टीएन भट्ट ‘विश्वामित्र’
प्रत्येक मान्छे कुनै न कुनै रुपमा कलाको पारखी हुन्छ र त्यो कलाले काव्यिक चेतनाको विकास गराउँछ। यहि काव्यिक चेतनाको कारणले नै मान्छेले स्वयममा ‘मानवता’ पनि भेट्छ। गीत, संगित,कला र साहित्य मार्फत मान्छेले आफ्ना अनुभूतिहरू अभिव्यक्त गर्ने भएकोले मानव सभ्यताको विकाससंगै काव्य विधाको विकास भएको हुनु पर्दछ।
शैली फरक होलान, प्रस्तुति फरक थिए होलान र छन पनि, काव्य चेतनाले सचेत मान्छेको प्रस्तुतिमा देश, काल, समाज र विश्व बोल्छ।
आचार्य भाहदेखि जगन्नाथ र पश्चिममा अरिस्टोटल देखि आइ. .ए रिचार्ड सम्मले कविताको बारेमा आ-आफ्ना विचार पोखेका छन्। प्रसिद्द अङ्ग्रेजी कवि विलियम वर्ड्सवर्थले त कवितालाई “बेजोड अनुभूतिको स्वस्फूर्त अभिव्यक्ति” भनेर पनि परिभाषा गरेका छन्।
परिभाषाहरुमा जे जति फरक मत आए पनि कवितामा कला र भाव मुख्य दुई पक्ष रहने कुरालाई सबैले स्वीकारेका छन् । कलाले कविताको बाह्य संरचनासँग र भावले आन्तरिक पक्षसँग सम्बन्ध राख्छ भने यी दुई पक्षको संयोजनबाट नै एउटा कविता तयार हुन्छ भन्ने कुरामा सायद दुइ मत नहोला ।
कविता विचारको पनि अभिव्यक्ति हो। यो स्वस्फूर्त हुन पनि सक्छ नहुन पनि सक्छ, तर विचारको दृश्टिकोणले कविताले मान्छे र मान्छे वाचेको समयलाई प्रतिनिधित्व गर्छ वा गर्दैन त्यो चाहि महत्वपूर्ण कुरा हो जस्तो लाग्छ।
धेरै जसो मान्छे र मान्छे बाँचेको समयलाई कला र भावको समिश्रणद्वारा अभिव्यक्त गर्न सफल सृजनाहरू नै कालजयी भएका छन्। त्यसकारण पनि आजको साहित्यले समाज, सामाजिक समस्या, मनोविज्ञान, राजनिती र मानवता मात्र हैन प्रेम, यौन, सुन्दरता, प्रकृति र चराचरको वारेमा पनि बोल्नु पर्दछ।
नेपाली गध कविताको श्रीगणेश गोपाल प्रसाद रिमालबाट सुरु भएको मानिन्छ। तत् पश्चात नेपाली कविताको फाँटमा धेरै कविताहरू लेखिएका छन्। यस्तै कविताको फाटमा नयाँ कविता सङ्ग्रह ‘ हराएका छोराहरू’ लिएर आएका छन् कवि राजबाबु श्रेष्ठ ‘सागर’।
कविता सङ्ग्रहमा छोटा र लामा गरेर पचपन्नवटा कविताहरू छन्। त्यसो त कविता मात्र हैन बन्द फ्रेमको चिठी मार्फत आख्यानमा समेत हात चलाएका राजबाबुको यो पहिलो कविता सङ्ग्रह हो। यस कवितामा सङ्ग्रहमा रहेका छोटा र लामा कविता मार्फत कविले आँफू बाचेको युगको बारेमा केहि कुराहरू सुक्ष्म ढङ्गले अभिव्यक्त गरेका छन्।
