दाङ, ११ मंसिर । दाङ प्रहरीले जुवाको खालबाट ९४ हजार नगद रकमसहित ८ जनालाई नियन्त्रणमा लिएको छ । गढवा गाउँपालिका–५ मा रहेको भुषाल होटलमा जुवा खेली रहेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट गएको प्रहरी टोलीले जुवाडेहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले गएराती साढे आठ बजे ९४ हजार नगद रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा गढवा गाउँपालिका–६ निवासी टोप बहादुर बिसी, हरि भण्डारी, सन्दिप अधिकारी, खिमबहादुर बुढा, होमराज रिजाल, किशोरसिंह ठकुरी, मुरली यादव र गढवा गाउँपालिका– ५ निवासी होटल संचालक डिल्लीराज भुषाल रहेका छन ।
हरि भण्डारी क्रसर ब्यवसायी हुन । उनले गढवा गाउँपालिका–५ मा मध्यपश्चिम क्रसर तथा पुर्णागिरी बालुवा प्रशोधन उद्योग संचालन गर्दै आएका छन । त्यस्तै टोप बहादुर बिसी पनि निर्माण ब्यवसायी हुन भने होमराज रिजाल हार्डवयर ब्यवसायी हुन । जुवाको खालबाट पक्राउ परेकाहरुलाई आज(विहिवार) म्याद थप गरेर अनुसन्धान हुने र कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।