दाङ,१२ मंसिर । घोराही उप महानगरपालिकालाई सन् २०२२ सम्म लैङ्गिक हिंसामुक्त बनाउने योजना बनाएको छ । त्यसका विभिन्न कार्यक्रमहरु समेत सञ्चालन भइरहेको घोराही उपमहानगरपालिकाले जनाएको छ । लैङ्गिक हिंसा निवारण अभियान गत आर्थिक वर्षबाट सञ्चालन गरे पनि कोरोनाको कारण धेरै कार्यक्रमहरु सञ्चालन हुन नसकेको घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतीकुमार विश्वकर्माले जानकारी दिइन् ।
उनका अनुसार हालसम्म बेवारिसे सडक मानवमुक्त नगर घोषणा, संरक्षण क्षेत्र विषयगत समितिको गठन, लैङ्गिक हिंसा निवारण नगरस्तरीय समिति गठन, बालश्रम तथा बालबालिका संरक्षण कार्यक्रम, लैङ्गिक हिंसा निवारणका लागि वडास्तरमा समिति गठन तथा अभिमुखीकरण, टोल विकास संस्थाका पदाधिकारीहरुलाई अभिमुखीकरण, नगरस्तरीय किशोरी सञ्जाल गठन गरी बैठक बस्ने, बालबालिकाहरुलाई नेतृत्व विकास तालिम प्रदान गरिएको छ ।
त्यसैगरेर विभिन्न संस्थाहरुलाई सहयोग, अभियान तथा दिवसहरुमा कार्यक्रम, किशोर किशोरी सूचना परामर्श, सञ्चालन, बालकोष स्थापनालगायतका कारण कार्य भइसकेको प्रमुख विश्वकर्माले जानकारी दिइन् । अभियानलाई तीव्रता दिनका लागि टोल–टोलमा पुगेर माइकिङ गरिने, प्रचार–प्रसार गरिने उनको भनाइ रहेको छ ।
हालसम्म अभियान सञ्चालन गर्दा कोभिडका कारण सबै कार्यक्रम हुन नसकेको, बेवारिसे मानवको व्यवस्थापन गर्न आफ्नो नगरमा उपयुक्त स्थान नभएको कारण व्यवस्थापनमा समस्या रहेको विश्वकर्माले बताइन् । त्यसैगरेर लैङ्गिक हिंसा बाहेकका महिला बालबालिकालाई लैङ्गिक हिंसा प्रभावित आपतकालीन महिला सेवा केन्द्रमा राख्नुपर्ने हँुदा मापदण्डविपरीत हुनुका साथै लैङ्गिक हिंसा प्रभावित महिलाहरुको गोपनीयता तथा संवेदशीलतामा समेत समस्या आएको, नीति र मादण्डमा आधारित नरही बनाइएका केही कार्यक्रम कार्यान्वयनमा समेत समस्या भएको उनले बताइन् । शाखा तथा महाशाखासँग समन्वयमा कमी हुँदा काम गर्दा आ–आफ्नै ढंगबाट काम भइरहेको विश्वकर्माको भनाइ रहेको छ ।
यसैबीच घोराही उपमहानगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा अन्तत्र्रिmया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले हिंसा अन्त्यका लागि सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्नु पर्ने सहभागीहरुको भनाइ रहेको थियो । उनीहरुले पछिल्लो समयमा सबै क्षेत्रको सहयोगमा विभिन्न सचेतनामूलक कार्यहरु गरेकाले लैङ्गिक हिंसाका घटनाहरु कमी हुँदै गएको बताएका थिए । कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता सिग्देल न्यौपानेले घोराही उपमहानगरपालिकाले वर्षभरी नै लैङ्गिक हिंसा निवारणका लागि कार्य गरिने बताइन् । ‘१६ दिन मात्र नभई वर्षभरी नै सचेतनामूलक कार्यक्रम आयोजना गरिने’, उनले भनिन् । सबै क्षेत्रको समन्वयमा उपमहानगरपालिकाले आफ्नो अभियान सञ्चालन गर्ने बताइन् । यसमा सबैको सहयोग रहने समेत उनको भनाइ रहेको छ । सोचमा परिवर्तन हुन नसक्दासम्म हिंसा घट्न नसक्ने न्यौपानेले बताइन् । यसका लागि सचेतना हुन जरुरी रहेको उनले बताइन् ।
नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनले सञ्चार माध्यमहरुले उपमहानगरपालिकाले थालेको अभियानमा सहकार्य गरेर अगाडि बढ्ने बताए । सामाजिक अभियानमा सञ्चार क्षेत्र सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उनको भनाइ रहेको छ । नयाँ युगवोध दैनिकका सम्पादक लक्ष्मी आचार्यले पीडितमैत्री वातावरण निर्माण गर्नुपर्ने बताइन् । सबैले आफ्नो कार्यशैली परिवर्तन गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ रहेको थियो । कार्यक्रममा घोराही उपमहानगरपालिका सामाजिक विकास शाखा संयोजक पशुपति चौधरीलगायतले भनाइ राखेका थिए । त्यस अवसरमा ग्रामीण महिला उत्थान केन्द्रका नविन चौधरी, ओरेक नेपालका विन्दु शर्मा, जिल्ला प्रहरी कार्यालय दाङ महिला बालवालिका तथा जेष्ठ नागरिक केन्द्रका कृष्णदत्त जोशी र सेभहाउस सञ्चालक हुमा डिसीले आफूहरुले गरेका कार्यका बारेमा जानकारी दिएका थिए । घोराही उपमहानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतिकुमार विश्वकर्माले गरेकी थिइन् ।