आँखा अस्पताल जाने बाटो कहिले बन्छ ?

बालाराम खड्का
तुलसीपुर, १३ मंसिर । तुलसीपुरका अन्य भित्री सडक तथा विभिन्न वडामा जाने बाटाहरु कालोपत्रे भइसकेका छन् । कुनै सडकहरु कालोपत्रेका लागि बजेट परेको छ कुनै सम्पन्न भएका छन् । तर सल्यान रोडदेखि राप्ती आँखा अस्पतालसम्म पुग्ने सडक धरापमा छ ।

सडक स्तरोन्नति नहुँदा वर्षातमा हिलो तथा खाल्डाखुल्डी र हिउँदमा धुलोका कारण यातायातका साधनदेखि यात्रामा कठिनाई हुने गरेको छ । कालोपत्रे सडक उत्रिएर बाटैभरि खाल्डैखाल्डाहरु छन् । करिब ६ सय मिटर बाटोमा यात्रा गर्ने यात्रुहरुले सास्ती व्यहोर्दै आएका छन् । सो सडक हुँदै मुख्यमन्त्रीदेखि विभिन्न दलका उच्च व्यक्तिले यात्रा गर्ने गरेका छन् ।

सत्तासीन दल तथा प्र्रतिपक्षका नेताहरु समेत यहीँ बाटो नहिडेका होइनन् । तर सो बाटोले सबैलाई गिज्याइरहेको छ । नेताहरु अस्पताल पुग्नुअघि नै अन्धोको अनुभूति गरेजस्तै अवस्था रहेको छ । सडक मर्मत तथा सडकको स्तरोन्नतिका लागि भने पहल कसैको पनि छैन । राप्ती आँखा अस्पतालमा उपचार गर्न आउने सबैको एउटै प्रश्न हुन्छ यो बाटो कहिले बन्छ ? बत्तीमुनिको अँध्यारोजस्तै भएको छ सो सडक स्तरोन्नतिको काम ।

‘ठूला दलका नेताहरु पनि यही बाटो हिँड्नुहुन्छ, उपमहानगरपालिकाका नगरप्रमुख पनि यही बाटोबाट सधै ओहोर दोहर गर्नुहुछ किन यस्तो छ यो बाटो ?’, स्थानीय पालिकाका एक कर्मचारीले प्रश्न गरे । ‘पैसा पनि नभएको होइन्, बाटोको हालत पनि नदेखेको होइन किन यस्तो भइरहेको छ ?’ उनले प्रतिप्रश्न गरे । त्यस्तै आँखा अस्पतालमा आँखाको उपचार गर्न आउने वृद्धवृद्धादेखि सबैलाई निकै सास्ती हुने गरेको सेवाग्राही शिवकुमार पुनले भने ।

‘यति ठूलो अस्पताल छ, सेवा दिन दैनिक सयौ व्यक्तिहरु यही बाटो भएर आउनुपर्ने समस्या छ, बाटोको हालत यस्तो अवस्थामा छ’, उनले भने । यसमा पहल गर्ने कोही नभएर हो कि इच्छा शक्ति नभएर हो ?’ उनको प्रश्न थियो । दैनिक साना–ठूला गरी दर्जनौं यातायात साधन सञ्चालन हुने सो सडकमा हाल धुलो उडेर हिँड्न नसक्ने अवस्था हुने गरेको छ । त्यसका साथै आँखाको शल्यक्रिया गरी जानेहरुलाई समेत समस्या हुने गरेको छ ।

‘आँखाको शल्यक्रिया गरेपछि धुँवा धुलोबाट बच्नु, आँखा नचलाउनु भन्नुहुन्छ, बाटोको हालत यस्तो छ’, आमाको आँखाको शल्यक्रिया गरी फ्लोअपका लागि आउँदै गरेकी सीता केसीले भनिन् । उनीजस्तै सयौ उपचारका लागि दाङलगायत रोल्पा, रुकुम, सल्यानलगायतका जिल्लाबाट आउने नागरिहरुको एउटै प्रश्न छ– ‘यो बाटो किन यस्तो छ ?’

‘तुलसीपुर उपमहानगरपालिको नजिकको वडा, त्यसमा पनि यस क्षेत्रकै ठूलो अस्पताल त्यहाँसम्म पुग्ने बाटोको अवस्था यस्तो यसले सबैलाई गिज्याएको छ’, स्थानीयहरु बताउँछन् । सडक जीर्ण बन्दा दुर्घटनाको जोखिमसमेत बढेको छ ।

यसैबीच घोराही आँखा अस्पताल सडकखण्डको स्तरोन्नतिका लागि भने बजेट आएको र सोहीअनुसार तुलसीपुर उपमहानगरपालिकाले भने सो सडकखण्डका लागि आइइको लागि शिलबन्दी प्रस्ताव माग गरेको छ । सो सम्पन्न भएसँगै सडकको स्तरोन्नति हुन्छ कि भने आशामा स्थानीयहरु छन् ।

फाइल तस्वीर