लिलाधर वली
दाङ, १६ मंसिर । आधारभूत स्वास्थ्य सेवा जनताको पहुँजमा पु¥याउने उद्देश्यले जिल्लाका ६ वटा स्थानीय तहमा १५ शैयाका अस्पताल निर्माण हुने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमवार देशभर एकै दिन ३ सय ९३ वटा १५ शैयाको अस्पताल शिलान्यास गर्ने कार्यक्रमअन्तर्गत जिल्लाका स्थानीय तहमा अस्पतालको शिलान्यास गरिएको हो । राप्ती गाउँपालिकाको सिसहनियाँ, दंगीशरण गाउँपालिकामा बागर, बबई गाउँपालिकाको हंशपुर, शान्तिनगर गाउँपालिकाको सिमसुन्दरपुर र बंगलाचुली गाउँपालिकाको कमिरेचौरमा अस्पताल बन्ने स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले बताए ।
त्यसैगरेर घोराही उपमहानगरपालिका–४ को भकारेमा शनिवार नै अस्पतालको शिलान्यास गरिएको थियो । ‘संघीय सरकारको देशभर ३ सय ९६ अस्पतालहरु शिलन्यास गर्ने कार्यक्रमअन्तर्गत दाङका ६ पालिकामा ६ वटा अस्पतालहरु शिलान्यास गर्ने कार्यक्रम रहेको थियो’, कार्यालय प्रमुख शाहीले भने– ‘तर घोराहीमा यसअघि नै अस्पतालको शिलान्यास भैसकेको छ ।’ घोराही उपमहानगरपालिका–४ भकारेमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गत शनिवार अस्पतालको शिलान्यास गरेका थिए ।
दुई बर्षभित्र अस्पतालको भौतिक संरचना निर्माणको काम सक्ने गरी निर्माणको काम अघि बढाउनका लागि सरकारले हरेक स्थानीय तहहरुलाई रकम समेत पठाइरहेको छ । त्यही अनुसार अस्पतालको जग्गा छनोटसँगै डिपिआर, नक्सालगायतको काम गरेर अस्पाल निर्माण गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै अस्पतालहरु एउटै डिजाइनका हुनेछन् ।
अस्पतालहरु दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ । अस्पताल निर्माणका लागि यो वर्ष ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ बजेट निकासा गरिसकिएको छ । १५ शैयाको अस्पतालहरुमा तीन मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ । सरकारको नीति तथा कार्यक्रममा सबै स्थानीय तहहरुमा ५ देखि १५ शैयाका अस्पताल बनाउने योजना रहेको छ । हाल कुल ७ सय ५३ स्थानीय तहहरुमध्ये १ सय ४ वटामात्र मात्रै बिभिन्न तहका अस्पताल छन् ।
दंगीशरणमा १५ शैयाको अस्पताल
दंगीशरण गाउँपालिका वडा नं. ६ बागरमा १५ शैयाको अस्पताल शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले अस्पतालको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै माननीय केसीले पश्चिमबासीको चाहनाअनुरुप स्वास्थ्य अस्पताल बन्न लागेको भन्दै यहाँका जनताको चाहना पूरा हुने बताए ।
‘सरकारी अस्पताल सुविधा सम्पन्न बनाउने नीतिअनुरुप दुई बर्षको अवधिमा यो अस्पतालको निर्माण कार्य सम्पन्न हुने र स्वास्थ्य जाँचका लागि बाहिर जाने बाध्यता हटेर जानेछ’, उनले भने । सो अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य धमकली चौधरीले लामो समयदेखि प्रभावकारी स्वास्थ्य सेवाबाट बञ्चित रहेका दंगीशरणबासीहरु अब यो समस्यामुक्त हुने दिन आएको बताइन् । सरकारले ल्याएको यो नीति पश्चिमका जनताका लागि खुसीको कुरा भएको भन्दै विकास निर्माणमा सबै लाग्न जरुरी रहेको बताइन् ।
गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले विगतका दिनमा स्वास्थ्य जाँचका लागि बाहिर जिल्ला धाउनुपर्ने बाध्यता हटेको बताए । उपाध्यक्ष पिमाकुमारी खड्काले यो कार्यले जनतासँग गरिएका प्रतिबद्धता पूरा भएको बताइन् । बागर स्वास्थ्य चौकीका प्रमुख डा. रविन गौतम, दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, प्रबक्ता बीरबहादुर वली, वडा नं.४ का वडाध्यक्ष नेवबहादुर कवँर, ५ नं. वडाध्यक्ष दीपक गौतम, ६ नं. वडाध्यक्ष टंकबहादुर वली, हेकुली स्वास्थ्य चौकी प्रमुख टेकबहादुर खत्री, गोल्टाकुरी स्वास्थ्य प्रमुख राजेन्द्रकुमार हमाललगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण दंगीशरण गाउँपालिकाका विपद् ब्यवस्थापन शाखा प्रमुख बालकृष्ण भण्डारीले गरेका थिए ।
राप्तीको सिसहनिया“मा अस्पताल शिलान्यास
राप्ती गाउँपालिकाको सिसहनियाँमा सोमवार १५ शैयाको अस्पतालको भवन शिलान्यास गरिएको छ । सिसहनियाँ स्वास्थ्य चौकी नजिकै सार्वजनिक जग्गामा १५ शैयाको आधारभूत अस्पताल निर्माणका भवनको शिलान्यास गरिएको हो । अस्पताल भवनको शिलान्यास प्रतिनिधिसभा सदस्य गंगा चौधरीले गरेकी थिइन् । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको स्वागत मन्तब्य तथा बैदिक मन्त्रोच्चारण गरेका थिए ।
भवनका लागि आवश्यक पर्ने जग्गाको रुपमा हाललाई स्थानीय नागरिकको सहयोग तथा सरोकारवालाहरुको सहयोगमा करिब १३ कट्ठा सार्वजनिक जग्गा उपलब्ध गराइएको र थप जग्गाको लागिसमेत पहल गरिने वडा नं. ५ का अध्यक्ष गोवद्र्धन रावतले बताए । १५ शैयाको आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिएको छ । भवन निर्माणका लागि स्थानीय पालिकालाई आंशिक बजेट पठाइसकेकाले तत्काल भवनको लागत ईष्टिमेट, डिपिआर तथा सोयल टेस्टको काम अघि बढाइने गाउँपालिकाका ईन्जिनियर अशोक बेल्वासेले बताए ।
शान्तिनगरको सिमसुन्दुरमा अस्पताल शिलान्यास
शान्तिनगरगाउँपालिकाको वडा नं. २ सिमसुन्दरपुरमा १५ शैयाको अस्पताल भवन शिलान्यास गरिएको छ । अस्पतालको शिलान्यास गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले गरेका हुन् । अस्पताल निर्माणसँगै नागरिकलाई स्वास्थ्य सेवा दिन सहज हुने उनले विश्वास गरे । ग्रामीण क्षेत्रका जनतालाई आधारभूत स्वास्थ्य सेवा दिन सहज हुनेछ’ अध्यक्ष डाँगीले भने ।
हंशपुरमा १५ शैयाको अस्पताल
बबई गाउँपालिकाको हंशपुरमा १५ शैयाको पुरन्धारा आधारभूत अस्पतालको शिलान्यास गरिएको छ । अस्पतालको लुम्बिनी प्रदेशसभाका सदस्य बिमला वलीले शिलान्यास गरेकी हुन् । अस्पतालको शिलान्यास गर्दै वलीले देशमा तीन तहका सरकारले बिकास निर्माणलाई प्राथमिकता दिएको बताएकी थिइन् ।
उनले सबैले सरकारको आलोचना गर्ने भन्दै प्रदेशसभा सदस्य वलीले स्वास्थ्य, शिक्षा, रोजगारी र भौतिक पूर्बाधारको निर्माण कार्यलाई प्राथमिकता दिएको बताइन् । कार्यक्रममा पालिका अध्यक्ष भुबनेश्वर पौडेलले बबईमा तीनवटा अस्पताल निर्माण हुन लागेको जानकारी दिए । हापुरे क्षेत्रमा प्रदेश सरकारको सहयोगमा मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पताल निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिए ।
यस्तै प्रदेश सरकारको तर्फबाट पञ्चकुले क्षेत्रमा आयुर्वेद अस्पताल सञ्चालनको तयारीमा रहेको जानकारी दिएका थिए । कार्यक्रममा उपाध्यक्ष साबित्रा बिकले स्थानीय पालिकाले प्रभाबकारी रुपमा काम गरिरहेको बताइन् । वैदिक विधिमार्फत भवनको शिलान्यास गरिएको थियो । बबई–३ का वडाअध्यक्ष नन्दलाल वलीको अध्यक्षतामा भबनको शिलान्यास गरिएको थियो ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनलाल दाहाल, नेकपाका बबई अध्यक्ष डिल्लीबहादुर बुढाथोकी, नेपाली कांग्रेसका सचिब धनसिंह केसीले बोलेका थिए । शाखा प्रमुख हेमराज वलीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण उपप्रमुख शरदराज गिरीले गरेका थिए ।