खेलकुदमा सुधार आवश्यक

  •   
  •  

हरिबहादुर सुनार

नेपाल एउटा यस्तो देश हो जहाँ धेरै प्रकारका हावापानी पर्ने गर्दछ । तसर्थ, यहाँको हरेक कुरा अन्य देशसँग केही न केही कुरासँग मेल खानु स्वाभाविक कुरा हो । खेलकुदको सन्दर्भमा पनि विभिन्न देशमा फरक–फरक हावापानी भएको राष्ट्रमा सहभागिता जनाउनुपर्ने हुन्छ ।

खेलाडी र खेलकुदको ट्रेनिङका लागि हाम्रो देशमा पनि उपयुक्त हावापानी छ । खेलकुदको तयारीका लागि हामीले प्राकृतिक वरदान पाएका छौँ । त्यसो हुँदाहुँदै पनि हामी नेपाली खेलाडीहरुले जहिल्यै पनि सोेचे जस्तो उपलब्धि हासिल गर्न सकिरहेका छैनौँ । त्यसैले खेलकुदको क्षेत्रमा काम गर्ने अधिकारीहरुले यसको गम्भीर समीक्षा र अध्ययन गरेर नयाँ नीति अवलम्बन गर्नु आवश्यक छ ।

देश संघीयतामा गएसँगै त्यही अनुसारको खेलकुदको भौतिक संरचना निर्माण र खेलुकद परिषद्हरु गठन हुनुपर्छ । आजसम्म खेलकुदको असल नीति र खेलकुदमा खेलाडीको वर्गीकरण गरेर प्रशिक्षण गराउने वातावरण नहुँदा खेलकुद क्षेत्रको अपेक्षाकृत रुपमा विकास हुनसकेको छैन । त्यसो त नेपालमा खेलकुदका संरचना र सामग्रीको उचित व्यवस्थापन हुनसकेको पाइँदैन । खेलकुदको उपयुक्त नीति, आवश्यक खेल सामग्रीसँगै भौतिक पूर्वाधार निर्माण हुनसके नेपाली खेलकुदको सुनौलो भविष्य देखिन्छ ।

विभिन्न अभावका बीच पनि बढेको खेलकुदलाई हेर्ने दृष्टिकोणमा समेत समानता आउन आवश्यक छ । राज्य तहबाट ठूला खेलहरुलाई प्राथमिकता दिने तर साना खेलहरुलाई बेवास्ता गर्ने परिपाटीको अन्य हुन आवश्यक छ । समग्र देशको खेलकुद क्षेत्रको अध्ययन गर्ने र कुन खेलको विकासका लागि के आवश्यक छ भनेर अघि बढ्ने हो भने खेलकुद क्षेत्रमा धेरै सुधार गर्न सकिन्छ । त्यसका लागि सहरकेन्द्रित रहेको खेललाई ग्रामीण क्षेत्रमा लैजान आवश्यक छ ।

त्यसैगरी खेलको अनुभव लिनलाई खेलाडीहरुलाई विदेशमा लगेर प्रशिक्षण गराउने र विदेशी प्रशिक्षक लिएर स्वदेशमा पनि प्रशिक्षण गराउन सकिन्छ । प्रशिक्षणका कार्यक्रमहरुलाई काठमाडौंमा मात्र नभएर सातै प्रदेशसँगै ७७ वटै जिल्लाका स्थानीय तहहरुमा नयाँ–नयाँ सीप, नियम, कला र शारीरिक अभ्यास गराउनु पर्छ ।

तर हाम्रो देशमा त्यस्तो अवस्था देखिँदैन । विदेशी प्रशिक्षक राजधानी केन्द्रित रहेर प्रशिक्षण दिने गरेको देखिन्छ । जसले गर्दा आजसम्म खेल निश्चित विभागीय टिम र राजधानी आसपासका खेलाडीहरुको वर्चश्व हुने गरेको देखिन्छ । ती क्षेत्रका खेलाडीहरुले नेपालभरको प्रतिनिधित्व गराउने अभ्यास देखिन्छ । यसरी खेलकुद क्षेत्रको विकास हुँदैन ।
नेपालमा खेलको विकास नहुनुमा एउटा कारण निश्चित खेलको प्रतियोगितालाई टार्गेट गरेर

