिएको हो,’ संसाद चौधरीले भने।
दाङको देउखुरी थारु बहुल क्षेत्र हो भने त्यसमा पनि बहुसंख्यक थारुको बसोबास देउखुरी क्षेत्रमा रहेको छ। त्यस्तै, उनले सबैभन्दा बढी उचा निम्बु धारपानी मन्दिर नया ट्रयाकका लागि ५० लाख, नेपाल नेत्र ज्योति संघ लमही र देउखुरी बहुमुखी क्याम्पसको भौतिक निर्माणको लागि २० र २० लाख बजेट छुटयाएका छन् ।
उनले अधिकांश बजेट शिक्षा र सडकतर्फ विनियोजन गरेका छन्। उनले गतबर्षका कतिपय योजनालार्इ यसपाली पनि निरन्तरता दिएका छन ।
तत्कालिन नेकपा एमालेका दाङ जिल्ला इञ्चार्ज र अहिले नेकपा दाङका सह इन्चार्ज समेत रहेका चौधरीले चुनावको समयमा भने खरको छानो विस्थापित गर्ने नारालाई प्रमुख रूपमा उठाएका थिए।
निर्वाचन जितेपछि असारभित्रै सबै घरहरूमा खरको छाना विस्थापित गरेर जस्तापाता लगाइदिने उनले प्रतिवद्धता जनाएका थिए। तर, उक्त शिर्षकमा उनले हाल एक रुपैयाँ पनि छुट्याएका छैनन्।
चौधरी बाहेक दाङमा अन्य कुनैपनि प्रतिनिधिसभा सदस्यहरूले चर्चको लागि बजेट विनियोजन गरेका छैनन् ।