सफल हुनका लागि चाहिने महत्वपूर्ण तीन शक्ति

सुप्रिया माँ

सफल कसरी हुने भन्ने बारेमा सबैभन्दा धेरै लेखहरु र पुस्तकहरु पनि प्रकाशित भएका छन् । सफल र समृद्ध हुन हामी सबै चाहन्छौँ । विश्वका सबै राष्ट्र र सबै मानिसहरु भौतिक रुपमा सफल र समृद्ध हुन चाहन्छन् । विश्वमा कोही पनि यस्तो मानिस छैन जसलाई सफलता नचाहिएको होस् । सबैको मनमा सफल र समृद्ध हुने चाहना भए पनि धेरै कम मानिसहरु मात्र सफल र समृद्ध जीवन बाँचेका हुन्छन् ।

सफलतालाई धेरै कुराहरुले प्रभाव पारेको हुन्छ । मानिसको आफ्नो सोचविचार, बानी र जीवनशैली, मानिसले अरु मानिसहरुसँग गर्ने व्यवहार, संगत र सम्बन्ध, बाहिरको परिस्थिति र घटनाहरु, परिश्रम, धीरता, लगनशीलता र आत्मविश्वास आदि । तर सबैभन्दा महत्वपूर्ण छ मानिसको आफ्नो शक्ति ।

शक्ति भन्ने बित्तिकै ऊर्जा भन्ने पनि बुझिन्छ । सबै कुरालाई गति दिने ऊर्जाले हो । जीवनलाई गति दिने ऊर्जा नै छैन भने मानिसको अगाडिको यात्रा स्वतः रोकिन्छ । यस्ता तीन प्रकारका शक्ति छन् जसले मानिसलाई सबै क्षेत्रमा सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका हुन्छन् ।

यस्ता त्रिशक्ति आफूसँग हुने हो भने अरु कुरा नभए पनि मानिस जीवनमा सफल हुनसक्छ । त्रिशक्तिको कवच लगाएको मानिसलाई कसैले पनि पछाडि पार्न सक्दैन । के हुन मानिसको जीवनमा सफल हुन चाहिने महत्वपूर्ण त्रिशक्ति र यो शक्तिलाई कसरी बृद्धि गर्ने ?

१. शारीरिक शक्ति
सफल जीवन जीउन चाहने मानिसहरुले आफ्नो भौतिक शरीरलाई स्वस्थ र ऊर्जावान् बनाइराख्न अनिवार्य छ । भौतिक शरीर नै स्वस्थ र ऊर्जावान् छैन भने जीवनमा सफल हुन त परै जाओस आफ्नो दैनिकी पनि कष्टकर बन्दछ । अस्वस्थ शरीरले मनलाई पनि अस्वस्थ र अशान्त बनाउँछ । भनिन्छ– ‘पहिलो सुख र समृद्धि भनेकै स्वस्थ काया हो ।’

शरीरलाई स्वस्थ र ऊर्जावान् बनाइराख्न आहार, व्यायाम र निद्रामा पूरै ध्यान दिनुपर्छ । हामीले खाएको भोजनले बल वा शक्तिमात्र दिने होइन । भोजनबाट जीवनदायनि ऊर्जा पनि प्राप्त हुन्छ । भोजनबाटै तन, मन र बुद्धि बन्दछ । जस्तो अन्न त्यस्तै मन, त्यस्तै शरीर र त्यस्तै बुद्धि बन्ने हो । स्वस्थ रहनका लागि सात्विक आहार गर्नुपर्छ ।

ताजा, रसिलो, सुपाच्य र पौष्टिकले भरपुर आहार सात्विक आहार हो र यस्तो आहारले शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ । धेरै दिनको बासी, गरिष्ठ र पौष्टिक नभएको भोजनले ऊर्जाहीन र अस्वस्थ बनाउँछ ।