राजबाबुका कवितामा खासगरी समय चेतना पाइन्छ। जीवनका हरेक पाटाहरूलाई कविता मार्फत कविले जीवन्त बनाउन खोजेका छन। भनिन्छ, साहित्य समाजको ऐना हो। यसो पनि भनिन्छ, कविहरूले साहित्यमा प्रतिपक्षको भुमिका निभाउनु पर्दछ।
समाजमा देखिएका अराजकता, विसङ्गति, भ्रष्टचार, दुराचार, ब्यभिचार, कुविचारलाई काव्यिकरूपमा विभिन्न प्रतीक, विम्ब तथा अलङ्कारको माध्यमद्वारा शसक्त ढङ्गले देखाइदिनु एउटा साहित्यकारको धर्म मानिन्छ। सत्ताको वरिपरि झुम्मिएर भजनमण्डलीको काम गर्ने, सत्ताका गल्तिहरूलाई ढाक छोप गरि प्रशंसाको बाँसुरी बजाएर क्षणिक लाभलिने साहित्यकारहरूको कमि नभएको समाजमा शासकवर्गले गरेका गल्तिहरूलाई निर्भीकताका साथ उजागरगर्दै एउटा कविले निभाउनु पर्ने दायित्व निभाएका छन् राजबाबुले। सत्यलाई सत्य नदेख्ने, देखेर पनि आँखा चिम्लिने र अनवरतरूपमा नग्नतामा पनि श्लीलता देख्ने मान्छेहरू देखेर भाउन्निन्छन् कवि र तिनीहरूमाथि कटाक्ष गर्छन;
जिउँदो हुँदा पनि ठोक सलामी
मरे पछि पनि ठोक सलामी (ठोक सलामी ए मलामीहरू हो)
राजनितिक सचेतता र देश प्रेम राजबाबुको कवितामा पाइने एउटा विषयवस्तु हो। हुनत, धेरै कविहरूले विगत देखि वर्तमान समयसम्म यहि विषयवस्तुलाई बोकेको पाइन्छ र त्यो कुरामा राजबाबु पनि अछुतो छैनन तर उनको प्रस्तुतिमा बढि निर्भीकता र थोरै भए पनि नयाँ शैली देखिन्छ जुन चाहि सर्वसाधारण मान्छेहरूको लागि पनि बोधगम्य छ। उनका विम्बहरू साधारण मान्छेले पनि बुझ्दछन। यस अर्थंमा उनी सफल कवि हुन।
उनका धेरै कवितामा देखिएको राजनैतिक सचेतता समाज रुपान्तरणको दिशामा अगाडि बढेको देखिन्छ र त कवि समाज नबदिएकोमा दुखी देखिन्छन। समयको खेल, सर्वहाराहरूको नारा लगाउने केहि सर्वहाराहरू बुर्जुवामा परिणत भएका र अरू धेरै धेरै त्यतिकै छाडिदा कवि भावविह्वल हुन्छन र भन्छन्;
शान्ति घोषणा पछि बदलिए सारा नाराहरू
बदलिए सारा नारा लगाउने सर्बहाराहरू
तर बदलिएन उसले बदल्न खोजेको देश (हराएका छोराहरू, पेज,२०)
सायद त्यही भएर होला कविले आफ्नो कविता मार्फत प्रश्न सोध्ने धृष्टता राख्छन ‘ भन सरकार तिमी कस्ता जातका हौ’? सर्वहाराको नाम भजाए पनि आफ्नो ‘जात’ बिर्सेकोमा कविले आक्रोष पोख्छन।
एकातिर सर्वहाराको नारा बोकेर कोहि मुठ्ठीभर व्यक्ति सर्वभक्षी बन्ने खतरा देखिदैछ भने ठीक विपरित साँच्चिका सर्वहाराहरू आफ्नो भोकको आगो मेटाउन शहरका गल्लीहरूमा आफ्नो शरीर बेच्न बाध्य हुनु परेको तितो यथार्थलाई कवि यसरी व्यक्त गर्छन;
थाहा छैन मलाई
कहाँ हुन्छ यौवनको उदर
र कहाँ लाग्छ यौनको भोक (मेरा भोकहरू….)