खेलाडीको वर्गीकरण गरी त्यो खेलाडीलाई त्यही प्रतियोगिताका लागि तयारीमा लगाउन नसक्नु हो । जस्तै साग, एशियन ओलम्पिक जस्ता प्रतियोगिताको लागि खेलहरु हुनुभन्दा केही महिना अघि मात्र प्रशिक्षक नियुक्त गरी तयारी गर्न लगाइएको हुन्छ । अनि त्यही कारण छोटो समयमा प्रशिक्षकले जादु वा फुमन्तर गरेजसरी खेलाडी निपुण बनाउन सकिँदैन ।

खेल क्षेत्रको विकासका लागि यो राम्रो कुरा होइन । त्यसैले प्रतियोगितामा खेलाडीहरुले प्रशिक्षकले सिकाएको भन्दा आफ्नो विवेक र कम समयमा कोचले सिकाएको कला प्रयोग गर्दछन् । सिकेजति क्षमता पस्कन्छ । विदेशी भूमिमा पसिना र रगत दुवै बगाउँछन् तर पनि पदक प्राप्त गर्न असमर्थ हुन्छन् ।

पदक प्राप्त गर्न नसक्दा प्रशिक्षक हटाइन्छ र खेलाडीलाई पनि कस्तो अवस्थामा बसाइ छ, खानपिनको अवस्था कस्तो छ, उसको स्वास्थ्य, रोजगारीको अवस्था छ कि छैन ? भनेर खेल पदाधिकारी र राज्यलाई कुनै वास्ता छैन भन्दा पनि हुन्छ । अनि खेलाडीहरु स्वस्थ नै छ भन्ने अरबको चर्काे गर्मीमा गएर उसले आफ्नो र परिवारको पेट भर्नका लागि मरभूमिमा पसिना चुहाउन विवश हुन्छन् ।

अहिले त विश्व कोरोना महामारीले खेलकुद क्षेत्रलाई तहसनहस बनाएको अवस्था छ । जसले गर्दा नेपाली खेलकुदको अवस्था सुनसान र ठप्पजस्तै बनेको छ । अन्य देशमा खेलकुदको प्रशिक्षण लगभक सुरु भइसकेको अवस्था छ । तर हाम्रो देशमा खेलाडीको पसिना र रगतमा आफ्नो फाइदा उठाएर विदेश भ्रमण सयर गर्ने कर्मचारी वा मातहतका पदाधिरीहरुलाई खेलकुदको विकास वा खेकुद क्षेत्रमा लागेका खेलाडीहरुको विकासको बारेमा सोच्नेसम्मको फुर्सद छैन ।

त्यसो त कैयौँ पटक देशका लागि पदक जितेका खेलाडी खेलकै दौरानमा बिरामी वा घाइते हुन्छन् । उक्त खेलाडीको उपचार खर्चको लागि चन्दा संकलन गर्नुपर्ने लज्जास्प्रद घटनाहरु पनि हामी सामू नै छ । आफूलाई अप्ठेरो पर्दा खेलाडीले भीक माग्नुपर्ने अवस्था छ । एउटा मान्छेले राष्ट्रको लागि ज्यानको बाजी लगाएर रगत परिना बगाउँछ ।

तर उसको लागि राज्यले केही गर्न सक्दैन । गर्ने प्रयास गरेको पनि देखिँदैन । यो भन्दा बिडम्वना अरु के हुन सक्छ, खेलाडीका लागि ? राष्ट्रका लागि आफ्नो ज्यान जोखिममा पारेर खेल्ने खेलाडी संकटमा पर्दा राज्यले उसको उपचार गर्ने व्यवस्था गर्नुपर्छ कि पर्दैन ? यो विषयमा खेलकुद हेर्ने निकाय (राष्ट्रिय खेलकुद परिषद)ले बुझ्न आवश्यक छ । यसका लागि परिषद्मा खेललाई माया गर्ने र खेल सम्बन्धित व्यक्ति नै त्यो ओहदा र पदमा पुग्नुपर्छ र निःस्वार्थ रुपमा खेलकुदको विकासमा लाग्न नितान्त आवश्यक पनि छ ।