दैनिक रुपमा व्यायाम गर्न पनि अनिवार्य छ । शरीरको धर्म हो सक्रिय रहनु । कम चलेको वा नचलेको अङ्ग अस्वस्थ हुँदै जान्छ । व्यायामले शरीरलाई बलियो, ऊर्जावान र स्वस्थ बनाउँछ ।
स्वस्थ र ऊर्जावान रहन दैनिक रुपमा गहिरो निद्रा हुन पनि आवश्यक छ । निद्रा नपुग्नु भनेको शरीर र मन अस्वस्थ र शक्तिहीन हुँदै जानु हो । गहिरो निद्रामा वा गहिरो ध्यानमा मात्र शरीरको मर्मत हुने भएकोले ६ घण्टाको विश्राम र गहिरो निद्रामा जान अनिवार्य छ । कम निद्रा लाग्ने मानिसहरुको विकल्प भनेको ध्यान गर्नु हो । यो कुरा पनि जान्न आवश्यक छ, शारीरिक अपाङ्गतालाई अस्वस्थता भनिँदैन ।

२. मानसिक शक्ति
मानसिक शक्तिमा सबैभन्दा महत्वपूर्ण छ, संकल्पको शक्ति । के हो सकल्प भनेको ? कुनै पनि कार्य गर्न लिएको दृढ निर्णय हो संकल्प भनेको । संकल्पको शक्ति भनेको केही गर्ने दृढ इच्छाशक्ति पनि हो । जसको जीवनमा केही गरेर अगाडि बढ्ने प्रवल इच्छाशक्ति छैन भने त्यस्तो मानिसले जीवनमा केही पनि गरेर सफल हुन सक्दैन ।

संकल्पित् हुन केही गर्ने निर्णय गरेर मात्र पुग्दैन, म यो कार्य गरेरै छोड्छु भन्ने निश्चय नै गर्नु पर्दछ । मनलाई त्यो निश्चय गरेको कार्यमा निरन्तर लाग्ने शक्ति हामीले गरेको संकल्पले मात्र बनाउँछ । संकल्पको विपरित हुन्छ विकल्प । जसको मन विकल्पमा धेरै डुलिरहन्छ र दृढ भएर एउटा कार्यमा निरन्तर लागिरहन सक्दैन त्यस्तो मानिस कुनै कार्यमा पनि सफल हुन सक्दैन ।

शक्तिहीन, ऊर्जा नभएको र रोगी मन बारम्बार विकल्पमा डुलिरहन्छ । दैनिक रुपमा प्राणायाम र ध्यान गर्ने हो भने त्यसले हामीलाई मानसिक शक्ति प्रवल र दृढसंकल्पवान् बनाउँछ । जो व्यक्तिसँग संकल्पको शक्ति अर्थात् केही गर्ने प्रवल इच्छाशक्ति हुन्छ त्यस्तो मानिसलाई कसैले पनि हराउन सक्दैन ।

३. आत्मिक शक्ति
आत्मिक शक्तिमा आत्मबल र आत्मविश्वास पर्दछ । आत्मबल र आत्मविश्वास नभइकन मानिस सानो काममा पनि सफल हुन सक्दैन । आफूले आफैलाई विश्वास गर्नु हो, आत्मविश्वास भनेको । सबै प्रकारका प्रतिकुल परिस्थिति, घटना र चुनौतीहरुसँग लड्न हामीलाई आत्मविश्वास, आत्मबल र शाहस चाहिन्छ ।

हामी अरुलाई त राम्रोसँग विश्वास गर्छौं र गरिरहेका पनि हुन्छौँ तर आफूलाई विश्वास धेरै कम मानिसहरुले मात्र गरेका हुन्छन् । जसले आफूलाई विश्वास गरेका हुन्छन् त्यस्ता व्यक्ति नै सफल र समृद्ध भएका छन् । आफूलाई विश्वास नगरिकन मानिस जीवनमा धेरै अगाडि बढ्न सक्दैन ।

यो संसारका सबै मानिसहरुसँग जन्मिँदै लिएर आएको अनन्त ऊर्जा, शक्ति र आत्मबल छ । सबै मानिसहरुले जस्तो काम पनि गर्न सक्छन् । आफूले चाहेमा जे पनि गर्न सकिन्छ र जस्तो पनि बन्न सकिन्छ । तर आफ्नो धारणा, सोचविचार र म यो काम गर्न सक्दिन भन्ने मनस्थितिले गर्दा मानिस केही पनि गर्न नसक्ने बन्दछ र आफूप्रति विश्वास पनि रहँदैन ।