त्यसो त समाजमा रहेका यी तमाम विकृतिहरूलाई समाधान गर्नकोलागि एउटा सुपात्रको खोज पनि उनका कवितामा पाइन्छ। कति कविहरूमा सामाजिक विसङ्गति औंलाउदा औंलाउदै कवि स्वयम् आवस्यकता भन्दा बढि भावुकभइ निरासावादको भङ्गालोमा हराएको पाइन्छ।
जसले पाठकलाई दुखी त बनाउछ, बनाउछ, एउटा संत्रासको वातारण सृजना गर्दै समाजलाई उल्टो दिशामा हिडाउने खतरा पनि त्यतिकै देखिन्छ तर राजबाबुका कविताहरूमा सकरात्क चेत छ। उनी भविष्य प्रति आसावादी हुँदै यी यावत सामाजिक र राजनैतिक दुष्चक्रबाट पारलगाउदै समाजलाई अग्रगामी दिशामा लैजाने सुपात्रको समेत कल्पना गरेका छन।
मलाई रोप्नु छ एउटा जीउदो शुक्रवीरको बिउ
उमार्नु छ एउटा जीउदो शुक्रवीर
जसले उम्रिएका डेड सुक्रबिरहरूका
बाँझा बारी जोतोस्। (जिउदो शुक्रवीर)
कविता सङ्ग्रहका धेरै कविताहरू सामाजिक र राजनैतिक विषयवस्तुमा केन्द्रित भए पनि कवि राजबाबु श्रेष्ठ सागर प्रकृति, सुन्दरता र प्रेमको बारेमा पनि सचेत देखिन्छन। उनका कवितमा प्रकृति प्रेम, धर्म संस्कृति र मानवीय चेतनाको समिश्रण पाइन्छ।
ढुङ्गालाई भगवान ठान्ने प्रवृति देखि सजक रहेका कविले सामाजिक चतेनाका खातिर शब्दहरुलाई आवाहन गर्दै भन्छन् ‘ जाग ए अक्षरहरू हो’। त्यसो त मानवीय चरित्रका कमजोरीहरू देखाइएका छन। ईश्वरीय शक्तिमाथि प्रश्न उठाउने कविले ढुङ्गालाई ईश्वर मान्ने मान्यतामाथि प्रहार गरेका छन भने प्रतीकात्मक रूपमा राज्यसत्ताका ठेकेदारहरुलाई ढुङ्गाको रूपमा उभ्याएका छन्। यस अर्थमा उनका कवितहरुमा सत्यको विविधता (मल्टिपल र्यालिटिज्) का संकेतहरू पाइन्छन।
चन्द्रमालाई विम्ब बनाएर कविता लेख्ने चलन पुरानै भए पनि प्रकृतिले मान्छेको जीवनलाई कसरी अर्थपूर्ण र सुन्दर बनाउन सक्छ भन्ने कुरा कविले यसरी देखाएका छन्।
मेरी समाइरा
जुन टिपिदे भन्छे
आज बादलका घोडेजात्रामा
उडेको धुलाम्मै धुलोले जूनै देखिन (टिपेर जुनकिरी…)
समस्टिगतरुपमा भन्ने हो भने राष्ट्र, राष्ट्रीयता, भाषा, संस्कृति, कला, प्राकृतिक सम्पदा, राजनिती, जीवन दर्शन, मानवताको खोजी, श्रृङ्गारीकता र सामाजिक विषयवस्तुलाई सुक्ष्म ढंगले बोधगम्यरुपमा प्रस्तुत गर्न सक्नु राजबाबुको खुबी हो।
‘हराएका छोराहरू’ मार्फत कविले देशमा धेरै कुराहरू हराएको संकेत गर्दै भविष्यमा ति चिजहरू फेला पर्ने र समाज सामाजिक, राजनैतिक तथा आर्थिकरुपमा समेत समृद् हुने कुरामा आसावादी देखिन्छन्। कविता सङ्ग्रह यस अर्थमा पनि पठनीय छ।
त्यसो त उनको पहिलो कविता सङ्ग्र हो यो। त्यसैले पनि कति कुराहरू समावेश हुन बाकी होलान। भाव र कलाको संयोजनका दृस्टिकोणले कति ठाउँमा तालमेल नमिलेको पनि देखिन्छ। अरू विषयवस्तु कम र राजनैतिक विषयवस्तुले बढि क्षेत्र ओगटेको पनि देखिन्छ।
कति ठाउमा कमजोर विम्बहरूको प्रयोगको कारण भनेजसरी भाव बोधगम्य हुन सकेको पनि छैन। कविमा शालीनता भन्दा बढि आक्रोष पनि देखिन्छ। कविको विचारमा आक्रोष जायज नै देखिएला तर आम पाठकले आक्रोष मात्र पढ्दैनन्, त्यसकारण त्यसमा संतुलन कायम गर्दै आउँदा दिनहरूमा जीवन दर्शन, र मानवीय कोमलता र प्रेमलाई समेत स्थानदिई काव्य सृजनामा लागेमा राजबाबु श्रेष्ठ ‘सागर’ले सागरको गहिराइ पत्तालागाउने छन। गहिराइमा पुगिसकेपछि राजबाबु जस्तो कविले यो कर्ण प्रिय गित अवश्य गुनगुनाउने छन् ‘ मोती नटिपी नफर्क’!
जय होस!
कविः राजबाबु श्रेष्ठ ‘सागर’
बिधाः कविता
प्रकाशकः बि.एन. पुस्तक संसार
मुल्यःरु १५०
(समीक्षक त्रिचन्द्र कलेज, अङ्ग्रेजी विभागका उप- प्राध्यापक हुन। toya.bhtta@gmail.com)