मधुसूदन सुवेदी
यतिबेला देशकै ठूलो दल तथा सरकारमा सहभागी दलभित्र पत्रको युद्ध चलिरहेको छ । संसदबाट पार्टीको सभाबाट केन्द्रीय समितिको बैठकबाट वा अन्य विधि र पद्धतिबाट चल्नुपर्ने छलफल विवाद, बहस, सहमति, असहमति वा कलह पत्राचारको माध्यमबाट शुरु भएको छ । यसरी दलीय दायराभित्र असहमति प्रकट गर्ने वा विरोध जनाउने नयाँ परिपाटी यो नै पहिलो र नौलो होला ।
नयाँ नेपालको नयाँ चाला भनेजस्तै नेकपाको विवाद उत्कर्षमा पुगिरहँदा राष्ट्रिय एजेण्डाको पत्र, अभियोगको पत्र, राष्ट्रिय राजनीतिको पत्र वा जनताको सम्मुख पत्र जे भने पनि पत्राचारको विधि शुरु भएको छ । नेकपाभित्रै एक कार्यकारी अध्यक्षले देशको राज्यसत्ता सञ्चालन गरिरहेको अर्को अध्यक्ष वा प्रधानमन्त्रीको कार्यशैलीमा टीका–टिप्पणी गरेर तयार पारिएको राजनीतिक आधारपत्र प्रत्यक्ष भेटका क्रममा पनि बुझाउने काम भयो । प्रत्यक्ष भेटघाटमा अध्यक्षद्वयको मनका कुरा एकआपसमा साटासाट र बुझाबुझ गर्नुपर्ने बेलामा पत्राचारको यो नौलो अभियान यतिबेलाको लागि नेकपामा अग्निपरीक्षा बनिरहेको छ । पत्रमा उल्लेखित भाषा, शैली, शब्द वा वाक्यांश जे–जस्ता भए पनि यसको आदान–प्रदान आफैमा अचम्म मानिएको छ ।
यतिमात्र होइन, एकजनाले थमाएको पत्रको विषयमाथि चर्चा–परिचर्चा, बहस, छलफल, विवाद, निष्कर्ष वा समीक्षा नै नगरी त्यसै बमोजिमको पत्र अर्का अध्यक्ष वा प्रधानमन्त्रीले पनि तयार पार्ने र त्यसलाई पनि सम्बन्धित व्यक्तिलाई थमाउँदै छलफल अघि बढ्ने भएको छ । देशमा ६ महिने, ९ महिने, १ वर्षे, १५ महिने, १८ महिने, २ वर्षे तथा ३ वर्षेजस्ता पटके सरकार फेर्दा–फेर्दा र चाख्दा–चाख्दा हैरानी र सास्ती खेपेका जनताले कसैलाई पूर्ण बहुमत दिँदा यो अन्योलग्रस्त रोगबाट मुक्त भइएला, पार पाइएला र देशमा शान्ति तथा समृद्धि कायम होला भन्ने मनसायले नेपालका कम्युनिष्ट पार्टीलाई कत्ति पनि पछुतो नमानी आँखा चिम्लेर भोट दिएका थिए, मतदान गरेका थिए, सत्ता र सरकारमा पु¥याएका थिए ।
१–२ वर्ष जसोतसो चलेजस्तो गरे तापनि ३ वर्षको अवधिमा आइपुग्दा एकपछि अर्को गर्दै पार्टीभित्रबाट विरोधका स्वर गुञ्जन थाले र पछिल्लो समयमा त पत्रको युद्ध नै चल्यो । यो पत्रको युद्ध चलिरहँदा र पत्रमा उल्लेखित कुराको चर्चा गरिरहँदा व्यक्तिवादीभन्दा माथि उठेर समीक्षा गर्दा आजको समयमा राष्ट्रिय एजेण्डा बोकेको कुरामा सिद्ध छ वा व्यक्तिवादी चरित्रमा सिद्ध छ ? भन्ने प्रश्न ठूलो हो । यदि यो पत्रले समस्त देशकै र जनताकै मन–मुटु र भावना बोलेको छ र कोरिएको छ भने त्यसलाई राष्ट्रिय पद्धतिबाटै पत्रको बुँदामाथि केन्द्रित हुनुपर्दछ । यदि त्यसो होइन र राष्ट्रियताभन्दा निजी स्वार्थ, व्यक्तिगत चाहना, व्यक्तिगत कामना र व्यक्तिगत वासनामा लिप्त छ भने यो देशकै लागि महारोग हो । यसले पक्कै पनि आगामी दिनमा गतिलो परिणाम दिँदैन ।
