जीर्ण बन्दै भैँसापथ्राको शिव मन्दिर

देवेन्द्र वली
दाङ, २५ कार्तिक । संरक्षणको अभावमा घोराही उपमहानगरपालिका–५ भैँसापथ्रामा रहेको शिव मन्दिर जीर्ण बन्दै गएको छ । मन्दिर जीर्ण बनेसँगै मन्दिरको आय स्रोत समेत घट्दै गएपछि मन्दिर थप समस्यामा परेको छ ।

हिन्दू धर्मको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले धेरै वर्ष पहिले स्थापना भएको उक्त मन्दिर संरक्षणका लागि राज्य स्तरबाट बजेट विनियोजन नहुनु र स्थानीयले चासो दिन छोडेपछि मन्दिरको अवस्था कमजोर बन्दै गएको हो । पुरानो मन्दिरको संरक्षणमा चासो नदिँदा जीर्ण बन्दै गएको स्थानीय दोर्णबहादुर वलीले बताएका छन् ।

पुरानो मन्दिरको संरक्षणका लागि विभिन्न पक्षसँग पटक–पटक आग्रह गरिएको भए पनि त्यसले सार्थकता पाउन नसकेको उनले बताए । ‘गाउँको पुरानो मन्दिर भए पनि मन्दिर संरक्षणमा स्थानीय सरकारसँगै स्थानीयवासीले चासो नदिँदा मन्दिरको अवस्था कमजोर बनेको छ’–स्थानीय वलीले भने–‘मन्दिरको संरक्षणका लागि स्थानीयले सक्रियता देखाउने र थोरै भए पनि राज्यले सहयोग गर्न आवश्यक छ ।’

उनका अनुसार खिया लागेर चुहिने छानो फर्ने, मन्दिरको मैदान सम्याउने, पुरानो मन्दिर साँघुरो भएकाले खुल्ला र ठूलो मन्दिर बनाउन आवश्यक छ । घोराही–५ मा रहेको शिद्धबाबा सामुदायिक वनमा रहेको हात्ती ढुङ्गा र भैँसापथ्रा गाउँमा रहेको भैँसीढुङ्गासँग उक्त मन्दिरलाई जोडेर विकास गर्नसके यस क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्न सकिने अर्का स्थानीय गेहेन्द्रबहादुर डाँगीले बताए ।

मन्दिर व्यवस्थापन समितिका सदस्य समेत रहेका डाँगीले मन्दिरको संरक्षण र विकासका लागि पहल भए पनि राज्यस्तरको सहयोग नहुँदा मन्दिर राम्रो बनाउन नसकिएको बताए । उनले मन्दिरको संरक्षण र विकास हुनसके गाउँको लागि धेरै राम्रो सम्भावना रहेको समेत बताए । गाउँको पुरानो मन्दिरका रुपमा रहेको उक्त मन्दिरमा शिवरात्री, तीजलगायतका पर्वहरुमा पूजापाठसँगै मेला लाग्ने गर्दछ ।