राज्यले अभिभाकको भूमिका निर्वाह गरेन : उपाध्यक्ष खडका

गोरक्ष समाचारदाता
दाङ, २२ मंसिर । सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय उपाध्यक्ष भीमप्रकास खड्काले राज्यले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको बताएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ दाङको आयोजना तथा हरियो वन कार्यक्रमको सहयोगमा आइतवार घोराहीमा आयोजना गरेको लैंगिक हिंसाविरुद्धको १६ दिवसीय अभियानअन्र्तगत अन्तत्र्रिmया कार्यक्रममा उनले यस्तो बताएका हुन् । राज्यले स्थानीयस्तरसम्म सचेतना जगाउनका लागि कुनै पनि योजना ल्याउन नसकेको उनको आरोप रहेको छ ।

हिंसा न्यूनीकरणका लागि सचेतना आवश्यक पर्ने भए पनि राज्यले त्यसतर्फ ध्यान नदिएको उनको भनाइ रहेको छ । ‘हिंसा न्यूनीकरणका लागि सचेतना आवश्यक छ तर राज्यसँग कुनै योेजना छैन’, खड्काले भने । राज्यले नागरिकको अभिभावकको जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ रहेको छ ।

त्यसैले विभिन्न संघसंस्थाहरुले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनले बताए । सामुदायिक वन वनहरुले पनि आफ्नो कार्ययोजनामार्फत आफूले गरेको आम्दानीको केही रकम सचेतनामूलक कार्यक्रममा लगाउन उनले आग्रह गरे ।

सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष तिलकराम भण्डारीले देशमा विभिन्न हिंसा बढ्दै गएको बताए । सरकारले हिंसाका पीडकलाई कारबाही गर्न नसकेको उनको आरोप रहेको छ । ‘नागरिकले हिंसा मुक्तको अपेक्षा गरे पनि त्यो हुन सकेको छैन’, भण्डारीले भने । राज्यले हिंसा किन बढ्दै गएको छ भनेर खोजी गर्नुपर्ने उनको भनाइ रहेको छ । समस्यालाई पत्ता लगाएर समस्याको समाधान गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।

डिभिजन वन कार्यालय दाङका प्रमुख विजयराज सुवेदीले सचेतनाले समाजमा परिवर्तन हुने बताए । यसका लागि सबै मिलेर सचेतना जगाउनुपर्ने उनको भनाइ रहेको छ । कतियप संस्कार संस्कृतिले पनि प्रभाव पार्ने भएकाले यसलाई विस्तारै परिवर्तन गर्नुपर्ने बताए । समाज परिवर्तन तत्काल नहुने भन्दै विस्तारै परिवर्तन हुने उनी बताउँछन् । यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए ।

कार्यक्रममा राजपुर गाउँपालिका वन महासंघका सदस्य रामप्रसाद यादव, तुलसीपुर उपमहानगरपालिका स्थानीय महासंघका उपाध्यक्ष द्रोणबहादुर खत्री, बबई गाउँपालिका स्थानीय महासंघका अध्यक्ष मोहनलाल थापा, दंगीशरण गाउँपालिका स्थानीय महासंघका अध्यक्ष शोभाकर न्यौपाने, घोराही उपमहानगरपालिका स्थानीय महासंघका अध्यक्ष कर्णबहादुर बुढाथोकी, सीता डाँगीलगायतले हिंसा न्यूनीकरणको लागि आफूबाट शुरु गर्नुपर्ने बताएका थिए ।

वन समूहहरुले पनि आफ्नो स्थानमा सचेतनामूलक कार्यक्रमलाई अगाडि बढाइरहेको उनीहरुको भनाइ रहेको थियो । कार्यक्रममा अन्तरपार्टी महिला सञ्जालका जिल्ला अध्यक्ष सुशीला पौैडेलले आधारपत्र प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रम वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीको अध्यक्षतामा भएको थियो । महासंघका जिल्ला कोषाध्यक्ष कमलराज पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासंघका जिल्ला सचिव जानका केसीले गरेकी थिइन् ।