अरुका नकारात्मक कुराहरु सुन्ने र त्यसलाई विश्वास गर्ने बानीले गर्दा पनि मानिसको आत्मविश्वास र शाहस घटिरहेको हुन्छ ।

आफूले आफैलाई कस्तो ठानिरहेका छौँ, कमजोर कि शक्तिवान् ? त्यो कुरा थाहा पाउनु पर्छ । जीवनमा हरेक दिन केही न केही प्रतिकुल परिस्थिति, घटना र चुनौतीहरु आइ नै रहन्छन् । यस्ता प्रतिकुल परिस्थिति, घटना र चुनौतीहरुको सामना गर्न म आफै सक्षम छु कि मलाई अरुको सहयोग चहिन्छ ? यदि सहयोग नभइकन आफैले केही पनि गर्न सकिँदैन भने हाम्रो शाहस र आत्मविश्वास हराइसकेको छ भन्ने कुरा थाहा लाग्छ । म भित्र आत्मविश्वास, शाहस र आँट छैन भने किन छैन ? भनेर सोच्नुपर्छ र त्यो बढाउन के गर्ने भनेर त्यतातिर ध्यान दिनु पर्छ ।

आफ्नो बोलीप्रतिको दृढता नै आत्मविश्वास बढाउने प्रमुख तत्व हो । जसले आफूले आफैलाई ठग्ने गरेको छ, त्यस्तो व्यक्तिको आफूप्रतिको विश्वास अर्थात् आत्मविश्वास, केही गर्ने शाहस र आँट विस्तारै हराउँदै जान्छ । भनिन्छ– ‘अरुलाई ठग्नु पाप हो भने आफैलाई ठग्नु महापाप हो ।’ आफूले आफैलाई ठग्नु भनेको आफूले केही गर्छु भनेर बोल्यो वा सोच बनायो अनि त्यो कुरा पूरा नगर्नु हो ।

जस्तै, म भोलि बिहान यति बजे उठ्छु भनेर सोच बनायो वा बोल्यो अनि बिहान भएपछि त्यो आफूले भनेको कुरा आफैले पुरा नगर्यो । यसरी आफूले गर्छु भनेर संकल्प गर्ने अनि पूरा नगर्ने हो भने विस्तारै आफूले बोलेको र आँटेको काम पूरा गर्न सक्छु भन्ने विश्वास र शाहस हराउँदै जान्छ ।

जसले आफूले गर्छु भनेर बोलेका कुरामा महत्व दिँदैन, आफैले बोल्छ र आफैले पूरा गर्दैन त्यो व्यक्तिले आफूलाई ठगिरहेको हुन्छ । आफ्नो भरोषा गुमाइरहेको हुन्छ र यस्तो व्यक्तिको आत्मविश्वास घटेर जान्छ ।

जस्तोसुकै परिस्थिति र चुनौतीहरुमा आफूले शाहस गरेर अगाडि बढ्ने गरियो भने विस्तारै आफ्नो शाहस र आत्मबल बढ्दै जान्छ । त्यस्ता चुनौतीहरु हामीलाई सानो लाग्छ । एउटा चुनौतीलाई आँट गरेर सामना गर्ने हो भने अब व्यक्ति शाहसिलो हुँदै जान्छ ।

दैनिक रुपमा प्राणायाम र ध्यान गर्ने हो भने हाम्रो शाहसको केन्द्र मणिपूरचक्र र संकल्पको केन्द्र आज्ञाचक्र सक्रिय बन्दछ, हामीलाई आत्मविश्वाशिलो र शाहसिलो बनाउँछ ।

यस्ता महत्वपूर्ण त्रिशक्ति, शारीरिक शक्ति, मानसिक शक्ति र आत्मिक शक्ति हामीसँग हुने हो भने चाहेको सबै क्षेत्रमा सफल हुन सकिन्छ । त्रिशक्ति बलियो नबनाइकन कुनै पनि क्षेत्रमा सफल हुन सम्भव छैन । आजलाई यत्ति नै, हरि ॐ !

सुप्रिया मां आनन्दपथ संस्थाका संस्थापक हुनुहुन्छ ।