त्रिशक्तिभित्र लुकेको सत्य

  •   
  •  

नारायणप्रसाद श्रेष्ठ
मानव जीवनलाई गतिशील बनाउने उत्तम विकल्प उसको आचरण र व्यवहार हो । जीवनलाई कसरी र कुन मोडमा लैजाने उसभित्र उत्पन्न हुने विचार हो । विचार शक्तिबाट नै जीवनले उद्देश्यअनुरुप गति निर्धारण गरेको हुन्छ । शुद्ध र पवित्र विचारले चलायमान मानवीय आचरण र व्यवहार नै जीवनको उच्चतम् सफलता हो ।

यही सफलताबाट नै मानिसले आफूलाई इतिहासमा दर्ज गराएको हुन्छ । जहाँ जुन कर्मले इतिहास लेखिन्छ, त्यहाँ त्यही कर्मले उसलाई चिरकालसम्म अदृश्य जीवशक्तिको रुपमा परिचय पनि गराइरहेको हुन्छ । यही परिचय भविष्यका लागि मार्गनिर्देशक भएर प्रस्तुत भएको पाइन्छ । शरीर नाश भए पनि उसको आत्मालाई प्रत्येक क्षण, प्रत्येक वर्ष सम्झनयोग्य बनाएको हुन्छ । त्यसैले त्यस्तो उत्तम विकल्पको सूत्रधार त्रिशक्तिलाई पहिचान गर्न सक्नुपर्दछ ।

जसरी राज्यको प्रमुख व्यक्ति आफू स्वयं काम गर्दैन, नीति कायम गरी गर्न–गराउन आदेश दिन्छ, राज्यको कारोबार गर्ने–गराउने अलग निकाय हुन्छन् त्यसैगरी आत्माले पनि आफू गर्दैन, आफूभित्रको जड तत्वले शरीर रुप धारण गरी साकार कर्मेन्द्रीयहरुमार्फत आचरण र व्यवहार प्रस्ट्याउँछन् । यो गर्ने–गराउने भनेको मन, बुद्धि र संस्कार हो । यो त्रिशक्ति मन, बुद्धि र संस्कारले जीवनलाई उत्तम गतितिर डो¥याइरहेको हुन्छ र जीवनलाई चलायमान गराइरहेको पाइन्छ । तसर्थ यसको जानकारी सबैमा हुन जरुरी छ ।

मनले बुद्धिलाई, बुद्धिले साकार कर्मेन्द्रीयलाई र स्थापित संस्कारअनुकूल कर्म गरी जीवनलाई सहज गति दिन निर्देशन दिइरहेको हुन्छ । त्यसैले मन, बुद्धि र संस्कार जीवनलाई उत्तम गति दिने महत्वपूर्ण आधार र विकल्प भएकाले यो कुरा सबैले स्वीकार्न अनिवार्य हुन्छ । विचारशक्तिलाई जथाभावी बहकिन दिनु भनेको आफूले आफैलाई पतनको मार्गमा लैजानु हो ।

मानिसको मनले क्षणभरमा संस्कार भ्रमण गरिरहेको हुन्छ । अनगिन्ती विचार र कर्म गर्न उत्प्रेरित गरिरहेको हुन्छ । क्षणमा एउटा, क्षणमा अर्को कर्म गर्न बुद्धिलाई उक्साइरहेको हुन्छ । कर्मेन्द्रीयहरुलाई निर्देशन दिइरहेको हुन्छ । चञ्चलस्वरुप धारण गरी कहिले यता र कहिले उता दौडिरहेको हुन्छ ।

चञ्चलता मनको विशेषता नै मानिन्छ । यो न त स्थिर भएर रहन सक्छ न त कर्मेन्द्रीयहरुलाई स्थिर रहन दिन्छ । यसको गुण भनेकै अरुलाई उकास्नुजस्तै हुन्छ । अर्को शब्दमा भन्ने हो भने मन आँधी–तुफान हो, जो क्षणमा सबै गर्न सक्छ र क्षणमा शान्त पनि हुनसक्छ । मन शान्तस्वरुप पनि हो । जसले क्षणभरमा बुद्धि र कर्मेन्द्रीयहरुलाई शान्त बनाइरहेको पनि पाइन्छ ।