नेपालको वर्तमान सन्दर्भमा खेलकुद केही विभागीय टिमले अलि टिकेको छ । तर त्यहाँ पनि खेलाडीहरुको अवस्था खासै राम्रो छैन । न त प्रशिक्षक नै राम्रो हुने गरेको देखिन्छ न त खेलाडीहरुलाई आवश्यक सामग्री किनिदिने गरिन्छ न त खेलाडीहरुलाई खेलसँगै ड्यूटी गर्नुपर्ने वाध्यता हटाउन सकेको छ ।

अहिले पनि खेलाडीहरुले ड्यूटी गर्ने गरेका छन् । जसले गर्दा खेलाडीहरु तनावपूर्ण अवस्थामा प्रशिक्षण लिइरहेका हुन्छन् । एउटा बक्सिङ खेलाडीले नियमित दुई महिना प्रशिक्षण लिइरह्यो भने दुई जोडा स्पोर्ट सुज टिक्ने गर्दछ । त्यस्तै उसलाई डाइटिङ अन्य कपडालगायतका सामग्री किन्नुपर्ने हुन्छ । जसले गर्दा खेलाडीहरुलाई आफ्नो तलवबाट खेलकुदका सामग्री किन्न समेत नपुग्ने अवस्था देखिन्छ । यस्तो अवस्थामा खेलाडीहरुले कहाँबाट आफ्नो र परिवारको भविष्य बनाउन सक्छन् ?

त्यसैले विभागीय टिमका राम्रा–राम्रा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी पनि जागिर छोडेर विदेशिन वाध्य छन् । यी सब कुराको दोषी को हो त ? यस्ता समस्याहरुको उत्तर खोज्न नितान्त आवश्यक छ । एउटा कुरा खेलकुदभित्र घुस्ने राजनीतिले पनि नेपाली खेलकुद तहसनहस भएको छ । नीति बनाउने, कार्यान्वयन गर्ने ठाउँमा खेल खेलेको होइन कि खेल पढेका मान्छेको हालीमुहाली हुनु पनि खेल विकासको बाधक हो ।

त्यसैले खेलकुद परिषद गठन गर्दा सोचविचार गरेर योग्य र खेलकुद क्षेत्रको विकास गर्न सक्ने सक्षम व्यक्तिलाई नेतृत्वमा ल्याउन आवश्यक छ । खेल संघको भौतिक संरचना निर्माणदेखि सम्बन्धित खेलको संघले उक्त खेल विकासमा व्यवस्थापन गर्ने हो । तर ती संघ नै विवादित र दुई चिरा भयो भने कहाँबाट खेलको सही मूल्याङ्कन र विकास हुन्छ ? सागजस्तो खेलमा खेलाडीले पाउने सुविधा जुत्ताजस्ता कुराहरुमा तलमाथि हुने गरेको कुरा बाहिर आउँछ ।

कति लाजमार्दाे कुरा हो ? यस्ता विषयमा भने पार्टीगत रुपमा पहुँच र शक्तिको आधारमा छनोट हुने हुँदा पनि खेलले गति लिनसकेको अवस्था छैन । खेलाडीहरु विदेशी भूमिमा देशको नाम राख्न र शिर उच्च बनाएर पदक लिए पनि स्वदेशमा सम्मान र पारिश्रमिक पाउने अवस्था छैन ।

यी यावत समस्याहरु समयमै नसच्याइए हामी एशियन गेममै सबैभन्दा पुछारमा रहने छौँ । खेल क्षेत्रको विकासका लागि हरेक व्यक्तिले मन, वचन र कर्मले सोच्न आवश्यक छ । अन्त्यमा कोरोनाको कहरमा आफ्नो स्वास्थ्यको ख्याल राख्दै नियमित शारीरिक अभ्यास गर्दै स्वस्थ जीवन जीउन र प्रतिरक्षा प्रणालीको विकासमा लाग्न खेलाडीहरुलाई आग्रह गर्दछु ।

(लेखक पूर्व केन्द्रीय सदस्य अखिल नेपाल खेलकुद महासंघ,हाल बक्सिङ प्रशिक्षक अल्फा स्पोर्टस टे«निङ सेन्टर दाङ )