दाङ, १४ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर पोख्रेलले पार्टीमा देखिएको विवाद संवादको माध्यमबाट समाधान गरिने बताएका छन् ।
उनले पार्टीभित्रको विद्यमान समस्यालाई छलफल मार्फत् समाधान गरिने र पार्टी फुट्न नदिने समेत विश्वास दिलाए । ‘विशेष गरेर विगतमा ९÷१० महिनामा सरकार परिवर्तन हुने गरेका थिए । यो पटक लामो समय सरकार चलेपछि सरकार परिवर्तन गर्न बानी परेका मानिसलाई चिन्ता भएको हो’ घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुरको भकारेमा १५ शैय्याको अस्पताल भवनको शिलान्यश गर्दै मुख्यमन्त्री पोख्रेलले भने ‘पार्टीभित्रको समस्या संवादमार्फत् नै समधान गरिने र त्यो अनुसार नेतृत्वबाट काम हुने छ ।’
मुख्यमन्त्री पोख्रेलले सरकारसँग जनताको अपेक्षा धेरै भएको र त्यो पूरा गर्दै जाने समेत बताए । ‘जहाँ समस्या छ, त्यहाँ सरकार छ’–मुख्यमन्त्री पोख्रेलले भने ‘त्यसको लागि योजना बनाएर सरकारले काम गरिराखेको छ ।’ मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारले योजना बनाएर विकास निर्माणको काम गरिरहेको बताए । ‘खानेपानी, स्वास्थ्य, सडक वा अन्य क्षेत्रमा सरकारले योजना बनाएर काम थालेको छ’ मुख्यमन्त्री पोख्रेलले भने–‘हिजोको शासकले भाषण गरे, हामीले काम गरेका छौ ।’
उनले घोराही क्षेत्रको खानेपानीको लागि वास प्लान बनाएर काम गरिरहेको भन्दै अब प्रत्येकका घरमा खानेपानीका धारा पुग्ने समेत बताए । ‘पानीको लागि अब टाढा जानु पर्दैन, घर–घरमा प्रदेश सरकाले खानेपानी पुराउने छ’–मुख्यमन्त्री पोख्रेलले भने । उनले सडकतर्फ पनि जिल्लामा धेरै काम अघि बढिरहेको बताए । कुइरेपानी तुलसीपुर फोरलेन सडक, सतबरिया तुलसीपुर सडक, मुलाबारीबाट प्यूठान जोड्ने सडक, घोराही रामपुर सडकमा काम भइराखेको समेत बताए ।
‘विकास निर्माणको काम तीव्र गतिमा अघि बढको छ’ उनले भने ‘अबको केही समयमा त्यसको रिजल्ट आउने छ ।’ मुख्यमन्त्री पोख्रेलले मुलाबारीबाट प्रदेश राजधानी भालुवाङ जोड्ने सडक र बंगलाचुलीबाट सिमेन्ट उद्योगमा सिधै आउने सडक निर्माणको लागि प्रक्रिया समेत अघि बढेको बताए । अस्पताल निर्माणसँगै आधारभूत स्वास्थ्य सेवा पूरा गर्न सकिने समेत उनले बताए । ‘अस्पतालसँगै अब यो क्षेत्रमा सडक र अन्य पूर्वाधारको पनि विकास हुन्छ’ उनले भने ‘त्यसको लागि स्थानीय सकार र प्रदेश सरकार तयार छ ।’
अस्पताल निर्माणको लागि प्रदेश सरकारले समेत एक करोड रुपैयाँ दिने मुख्यमन्त्री पोख्रेलले प्रतिबद्धता जनाए । भवन शिलान्याश कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद अमरबहादुर डाँगीले जनताको मौलिक अधिकारको रुपमा रहेको स्वास्थ्य सेवा सुनिश्चित गर्नको लागि सरकार तयार रहेको बताए ।
उनले उद्योगबाट उत्पादित प्रदूषण रोक्नको लागि रचनात्मक दबाब आवश्यक भएको समेत बताए । कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख सीता न्यौपाने, सुकुम्बासी समधान आयोगका लुम्बिनी प्रदेश संयोजक शोभाराम बस्नेत, नेकपा वडा कमिटी अध्यक्ष मुनाल घिमिरेलगायतले मन्तव्य राखेका थिए । वडाध्यक्ष भीमबहादुर सार्कीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले गरेका थिए ।
यसैबीच भवन शिलान्याशसँगै डिपिआरको काम अघि बढ्ने उपमहानगरपालिकाले जनाएको छ । २ वर्षभित्र अस्पताल भवनको काम सम्पन्न गर्ने योजना छ । संघीय सरकारले अस्पताल भवनको लागि ७० लाख रुपैयाँ विनियोजन गरेको छ । सो अस्पताललाई नगर स्तरीय र त्यही अनुसारको सेवा सुविधा दिने गरेर संरचना निर्माण गर्ने सोचमा उपमहानगर छ । संघीय सरकारले जिल्लाका ६ वटा पालिकामा १५ शैय्याको अस्पताल बनाउने भएको छ ।