गुरुप्रसाद शर्मा रेग्मी
राजनीतिमा संलग्न व्यक्तिको सामथ्र्यता र वरिष्ठता उसको बुद्धि, विद्या, आयु, वंश आदिको आधारमा नभएर उसको विशिष्टताको साथ आचारसंहिताको अविछिन्नतामा निर्भर गर्दछ । यस सत्य र तथ्यलाई जसले गम्भीरतापूर्वक आत्मसात गर्छ त्यही राजनीतिकर्मीले युगुिरुष बन्ने सौभाग्य प्राप्त गर्दछ ।
यसरी युगपुरुष बनेका महानमानवले आफ्नो आत्मिक अनुभूतिले अनेकौँ मानिसलाई आफ्नोजस्तो मर्यादित बाटोमा लगाउन सकेका हुन्छन् । तर यतिबेलाको राजनीतिक धरातलमा ठूलो सबैभन्दा ठूलो भन्ने लोभले उनीहरलाई यति नतमस्तक बनाइदिएको हुन्छ कि न्याय, औचित्य, परिणाम, मर्यादा, नम्रताजस्ता कुनै कुराको ध्यान नै हुँदैन ।
गोरु बन्ने प्रतिस्पर्धामा एउटा भ्यागुताले आफ्नो पेटमा हावा भर्दै जाँदा फेट फुटेर मरेको जस्तै यतिबेलाका राजनीतिकर्मीहरुको अवस्था हुन गएको छ । जति चाँडो हुन्छ, जति बटोर्न सकिन्छ, केही नगरेर मूल्य नचुकाएर केवल छल, कपट, भ्रष्टाचार व्यभिचार गरेर सम्पन्न र धनाढ्य हुनु नै राजनीतिको धर्म बन्न गएकाले उनीहरुको दुर्गति बनाउने भावनात्मक अवन्नति बनेको छ ।
राजनीतिमा नम्रता र शालिनताको समन्वय भइदियो भने गरिमा र उज्ज्वल भविष्यको सम्भावना हुन्छ । तर वर्तमानको राजनीतिमा दम्भ देखाउने भ्रष्टाचार अनियमितताबाट सम्पन्न बनेर आफूलाई अरुकोभन्दा उच्च ठान्ने र मान्ने, विपक्षीहरुलाईभन्दा आफ्नै दलका साथीहरुलाई छिट्की हानेर लडाउने काम भइरहेको देखिन्छ । युधिष्ठिरको अनशाुनमा रहेर आफ्नो स्वतन्त्र वर्चश्व चम्काउनको लागि व्याकुल कौरवले जो अनीति अपनाएका थिए त्यही नै उनको विनाशको कराण बनेको थियो ।
कृष्ण अगाडि यदुवंशी भोका नाङ्गा थिएनन् । तिनका हर सदस्य आफ्नो विशिष्टता सिद्ध गर्न अरुलाई गिराउनका लागि सामूहिक आत्मघातको स्थितिमा पुगेका थिए । यही कुरा देखेर वेद व्यासले अकाट्य सिद्धान्तको रुपमा के लेखेका थिए भने – जुन ललमा धेरै नेताहरु हुन्छन् ती सबै नेताहरुको महत्वाकांक्षा यश, लिप्सा र दम्भ पनि धेरै हुने भएकाले त्यो दल र त्यसका राजनीतिकर्मीहरुको राजनीति विस्थापित हुने गर्दछ ।
त्यसकारण राजनीतिकर्मीहरुले समय छँदै यो खतराबाट बाँच्ने प्रयास नगरेर आफ्नो कालो अनुहार चम्काउने प्रतिद्वन्द्वीता खडा गरियो भने दललाई त वदनाम गराउँछ नै स्वयम् पनि नष्ट भएर गएका हुन्छन् । यस तीतोसत्यलाई राजनीतिकर्मीहरुले आत्मसात गर्नुपर्ने हो । त्यही गर्न नसक्दा राजनीतिक धरातलका राजनीतिकर्मीहरुले कसरी आफ्नो राजनीतिक अस्तित्व गुमाएर बस्नुपरेको छ ? त्यो हेर्न नेपालको राजनीतिक दलका नेता कार्यकर्तालाई हेरे हुन्छ । हेर्न अन्त कहीँ जानु पर्दैन ।
चाणक्य प्रधानमन्त्री भएर पनि मत्ताको मद टाउकोमा नचढोस् भनेर आफ्नै झोपडीमा बसेर प्रधानमन्त्रीको पद सञ्चालन गरेका थिए । राजा जनकले आफूले खाने उत्पादन गर्न आफै हलो जोत्दथे । वादशाह नसिरुदिन टोपी स्याउने गर्दथे, खाली समयमा । इजराइलकी प्रधानमन्त्री गोल्डा गेयर कार्यालयहरुमा साइकल चढेर जाँदथिन् । हिड्दा, हिड्दै कार्यालयका समस्याहरु समाधान गरिदिने र कर्मचारीलाई मार्गनिर्देशन दिँदै जाँदथिन ।
त्यसैले उनीहरु अमर छन् । सबको मनमा स्थापित छन् । पद प्राप्त गर्नको लागि आग्रह र विग्रह गर्नेहरुको लागि राजनीति अभिशाप हुन्छ भन्ने कुरा नेपालका नेताहरुले आत्मसात गर्न नसकेकाले नै पदको लागि आग्रह विग्रह गर्ने, फुट्ने फुटाउने काम गर्ने भएकाले राजनीतिमा उछृंखलता बढ्दै गएको हो । राजनीतिक परम्परामा अपरिग्रही, सदागी, मितव्ययी, नम्रतालाई वरिष्ठताको प्रतिक चिह्न मानिन्छ । विलाषी अहंकारी, कटुभावितालाई राजनीतिमा हेय मानिन्छ । तर नेपालका नेताहरल्े त्यही हेयताको अनुशरण गरिरहेको देखिन्छ ।
कर्तव्य पालन प्रति सजग रहने व्यक्तिले म शब्दको प्रयोग नगरेर हामी भन्ने शब्दको प्रयोग गरेको हुन्छ । हामी शब्दमा सबैको योगदान र प्रयत्नको संकेत रहेको हुन्छ । तर यतिबेला जहाँ जता हेरे पनि म शब्दकै बढी उपयोग गरेको देखिन्छ । यसको लागि उसले आफ्नो बुद्धि, विवेक, योग्यता, क्षमता सबैलाई बन्दकीमा राखेको हुन्छ ।
त्यसैले काठको पुतलीझैँ औँलाको इसारामा सञ्चालन हुने गर्दछन् । यस्तै नेताहरु भएकाले राजनीतिको सेवा कार्य सुरु हुनुभन्दा पहिले परिणाममा दृष्टि दिने गरिएको हुन्छ । त्यसैले राजनीति वैचारिक सिद्धान्तको आधारमा नचलेर व्यक्तिको सोच चिन्तन र दृष्टिकोणको आधारमा चल्ने भएकाले जनतालाई उदासीन मात्र बनाएको छैन । राजनीतिप्रति वितृष्णा बढाउने काम भइरहेको छ ।