सबैलाई चेतना हुनुपर्ने कुरा के थियो भने वर्तमान व्यक्ति, व्यवस्था, अवस्था वा राजनीतिक संरचना नितान्त नौलो, आशातीत, बेग्लै, भिन्नै, फरक र पृथक ढंगको भएकाले पनि यसमाथि कोही कसैको पनि भ्रम, आशंका, संकोच, रिस, राग, द्वैष वा वैमनश्य उत्पन्न नहुने गरी काम गर्नुपर्ने थियो । त्यसो गर्न सकिएन तापनि यसलाई सञ्चालनमा आउने गतिविधि तथा क्रियाकलापलाई सतहभन्दा बाहिर नजाने गरी भित्रैबाट समस्याको हल हुनुपर्दथ्यो । न त आन्तरिक तवरबाट निकास खोजियो न त बाह्य तवरले यसको व्यापक बहस नै शुरु भयो ।
यसरी व्यक्ति–व्यक्ति, पार्टी–पार्टी, दल–दल, पद–पद, कुर्सी–कुर्सी, शक्ति–शक्ति, संगठन–संगठन, मोर्चा–मोर्चा, समूह–समूह, गुट–गुट तथा टाउका–टाउकाबीचको भिडन्तलाई राष्ट्रिय राजनीतिकमा जोड्नु उपयुक्त थिएन र छैन । राष्ट्रिय राजनीति त्यतिबेला हल भइसक्यो जतिबेला नेकपाले बहुमत प्राप्त ग¥यो । नेकपाले जनताबाट बहुमत प्राप्त गरिसकेपछि र देशमा नयाँ ढंगको राजनीतिक व्यवस्थाको संरचना कोरिसकेपछि त्यसैलाई आधार मानेर सरकारमा सहभागी दलले देश र जनताका लागि अहोरात्र खटेर काममा जुट्नुपर्ने थियो र लाग्नुपर्ने थियो । त्यसो नगरी काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैँ घर झगडा र पार्टी झगडामा अलमलिएर देशकै काममा भाँजो हाल्नु अत्यन्तै लाज र सरमको विषय हो ।
यदि देश र जनतालाई भलो गर्न सकिएन भने पनि कुभलो गर्ने र कुभलो हुने काम वा बाटोमा अघि बढ्नु दलका लागि उपयुक्त थियो त ? तर पटक–पटक देशका पूर्ण बहुमतको सरकार समेत अविछिन्न र निर्वाध ढंगले चल्न नसक्नुको पछाडि रहस्य के छ ? कुन तत्वले काम गरिरहेको छ ? कुन महारोग हावी छ ? कुन संस्कार रआजसम्म पनि विद्यमान छ ? पर्दाभित्रको खेल के हो ? देशका पार्टी, दल, व्यक्ति तथा शत्तिःमा देशभक्ति भावना किन जागेन ? कसको सराप प¥यो ? कसको कुदृष्टि लाग्यो ? कसले केमा बाधा पु¥यायो ? आफेमा अचम्मको खेल छ । छैन भनौं देश राम्ररी कहिल्यै चलेन ।
छ भनौ आजसम्म प्रष्ट देखिएको पनि छैन र भनिएको पनि छैन । पात्र, कुपात्र भएर हो वा व्यवस्था कमजोर अवस्था भएर हो वा संस्कार, कु–संस्कार भएर हो वा सिद्धान्त भिडन्त भएर हो वा पार्टी, कालोपार्टी भएर हो वा दल, मादल भएर हो वा संगठन विघटन भएर हो वा शक्ति आशक्ति भएर हो वा नीति बेथिति भएर हो वा ऐन चैन भएर हो वा आदर्श उत्कर्स भएर हो वा नेता कता हो कता भएर हो वा एकता अनेकता भएर हो वा विधि व्यक्तिगत निधि भएर हो वा राजक अराजक भएर हो ? केही चिन्न र जान्न सकिएन ।
यदि राष्ट्रियता र जनसवालका विषयवस्तु नै पहिलो प्राथमिकता हो भने त्यसमा सबले हो मा हो थप्न किन आनाकानी ? व्यक्तिगत, दलगत, गुुटगत, पार्टीगत र स्वार्थगत हो भने किन पटक–पटक दशभक्तिको नाटक र अभिनय गरिरहने ? नाटक त एकपटक पर्दाले ढाक्छ–ढाक्छ, तोप्छ–तोप्छ, छेक्छ–छेक्छ, ओत्छ–ओत्छ । त्यसलाई लामो पार्नुको कुनै अर्थ नै छैन । यदि सच्याई र इमान्दारिता हो भने योभन्दा उपयुक्त समय, बेला, परिस्थिति, अवस्था र व्यवस्था कुनै पनि हैन र छैन । कित अघि बढ्, कि त पछि हट ।
अब ल्याङ–ल्याङको राजनीति धेरै टिक्दैन र बढी बिक्दैन । देश र जनता तिमीभन्दा बाठो र चलाख भइसकेको छ । तिम्रो हाड–माउ, कटाक्ष, बोली–चाली, आनीमानी, व्यवहार सबै कुरा जनताले चाखी सके र स्वाद पाइसके । यस्तो रंगहीन, गन्धहीन, स्वादहीन, मिठासहीन र उदासीन राजनीति सञ्चालन गर्ने कष्ट नगर ।