ग्लोव सर्टेज,अक्सिनजनको अभाव हुन सक्ने

  •   
  •  

गोरक्ष समाचारदाता
दाङ, २६ कार्तिक । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका जटिल प्रकारका बिरामीहरुसँगै मौसम परिवर्तनका बिरामीहरु अस्पतालमा बढेपछि जिल्लामा स्वास्थ्यकर्मीले प्रयोग गर्ने ग्लोवको अभाव भैसकेको छ भने त्यसपछि समस्या अक्सिजनको समस्या हुने बताएका छन् । तर स्थानीय पालिका र स्थानीय सरकारले भने अक्सिजन आपूर्तिका विषयमा कुनै पनि भूमिका निर्वाह गरेको देखिएको छैन ।

कतिजना बिरामीलाई प्रतिमिनेट कति अक्सिजन चाहिन्छ र त्यो आपूर्ति कहाँबाट गर्ने भन्ने सन्दर्भमा समेत स्थानीय पालिकाहरु कत्ति पनि गम्भीर देखिएका छैनन् । अक्सिजन उत्पादन कम्पनी जिल्लामा सञ्चालन भए पनि नेपालगञ्जको अक्सिजन उद्योगले सस्तोमै अक्सिजन बेच्ने बताएपछि उद्योग लामो समयसम्म सञ्चालन हुन सकेन । जसले गर्दा जिल्लामै हस्पिटलका लागि आवश्यक अक्सिजन उत्पादन हुन सकेको छैन । अक्सिजन वितरण गर्न पनि सिण्डिकेट लागू भएका कारण यो समस्या देखिएको हो । यो सिण्डिकेटले अबको केही महिनापछि अस्पतालमै पनि अक्सिजनको अभाव हुन सक्ने देखिएको छ ।

तुलसीपुर प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आइसकेको छ । आन्तरिक खपत भन्दा बाहिर पनि अक्सिजन बेच्न अस्पतालको परियोजना हो । तर सो अस्पताललले अझैसम्म पनि अक्सिजन बेच्न सकेको छैन । त्यसैगरी घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया शुरु भएको छ । तर त्यो पनि सञ्चालनमा आएको छैन । कोरोना संक्रमितहरु बढिरहने हो भने यो अवस्थाले अबको केही समयपछि जिल्लामा अक्सिजनको अभाव हुने बताइएको छ ।

किनकि अक्सिजन सप्लायर्सहरुले नै दाङ जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनमा आउने दिएको छैन र कोरोना भाइरसको संक्रमण जिल्लामा अक्सिजनको अभाव धेरै भइरहेको छ । तर आपूर्तिका सन्दर्भमा भने स्थानीय सरकारका कुनै योजना छैनन् । जसले गर्दा जिल्लामा जटिल प्रकारका कोरोना संक्रमितहरु बढ्दै जाने हो भने थप समस्या सिर्जना गर्न सक्ने देखिएको छ ।

अक्सिजन ग्यास घोराहीमा सर्टेज हुने अवस्था छैन

कोरोना भाइरसका कारण विश्वजगत् नै आक्रान्त बनिरहेको अवस्थामा दाङमा जटिल प्रकारका कोरोना संक्रमितहरुका लागि आवश्यक पर्ने अक्सिजन ग्यासको अभाव देखिन थालेको छ । दाङसहित साविक राप्तीका जिल्लाहरुबाट आउने जटिल प्रकारका कोरोना संक्रमितहरु बढ्न थालेपछि उनीहरुका लागि अत्यावश्यक पर्ने अक्सिजन ग्यास अस्पतालहरुमा अभाव देखिन थालेको हो ।

अक्सिजन ग्यास कोरोना संक्रमितहरुसँगै अन्य बिरामी र गाडी बनाउने ग्यारेजहरुमा समेत प्रयोग हुने गरेको छ । जसका कारण दाङमा मासिक २ सय ५० सिलिण्डरको हाराहारीमा ग्यास खपत हुने गरेको प्रयास सप्लायर्सका प्रोप्राइटर विष्णु भण्डारीले बताए । तर घोराहीमा अक्सिजन ग्यास बिक्री गर्दै आएको प्रयास सप्लायर्सले भने घोराहीमा अक्सिजन ग्यासको समस्या हुने अवस्था नरहेको बताएको छ ।

