गयो दशैँ मासु सुकाएर, आयो तिहार फिनी पकाएर

  •   
  •  

मधुसूदन सुवेदी
नेपालीको महान् चाड दशैँपछि तिहार नजिकिएको छ । दशैंलाई आसुर शक्तिमाथि दैवी शक्तिले परास्त गरेको नजदुर्गा भवानीको पूजापाठ, ब्रत आराधना गरेर मनाउने धार्मिक मान्यताका आधारमा दही, चिउराको पर्व भनिए तापनि पछिल्लो समयमा मासु, चिउरा, सेकुवा, भुटुवा।

सुकुटी, कवाफ, फ्राइ विभिन्न मांश परिकारलाई पहिलो प्राथमिकतामा राखेर, त्यसको साथमा वियर, भोड्का, कोक, जुस तथा खाएपछि पर्ने भुसजस्ता मादक पदार्थलाई केन्द्रमा राखेर विभिन्न तरिकाबाट मासुलाई पचाउने वहानामा पर्व गनेर वा मानेर दशैं पर्वले बिदा लिएको छ । दशैंसँगै भित्रिने अर्को र माइलो चाड भनेको तिहास हो ।

यो पर्वलाई फूलको पर्व, देउसीको पर्व, भैलोको पर्व, सेल रोटीको पर्व, मेवा मिष्ठान्नको पर्व र सप्तरंगी टीका र मालाको पर्व भनिन्छ । दशैंलाई जसरी शक्तिको खानी महाकालीलाई मानियो भने यो तिहारमा सुख, स्वास्थ्य, धन, धान्या, तथा धनकी देवी महालक्ष्मीलाई मानेर दीपको वली दिएर वा चारैतिर उज्यालो नै उज्यालो पारेर मनाउने गरिन्छ । धार्मिक मान्यता अनुसार तिहारको उज्यालो पारेर मनाउने गरिन्छ ।

धार्मिक मान्यता अनुसार हिारको अत्यन्त महत्वपूर्ण स्थान छ । यसले आफ्ना दिदीबहिनीलाई लक्ष्मीको रुपमा साक्षत मानेर उनीहरुबाट आशीर्वाद थाप्ने र आयु–आरोग्यताको बृद्धि गर्ने हिसाबले पनि यसको व्याख्या गरिन्छ ।

तिहारमा विधिपूर्वक र भक्तिपूर्वक यमराजको पूजा आराधना गरी आफ्ना दिदीबहिनीको हातबाट सप्तरंगी टीका निधारमा लगाउँदा र गलामा सयपत्री, मखमली, गोदाबरी, गुर्धौली, लालाराती, केराको पुष्प, काँक्राको वियाँको, माला, जमराको मालालगायत सबै थरिका माला गलामा पहिरिनाले यमराजको मृत्यु नहुने, अकालमा मृत्यु नहुने र मृत्युपछि पनि यमलोकले भय नहुने भन्दै हाम्रा धार्मिक ग्रन्थले अत्यन्त महत्वका साथ हेरेका छन् ।

तिहार विशेषतः लक्ष्मीकै पर्व हो र यो धनधान्य प्राप्तिका लागि मनाइने पर्व हो । धनबिना मानिस शक्तिही र शक्ति क्षिणको हुनाले पनि शक्तिका लागि धन प्रापितको आधार ठूलो बनेको हो । यसै धनका लागि पनि कार्तिक विशेष ५ दिनलाई यमपञ्चक भनि उनैका नाममा दीप प्रदर्शन गर्ने र घर–घरमा रोटीको वासना फैलाउने काम गरिन्छ ।

यमराजले भनेका छन्– जसको घरमा तेलको कराई र त्यहाँ पाकिरहेको रोटीको बासना थाहा पाउँछु त्यहाँ मेरो प्रशन्नता हुने र त्यो घर खुशी रहने छ । त्यसैले पनि तेलको कराईको बहाव तयार गरि धुलोमा डोसेर त्यो तेलमा सेल, फिनी, अर्सा, अनरसा, खुर्मा, नम्किन, जुम्ली अर्सा, लालमोहन, बतासा, पापड, फिनी रोटीलगायत विभिन्न रोटीका परिकार तेलमा घ्यूमा वा अन्य तेलीय वस्तुमा पकाइन्छ । तिहार भन्ने बित्तिकै रोटी र फलको पर्व हो ।

यतिबेला नफल्ने फल केही पनि छैनन् । प्रकृतिमा फलको संसार देखिने नै यही कार्तिक महिना हो । अहिले विशेष गरी तिहारले मंसिर छोइसकेको हुँदा फूलको रौनक कमै देखिए तापनि दशैंदेखि फूल्दै गरेका फूलबारी अझै पनि ओइलिइसकेको अवस्था भने छैन । फूलमा आत्मनिर्भर नबनेको हाम्रो देश कृत्रिम मालाको प्रयोग गरेर भए पनि तिहारलाई मालाको पर्व भनेर देखाउन पछि पर्ने छैनन् ।