त्यसैले मानिस भन्ने गर्छन्, मन प¥यो गरेँ, मन लाग्यो गरेँ, मन लाग्यो खाएँ । यस्तै–यस्तै अनेक प्रकारले मनको उद्वेग कर्मेन्द्रीयबाट प्रस्फूटन भइरहेको हुन्छ । त्यसैले मनको चञ्चतालाई बुझी बुद्धिले त्यसको छानविन गरी जीवनलाई चलायमान गराउनुपर्दछ । बुद्धि मनलाई तौलने उत्तम माध्यम मानिन्छ । मनबाट उत्पन्न हुने हजारौं विचारलाई बुद्धिले छटनी गरेको हुन्छ । त्यसैले भनिन्छ, ‘बुद्धिऐसे बलमतस्यै, निबुद्धिसे कुतोबलम् ।’ बुद्धि छ त सबै छ, यदि बुद्धि नहुँदो हो त जीव कर्तव्यविहीन तथा पानीको तरंगझैँ तरंगिरहने थियो ।

बुद्धि छ त बल र कर्म सबै छ, त्यसैले बुद्धिको यो महानतालाई सबैले स्वीकार्नुपर्दछ । मनको उद्वेग र भावनालाई बुद्धिले तौलेर कर्मेन्द्रीयहरुलाई कर्म गर्न उत्प्रेरित गर्ने हुँदा मन, बुद्धिबीचको सम्बन्ध नङ–मासुसरी टाँसिएको हुन्छ । यी दुबै एकअर्काको परिपूरक हुन् । मनले विचार उत्पन्न गर्छ, बुद्धिले त्यसलाई छानेर इन्द्रीयहरुलाई चलायमान बनाउँछ । इन्द्रीयहरु मनको भावनाअनुकूल जब कर्ममा उत्रन्छन्, तब संस्कारले मन र बुद्धिलाई भन्ने गर्छ– ए ! मन, त किन हतारिँदैछस् ? कर्म त समयअनुकूल भइरहेको छ र यो प्रक्रिया चलिरहन्छ पनि ।

त्यसैले हतार नगर । फेरि बुद्धिलाई पनि भन्छ– त त इमान्दार छस्, त पनि मनको बहकावमा लागिस्, सुन कर्म त गर्ने हो तर स्थापित मूल्य र मान्यता बोकेको संस्कारअनुरुप गइसन् भने त जीवन बर्बाद हुन्छ नि ? फेरि सामाजिक संस्कृतिअनुकूल आचरण नगरे जीवनले उत्तम गति लिन पनि सक्दैन नि ? मनको भावनालाई छटनी गर्दा संस्कार पनि छ है भनी सोचिनस् ? यसरी संस्कारले मन र बुद्धिलाई मार्गनिर्देशन गरिरहेको हुँदा यसलाई गम्भीर भएर बुझ्न जरुरी छ ।

जीवनमा जति पनि राम्रा कर्महरु हुन्छन् यी त्रिशक्तिको माध्यम परिचालन भइरहेको हुन्छ । शरीर त्रिशक्तिको दास पनि हो । यिनले जे भन्छन् त्यही गर्ने शरीरको कर्म पनि हो । तसर्थ जीवनमा आउने जति पनि उतार–चढावहरु छन् ती सबै हाम्रै विचार र कर्मको उपज भएकाले यस कुरालाई बुझेर जीवनलाई गतिशील बनाउनुपर्दछ ।

विश्वास र इमान्दारिता अपनाई प्रत्येक कर्ममा आउने परिवर्तनलाई बुद्धि र विवेकशील नेतृत्व दिन सधै लागिरहनुपर्दछ । उत्तम कर्मले विश्वास जन्माउँछ, विश्वासले भरोसा जगाउँछ, भरोसाले सेवामा रहन उत्प्रेरित गर्दछ र सेवाले सबै आत्माको सन्तुष्टिको आधार तयार गर्दछ । त्यसैले उत्तम कर्मको गतिलाई विवेकले छटनी गरी सेवा नै परमोधर्म हो भन्ने मान्यता स्थापित गर्न मनलाई स्थिर र उत्तम विचारको मुहान बनाउनुपर्दछ ।

मनमा उठ्ने जति पनि तरंगहरु छन्, ती सबै जीवनउपयोगी गतिमा आधारित हुन्छन् भन्ने सत्य प्रमाणित हुने गरी कर्म गर्नु–गराउनु पर्दछ । हुन त आधुनिक युगअनुकूल आचरण र व्यवहारमा आफूलाई अभ्यस्त गराएका बुद्धिजीवीहरुले यस सत्यलाई कसरी स्वीकार्नुहुन्छ ? यो उहाँहरुको विषय हो । यसमा विभिन्न तर्क र वितर्कहरु पनि उठ्न सक्लान् तर त्यसलाई छोडेर यदि गम्भीर भएर हृदयको भावलाई बुझ्ने हो भने त्रिशक्तिको रुपमा मानी आएको सत्यले जीवन चलायमान भएको कुरामा कसैको दुईमत नहुन सक्छ ।