घोराहीका मुख्य अस्पतालहरुसँगै आफूसँग पनि ८–९ वटा सिलिण्डर ग्यास स्टक रहेको र थप ग्यासका सिलिण्डरहरु आउने तयारीमा रहेकाले दाङमा अक्सिजन ग्यासको अभाव हुने अवस्था तत्काललाई नभएको प्रयास सप्लायर्सका प्रोप्राइटर भण्डारीले बताए । उनले पहिलेको तुलनामा अहिले अक्सिजनको ग्यासको खपत भने केही मात्रामा बढेको बताए ।

‘कोरोना संक्रमितका विरामीहरुसँगै चिसो समय शुरु भएकाले पहिलेको तुलनामा पछिल्लो समय अक्सिजन ग्यासको खपत बढेको छ’, प्रोप्राइटर भण्डारीले भने– ‘तर तत्काल घोराहीसँगै जिल्लामा अभाव हुने अवस्था भने देखिएको छैन ।’ उनका घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दीपज्योति अस्पताल, गोरखा अस्पताल, बुद्ध इन्टरनेशनल अस्पतालसँगै घोराहीको अटोभिलेजमा रहेका ग्यारेजहरुमा समेत अक्सिजन ग्यास जाने गरेको छ ।

त्यससँगै केही मात्रामा अस्पतालले विदा दिएर घर फर्काइएका बिरामीहरुका लागिसमेत व्यक्तिगतरुपमा केहीले ग्यास लग्ने गरेको उनले बताए । सप्लायर्स भण्डारीका अनुसार घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुद्ध अस्पताललगायत कोरोना विशेष अस्पताल बेलझुण्डीमा समेत स्टक ग्यासका सिलिण्डरहरु रहेकोसमेत उनले बताए ।

‘कोरोना विशेष अस्पताल बेलझुण्डीसहित घोराहीका अस्पतालहरुमा स्टक मात्रामा ग्यासका सिलिण्डरहरु रहेका छन् । थप ग्यास पनि आउँदैछ’, भण्डारीले भने– ‘तत्काल जिल्लामा अक्सिजन ग्यासको समस्या हुँदैन ।’ उनले घोराही र तुलसीपुरमा गरेर आजै १ सय ३० सिलिण्डर अक्सिजन ग्यास आउँदै गरेको समेत बताए । उनले अक्सिजन उत्पादन गर्ने नेपालगञ्जको कम्पनीमा समस्या हुने र ट्रान्सपोर्टहरुले ल्याउन छोडेमा मात्र अक्सिजन ग्यासको अभाव हुने बताए ।

मार्केट नहु“दा उद्योग बन्द

दाङमा हस्पिटलका लागि आवश्यक अक्सिजन उत्पादन गर्ने उद्देश्यले करिब दुई बर्ष पहिले घोराही उपमहानगरपालिका–३ झिङ्नीमा दाङ अक्सिजन उद्योग स्थापना भएको थियो । करिव चार करोडको लगानीमा सञ्चालनमा आएको उक्त उद्योगबाट उत्पादन भएको अक्सिजन ग्यासको मार्केट नभएपछि करिव दुई बर्ष पहिले नै उद्योग बन्द भएको दाङ अक्सिजन उद्योगका सञ्चालक टोपाराम पौडेलले बताए ।

उत्पादन भएको अक्सिजनको तुलनामा बढी खर्च आउन थालेपछि आफूहरुले उद्योग बन्द गरेको उनले बताए । ‘दाङको सानो मार्केटका कारण उत्पादन भएको अक्सिजनका सिलिण्डर नै बिक्री नहुने अवस्था भएपछि उद्योग बन्द गरेका हौं’, सञ्चालक पौडेलले भने– ‘उत्पादनभन्दा खर्च बढी भएपछि उद्योग कसरी चलाउने ?’ उनका अनुसार जिल्लामा अक्सिजनको खपत अहिले पनि अवस्था उस्तै रहेको छ ।

दाङमा अक्सिजनको खपत नबढेसम्म उद्योग सञ्चालन गर्न नसकिने समेत उद्योगका सञ्चालक पौडेलले बताए । खर्च बढी आम्दानी कमसँगै विद्युतको समस्या, उद्योगका लागि जनशक्तिको अभावलगायतका कारण उद्योग बन्द भएको सञ्चालकको भनाइ छ । बेलझुण्डीमा रहेको कोरोना हस्पिटलका कारण केही दिन खपत बढे पनि अहिले पनि अस्पतालले बिरामीलाई बाहिर रिफर गर्न थालेपछि खपत घटेको समेत बताए ।