गोरक्ष समाचारदाता
तुलसीपुर, २५ मंसिर । मौसम बदलीसँगै जिल्लामा केही मात्रामा चिसो बढेको छ । बिहान बाक्लो हुस्सु लाग्ने गरेको छ । बुधवार दिन भर पनि जिल्लामा घाम लाग्न सकेको छैन् । न्यून चापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने भएको छ ।
दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भू–भागको मौसम अझै तीन दिन प्रभावित हुनेछ । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय, मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहने तर वर्षा भने नहुने बताए । यस्तै तराई क्षेत्रमा बिहान हुस्सु लाग्ने भएकाले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
सडकमा बाक्लो हुस्सुले सडक नै अँध्यारो हुने भएकाले दुर्घटना हुनसक्ने भन्दै यहाँका यातायात व्यवसायीहरुले सचेत भएर यातायातका साधनहरु सञ्चालन गर्न आग्रह गरेका छन् । त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले एक विज्ञप्ति प्रकाशित गरी यातायातका साधनमा गति सीमित गर्न र सचेत भएर यातायातका सधानहरु सञ्चालन गर्न आग्रह गरेका छन् ।
उनले अर्को समस्या चारलेन सडक निर्माणले गति नलिँदा सार्वजनिक यातायात सेवामा धेरै समस्या भएको विज्ञप्तिमा उल्लेख छ । ५ मिटर बाटोमा सवै सवारी साधन सञ्चालन हुँदा समस्या भएको भन्दै तत्काल चारलेन सडकको स्तरोन्नतिको पनि अपेक्षा गरेका छन् । दुर्घटना न्यूनीकरण गर्न सबैको दायित्व रहेको भन्दै सबै सचेत हुन जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवन बुढाथोकीले मौसम बदलीसँगै हुस्सु लाग्ने भएकाले सचेत भएर यातायातका साधनहरु सञ्चालन गर्न निर्देशन दिएको बताए । उनले गति सीमित गर्न तथा सडकमा हुस्सुसँगै सडक नदेखिने भएकाले सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै किसिमका सचेतना अपनाउन आग्रह समेत गरेको बताए ।
उनले डिलक्स गाडीहरुमा फोकस लाइटहरु समेत व्यवस्था गरेको बताए । ‘विशेषगरी पहिलो चरणमा डिलक्स बसहरुलाई फोकस लाइटहरु हाल्न र सचेत भएर सुरक्षित यात्रा गर्न भनेका छौं, सम्भावित दुर्घटना न्यूनीकरण रोक्ने हाम्रो प्रयास छ’, उनले भने । त्यस्तै अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिका प्रशासनिक संयोजक घनश्याम बस्नेतले पनि विगत बर्षहरुजस्तै यस बर्ष पनि हुस्सु लाग्न शुरु गरेको भन्दै सचेत भएर यातायातका साधनहरु सञ्चालन गर्न आग्रह गरेको बताए ।
उनले गाडीका लाइटहरु, सम्भावित दुर्घटना न्यूनीकरणका लागि सबै किसिमका सचेतनाहरु दिन शुरु गरेको बताए । ‘गत बर्ष पनि हामीहरुले सार्वजनिक सवारी साधन सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षाको बारेमा जानकारी दिएका थियौ, यस बर्ष पनि शुरु गरेका छौं’, उनले भने ।
स्वास्थ्य सुरक्षा पनि अपनाऊ
यसैबीच कोभिड–१९ को संक्रमण बढिरहेको भन्दै सार्वजनिक सवारी साधनमा पनि स्वास्थ्य सुरक्षाको परिपालना गर्न अपिल गरिएको छ । पछिल्लो समयमा केही समस्या देखिएकाले लामोे तथा छोटो दुरीका सवारी चालक, सहचालकहरुलाई अनिवार्यरुपमा स्वास्थ्य सुरक्षाको निर्देशन पालना गर्न आग्रह गरिएको छ । यातायात प्रालिहरुले कुनै पनि यात्रुले मास्क प्रयोग नगरी यात्रामा सवार हुने अवस्थामा सम्बन्धित गाडीधनीले गाडीमै मास्कको व्यवस्थापन गर्ने मास्क नलगाएका यात्रुहरुलाई मास्क किन्न लगाउने वातावरण गराउन अपिल गरिएको छ ।