फूलसँगै जोडिएको विभिन्न मसला पनि हो । यो किन पनि महत्वपूर्ण मानिन्छ भने तिहारपछि विशेषतः प्राकृतिक हिसाबले मौसममा आउने बदलाव र चिसोपनलाई थेग्न सक्ने, छिचोल्न सक्ने हिसाबले पनि यो पर्वमा बदाम, ओखर, काजु, किसमिस, गडी, छोहरा, ल्वाङ, सुकमेल, कटुस, सुपाडी आदिजस्ता तैलीय फलफूल त्यसको कुन्द्री, गुदी तथा फूल खाने गरिन्छ ।

अत्यधिक चिल्लो र तेलमा तारेका पकाएर वा झानेका परिकार खाँदा मानव स्वास्थ्यमा रोगसँग लड्नसक्ने क्षमतामा कमी आउने कुरा स्वास्थ्य विशेषज्ञहरुको भए तापनि बाहिरी कडा आवरण भएका फलभित्रको गुदी खानाले मानव स्वास्थयमा ठूलो शक्ति प्राप्त हुने कुरामा भने दुईमन नै छैन । जस्तै ओखरलगायत त्यससँग सम्बन्धित प्रजाति फलभित्रको गुदी मानव स्वास्थ्यको लागि हितकर छ ।

त्यसैले पनि ओखर र बदाम महिनाको समिश्रणले तयार पारिएको तिलौरो भन्ने परिकार यो बेलाको उत्तम परिकार हो । सामाजिक र जनजिभ्रोको भाषामा जे–जे भनिए तापनि विगतदेखि सबैले चिन्दै, जान्दै र भन्दै आएको तिलौरो सबैको एक समष्टि रुप हो । जसको सेवनले मानव स्वास्थ्यमा ठूलो शक्ति प्रदान गर्दछ ।

सेतो तील, कालो ती, घ्यू, चिनी, मह, बदाम, काजु, किसमिस, छोहरा, गडी, बदाम कटुस यावत मिसाएर सबैको एकमुष्ठ परिकार प्रमुख विशेषता हो । यसलाई एकपटक बनाएर महिनौँ दिनसम्म पनि एक–एक चम्चाका दरले खान सकिन्छ । धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक, पारम्परिक तथा स्वास्थ्यगत दृष्टिकोणले अत्यन्त महत्वपूर्ण तथा पवित्र रहेको यो तिहार पर्व सबैका लागि विशेष रमाइलो छ ।

धार्मिक पर्व मान्ने र धान्ने नाममा विभिन्न समयमा विभिन्न तडकभडक, आडम्बरी देखासिकी तथा बनावटी बन्दै आएको परिप्रेक्षमा यसको मूल्य र मान्यतालाई आधार मानेर अघि बढ्न नितान्त जरुरी छ । दशैं पर्वलाई मासु पर्व मानेजस्तै तिहारलाई जुवा, तास, पासाको पर्व नमानेको हाम्रो समाज होइन र छैन । तर पनि यसलाई पनि सीमितताभित्र राखेर आफ्नै परिवारभित्र रमाइलो र मनोरञ्जन गर्ने हिसाबले मात्र प्रयोगमा ल्याइनु पर्छ र व्यक्ति–व्यक्तिबीचमा ठूलै प्रतिस्पर्धा गरेर घर, खेत, श्रीसम्पत्ति, जायजेथा नै काडेर र मासको दाउँमा राखेर मैदानमा जुवा खेल्नु भनेको मूर्खता हो ।

जित्नका लागि हाँसो भए तापनि हार्नेको लागि जीवनभरको आँसु बन्नु समाजका लागि राम्रो र उपयुक्त होइन । पर्व, वर्गमा मनाउने कुरा हो तर पर्व घमण्ड र आडम्बरमा मनाउने कुरा होयन । दशैंमा आँगनमा डोरी टाँगेर मासुका लहरा झुण्ड्याएर पर्व मनाउँदा रमाइलो लाग्ने र तिहारमा डोको डालो, छिट्वामा फिनी भरेर रोटीका दुकान थापेर मनाउँदा आनन्द लाग्ने बानीलाई बेलैमा त्याग्नु उपयुक्त हुन्छ ।

अन्यथा यी र यस्ता पर्वमा हामीले अपनाएको भड्किलोपनले हाम्रै जीवनमा ठूलो घटना घटाउन सक्छ । आफ्नो हैसियतअनुसार लवाइखवाई गर्दा राम्रो देखिन्छ । अन्यथा त्यसलाई देख्नेले र हेर्नेले जरौरी भन्छन् ।