बालाराम खड्का
तुलसीपुर, १४ मंसिर । सरकारले कोभिड–१९ को संक्रमण रोक्न विभिन्न स्वास्थ्य सुरक्षाका मापदण्डहरु बनाएको छ । यातायात, विद्यालय, अस्पताल, सार्वजनिक स्थललगायतका स्थानमा बेग्लाबेग्लै तर स्वास्थ्य सुरक्षा र सतर्कतामा भने कसैले पनि ध्यान दिएका छैनन् । चाहे त्यो यातायात क्षेत्र होस् वा सरकारी कार्यालयमा ।
केही दिन अघि तुलसीपुरदेखि वीरगञ्ज जाने गाडीमा यात्रुहरु खचाखच थिए । न त्यहाँ सेनिटाइजरको व्यवस्था थियो न त मास्क । यात्रुहरु पनि केहीले मास्क प्रयोग गरेका थिए भने केही थिएनन् । घोराहीबाट बुटवलको लागि गाडीमा चढेकी एक यात्रुले मास्क आफूले घरमै छाडेको भन्दै गाडीका स्टापसँग मागिन् तर गाडीमा त्यसको व्यवस्था थिएन ।
स्वयम् सहचालक तथा चालकहरुले नै मास्क लगाएका थिएनन् । कोभिड–१९ को संक्रमणका कारण दिनहु ज्यान गुमाउनेहरुको संख्यामा बृद्धि हुँदा समेत स्वास्थ्य सुरक्षामा कसैले पनि ध्यान दिने गरेका छैनन् । त्यस्तै बुटवलको एक अस्पतालमा पनि हात धुने स्थानमा पानी नै थिएन् ।
‘अस्पतालमै छैन स्वास्थ्य सतर्कता, अन्य स्थानमा के हुने ? धारामा पानी आउँदैन, न त साबुन छ’– दाङको देउखुरीबाट उपचारका लागि त्यहाँ पुगेको जुगलाल चौधरीले भने । उनले टाढाबाट बसका चढेर आएकाले साबुन–पानीले हात धुने भने पनि सो नभएको सुनाए । उनी जस्तै सबैको स्वास्थ्य सुरक्षाप्रति सम्बन्धित निकायहरु जिम्मेवार हुन नसकेको नागरिक बताउँछन् ।
त्यस्तै स्वयम् नागरिक पनि सजक हुनुपर्नेमा सो हुन नसकेको बताएको छ । ‘मास्क लगाउन सुरक्षाकर्मीले भन्नुपर्छ, आप्mनो सुुरक्षा आफै गर्नुपर्ने नागरि पनि स्वास्थ्य सुरक्षामा सजक छैनन्’ –स्थानीय माधव केसीले भने । त्यस्तै भीडभाडमा जाँदा तथा पसल, यातायात, तथा सार्वजनिक स्थानमा धेरैजसोले मास्क नै प्रयोग नगरेको भन्दै कोभिड–१९ को संक्रमण झन फैलने विज्ञहरु बताउँछन् ।
त्यस्तै कोभिड–१९ को संक्रमणसँगै भीडभाड नगर्ने तथा एक ठाउँबाट अर्को स्थानमा मानिसहरु काम विशेष वाहेक कतै नजाने भने पनि विभिन्न धार्मिक तथा अन्य गतिविधिहरु भने भइरहेका छन् । चाहे त्यो पार्टीका कार्यक्रम हुन् वा विवाह, पूजा तथा अन्य कार्यक्रमहरु । ‘विवाहमा एक ठाउँका व्यक्तिहरु अर्को ठाउँमा आउनुभएको छ, कसैले पनि मास्क लाउनुहुन्न, यसले जोखिम झन बढाएको छ’–स्थानीय रामबहादुर वलीले भने । उनले आफूले मास्क लगाए पनि धेरैजसोले नलगाएको र स्वास्थ्य सुरक्षाप्रति गम्भीर नभएको सुनाए ।
त्यस्तै सरकारी कार्यालयमा पनि सामाजिक दूरी कायम हुन नसेकाले कोभिड–१९ को संक्रमण झनै फैलिएको नागरिक बताउँछन् । ‘कोभिड–१९ लाई सामान्य रुपमा सबैले लिएका छन् तर यसलाई हेलचक्राई गर्नु र स्वास्थ्य सुरक्षाप्रति गम्भीर नहुनुले ठूलो जोखिम निम्त्याउँछ’–स्थानीय चन्द्रमाया वलीले भनिन् । त्यस्तै बजारमा पनि भीडभाड बढिरहेको छ । सामाजिक दूरी केही कतै पनि कायम भएको देखिँदैन ।
यसैबीच पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप एक हजार ३ सय ८० जना कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ५ सय १५ जना संक्रमित कोरोनामुक्त भएका छन् । अहिले देशैभर एक हजार ८३ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।