अन्र्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस
अमरराज आचार्य
दाङ, २५ मंसिर । भ्रष्टाचारविरुद्ध सबैले आ–आफ्नो स्थानबाट आवाज उठाउनुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । भ्रष्टाचारविरुद्ध मौन बस्नाले भ्रष्टाचार बढ्दै जाने भएकाले यसका विरुद्ध आवाज उठाउनुपर्ने बताएका थिए ।
ग्रामीण महिला उत्थान केन्द्रले गरेको समृद्धिका लागि भ्रष्टाचार मुक्त शासन व्यवस्था नाराका साथ भ्रष्टाचारविरुद्ध नागरिक अभियान कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका थिए । कार्यक्रममा सहभागीहरुले पछिल्लो समय जनप्रतिनिधिहरु नै बढी भ्रष्टाचारमा संग्लन हुने गुनासो बढेको भन्दै यस्तो कार्य रोकिनुपर्ने बताएका थिए । जनताका प्रतिनिधिहरु नै यस्तो कार्यमा संलग्न हुनु राम्रो नभएको उनीहरुले भनाइ थियो ।
जनप्रतिनिधहरु सेवाभन्दा पनि आम्दानीतर्फ बढी केन्द्रित हुन थालेको वक्ताहरुको भनाइ थियो । उनीहरुले जनप्रतिनिधिहरुले आफ्नो सम्पत्ति विवरण हरेक वर्ष सार्वजनिक गर्नुपर्ने माग समेत गरे । कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले प्रत्येक वर्ष भ्रष्टाचार बढ्दै जानु राम्रो नभएको बताए ।
‘विभिन्न अध्ययनहरुले भ्रष्टाचार बढेको देखाएको छ, यस्तो हुनु भनेको राम्रो होइन’, संयोजक पन्तले भने– ‘भ्रष्टाचार बढ्दै जाँदा नागरिकमा निराशा थपिँदैछ ।’ नागरिकले बलियो सरकारसँग धेरै आशा गरे पनि त्यसो हुन नसकेको उनले बताए । ‘दुई तिहाई सरकारले सुशासन स्थापना गर्छ भनेर नागरिकले आशा गरेका थिए तर त्यो हुन सकेन’, पन्तले भने– ‘भ्रष्टाचार न्यूनीकरण गर्नका लागि नागरिकले दबाव सिर्जना गर्नुपर्ने समय आएको छ । नागरिकहरुले भ्रष्टाचारविरुद्धको दबाव अभियानलाई निरन्तरता दिनुपर्दछ ।’
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले माथिल्लो तहदेखि नै सुधार हुन आवश्यक रहेको बताए । ‘भ्रष्टाचारविरुद्ध मूुल सुधार गरेर अरु सुधारतर्फ लाग्नुपर्छ’, अध्यक्ष भुसालले भने । नागरिकहरुमा धेरै असन्तुष्टि रहेको भन्दै यसको समाधान गर्न राज्यले ध्यान दिनुपर्ने उनले बताए । जिल्ला बारका अध्यक्ष शिवप्रसाद घिमिरेले कानुनअनुसार सञ्चालन भएका भ्रष्टाचार न्यूनीकरण हुने बताए । ‘अहिले कानुनी शासन नभएर व्यक्तिगत शासन हुने गरेको छ’, घिमिरेले भने ।
अधिकारकर्मी हुमा डिसीले नीतिअनुसार सबै सञ्चालन हुनुपर्ने बताइन् । नीतिविपरीत कार्य गर्दा समस्या हुने गरेको उनको भनाइ छ । अधिवक्ता गोमा महराले सबै नागरिक जिम्मेवार हुनुपर्ने बताइन् । ‘सबै आ–आफ्नो स्थानबाट जिम्मेवार हुन आवश्यक छ’, महराले भनिन्– ‘भ्रष्टाचारविरुद्ध आवाज उठाउन आफैबाट शुरु गर्नुपर्छ ।’ थारु कल्याणकारिणीसभाका जिल्ला अध्यक्ष भुवन चौधरीले भ्रष्टाचारविरुद्ध शूक्ष्मरुपमा अध्ययन गरेर अगाडि बढ्नुपर्ने बताए । जिल्लामा सरोकारवालाहरु नयाँ योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
इन्सेकका कार्यक्रम संयोजक विनोद केसीले स्थानीय तहहरुले रकमको दुरुपयोग गर्न थालेको गुनासो बढेको बताए । नागरिकको आवश्यकता अनुसार योजनाहरुमा बजेट विनियोजन गरिनुपर्ने उनले बताए । कार्यक्रममा गैरसरकारी संस्था महासंघका खुसल घिमिरे, पत्रकार बसुन्धरा गौतम, रुपलाल चौधरी, ज्ञानु थापालगायतले भनाइ राखेका थिए ।
कार्यक्रमको विषयवस्तुबारे ग्रामीण महिला उत्थान केन्द्रका कार्यक्रम संयोजक नविन चौधरीले जानकारी गराएका थिए । कार्यक्रम केन्द्रका अध्यक्ष आशमानी चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण केन्द्रका पैरवी अधिकृत रजनी श्रेष्ठले गरेकी थिइन् ।