राप्ती पिस पार्कमा दी जंगल रेष्ट्रो

तुलसीपुर, १३ मंसिर । रेष्ट्रोको गेटमै लेखिएको छ, फिल दी जंगल । भित्र छिर्नेवित्तिकै जंगली जनावरका चित्रहरु भित्ताभरी सजाइएका छन् । जंगलमै पाइने रुखहरुका चित्र कोरिएका छन् । सफा र सुन्दर एवं शान्त माहोलबीच तुलसीपुर उपमहानगरपालिका–७ राप्ती शान्तिपार्क प्रवेशद्वार नजिकै दी जंगल रेष्ट्रो विधिवतरुपमा सञ्चालनमा आएको छ ।

तुलसीपुर उपमहानगरपालिका–७ का वडाध्यक्ष टोपबहादुर केसीले शुक्रवार सो रेष्ट्रोको विधिवतरुपमा शुभारम्भ गरे । विदेशमा पसिना बगाएर भन्दा स्वदेशमै आफ्नै ठाउँमा केही गरेर देखाउने भन्दै स्थानीय तीनजना युवाहरु मिलेर सो रेष्ट्रो सञ्चालनमा ल्याएका छन् । कोभिड–१९ को संक्रमणबीच पनि स्वदेशमै विशेष स्वास्थ्य सावधानी अपनाएर केही व्यवसाय त गर्नैपर्यो भन्ने सोचका साथ यसमा लगानी गरेको सञ्चालक प्रभात भण्डारीले बताए ।

शान्त, एकान्त एवं जंगलको बीचमै बसेर मनोरम दृश्यका साथ समय विताएको अनुभूति दिनका लागि सो रेष्ट्रोको परिकल्पना गरी काम शुरु भएको अर्का सञ्चालक अमर रिजालले बताएका छन् । रेष्ट्रो छिर्नेवित्तिकै पानीका फोहराले पाहुनाको स्वागत गरिरहेका छन् । मनोरम बगैचा निर्माणको डिजाइन अनुसार काम शुरु भइसकेको छ । पारिवारिक जमघटका लागि भिन्नाभिन्नै कटेजहरु निर्माण गरिएका छन् ।

सामान्य पार्टीका लागि भिन्नाभिन्नै क्याविन तथा सामूहिक मनोरञ्जनका लागि साना हलसमेत त्यहाँ व्यवस्था गरिएको छ । ‘हामीले पूर्ण स्वस्थकर हाइजेनिक फुडलाई विशेष महत्व दिएका छौं, स्थानीय उत्पादनको स्वाद पनि हाम्रो मुख्य मेनुमा पर्दछ’, अर्का सञ्चालक प्रकाश भण्डारीले भने ।

पार्कको बाहिरपट्टि कम्तीमा २ कठ्ठा जग्गा दश बर्षका लागि लिजमा लिएर ती युवाहरुले यो व्यवसाय शुरु गरेका हुन् । तीनैजना लगानीकर्ता स्थानीय हुन् । बार्षिक १ लाख २० हजार रुपैयाँ जग्गाको भाडा तिर्नेगरी सञ्चालनमा आएको सो रेष्ट्रोमा हालसम्म करिब ५५ लाख रुपैयाँ लगानी भएको सञ्चालकले बताएका छन् । आवश्यकता अनुसार लगानी बढाउँदै सेवा विस्तार गर्ने योजना रहेको पनि उनीहरुको भनाइ थियो ।

त्यहाँ पारखीहरुका लागि पिजा, सिजलर, पिस्तालगायत स्थानीय कालिजदेखि आयातित टर्कीका परिकारहरु समेत पाहुनाहरुलाई उपलव्ध गराइने बताइएको छ । पाहुनाहरुका सवारी साधनहरुका लागि सुरक्षित पार्किङको समेत व्यवस्थापन गरिएको सो रेष्ट्रोमा स्वदेशी तथा विदेशी पेयपदार्थ समेत उपलव्ध हुने सञ्चालकले बताएका छन् ।

सञ्चालक सदस्य अमर रिजालको अध्यक्षता, वडाध्यक्ष केसीको प्रमुख आतिथ्य, तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य हेमराज गौतमको विशिष्ट आतिथ्यमा भएको उद्घाटन कार्यक्रमको सहजीकरण बसन्त पौडेलले गरेका थिए । स्वागत मन्तव्य प्रभात भण्डारीले व्यक्त गरेका थिए ।