चेतन मन र अचेतन मनमा उब्जने विचारशक्तिलाई बुद्धिको माध्यम संस्कार र परिवेशअनुकूल जसरी समय र परिवेशले जीवनलाई यो अवस्थासम्म विकसित गराएको छ, यसबाट के प्रस्ट हुन्छ भने हामी हाम्रो आचरण र व्यवहारबाट नै संस्कार नजिक भइरहेको रहेछ । एकअर्काको सहयोगी भरोसायोग्य बनेका रहेछौं । त्यसैले सूर्यको उज्यालोझैँ मन, बुद्धि र संस्कारले जीवनलाई उत्तम गति दिने महत्वपूर्ण माध्यम भएकाले निर्विकल्परुपमा जीवनको गतिलाई गतिशील बनाउने त्रिशक्तिलाई कहिल्यै कमजोर ठान्नु हुँदैन र बिर्सनु पनि हुँदैन ।

तसर्थ प्रत्येक जीवात्माले समयको गतिसँगै गतिशील रहने जीवसत्यको यथार्थ पहिचान गरी जीवनको हरेक मोडमा आउने उतार–चढावलाई यो मेरै विवेक र कर्मको फल हो भनी स्वीकारी आफूले अरुप्रति दर्शाउने प्रेमभावलाई अकबरी सुनसरह चम्किलो बनाइरहनुपर्दछ । जसरी अकबरी सुनलाई कसी लगाउन पर्दैन भन्ने मान्यता स्थापित भएको छ, त्यसरी नै जीवनले लिने उत्तम गतिलाई आत्माको निर्देशनअनुसार परिचालन हुने शक्तिलाई सधै उत्तम विकल्प हो भन्ने धारणा राखी जीवनलाई चलायमान गराउनुपर्दछ ।

मनलाई पवित्र उद्यानमा रहने वातावरण तयार गर्न बुद्धि र संस्कारलाई रथको एउटै पाङ्ग्रा बनाई सोचाई र व्यवहारमा रुपान्तरण गर्ने कर्म गर्नुपर्दछ । कर्मप्रधान जीवनको उत्तम गति भनेको उसको व्यवहार र आचरण भएकोले यसलाई परिस्कृत स्वरुप राखिरहन सत्यभित्र लुकेको तत्वको पहिचान गराउन जरुरी पर्दछ । किनकि जीवनको गोरेटो उबड–खावड पनि हुनसक्छ । कहिले उकालो कहिले ओरालो त्यो समयअनुकूल भइरहने प्रक्रिया पनि हो ।

यसलाई हृदयभित्र लुकेको मनको भावलाई बुझी बाह्य जगत्मा हुने क्षणिक दुःख र सुखलाई आत्मसात गर्न सक्नुपर्दछ । वाह्य जगत्मा भएको मायाको जालमा परी गर्न हुने वा नहुने कर्मप्रति आकर्षित हुनुपूर्व मनको उद्वेगलाई बुद्धि र संस्कारले परिमार्जित गरी गर्न हुने र नहुने कर्मको छटनी गरी जीवनलाई गतिशील र उन्नतितर्फ लैजाने कर्म गराउनुपर्दछ । धैर्यता र लगनशीलता बुद्धि र संस्कारलाई उत्तम गति दिने आधारशीला हुन् ।

यही नै मनभित्र अदृश्य शक्ति भएर रहने मनको भाव पनि हो । तसर्थ दृढ र पवित्र मनको उद्वेगलाई बुद्धि र विवेकी भई सामाजिक मूल्य र मान्यता कायम गरेको संस्कारअनुकूल जीवनलाई चलायमान बनाउने भावनाको उच्चतम मूल्यांकन गरी आफूलाई प्रस्तुत गर्नुपर्दछ । यो हिजो, आज र भोलिको लागि अपरिहार्य आवश्यकता मानिन्छ । त्यसैले यो अवस्थासम्म हामीलाई चलायमान बनाउने त्रिशक्तिलाई हृदयमा धारण गरी सबैले आफ्नो उद्देश्य परिपूर्ति गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्दछ ।

उद्देश्य परिपूर्ति गर्ने सवालमा केवल व्यक्तिवादी चिन्तन र स्वार्थपरक क्रियाकलाप गर्नु–गराउनु हुँदैन । वर्तमान यसैको शिकार भएको देखिएको छ । जे कुरामा पनि व्यक्तिवादी चिन्तन हावी भएको अवस्था छ । तसर्थ अब सबैले यसको महत्व र आफ्नो जिम्मेवारी बुझी आफूलाई उतार्नुपर्दछ । यो आजको आवश्यकता हो ।