सिरिन्जको अभावले खोपसेवा प्रभावित

बालाराम खड्का
तुलसीपुर, २२ कार्तिक । तीन दिनअघि छोरीलाई खोप लगाउन राप्ती लाइफकेयर अस्पताल तुलसीपुर पुगेका तुलसीपुर उपमहानगरपालिका–६ का खिमराज भण्डारीले आफ्नी छोरीलाई खोप लगाउन पाएनन् ।

त्यहाँ उनकी छोरीलाई लगाउनुपर्ने बिसिजी खोप लगाउन त्यहाँ नपाएपछि खिमराज राप्ती प्रादेशिक अस्पताल पुगे । प्रादेशिक अस्पतालले पनि त्यहाँ बिसिजी खोप उपलब्ध नभएको बताएपछि उनी घर फर्केका छन् ।

तुलसीपुरमा मात्र होइन यो साता जिल्लाका सबै स्थानीय पालिकामा खोपका लागि सिरिन्जको अभाव देखियो । सबै बालबालिकाका लागि सबै खोपसेवा उपलव्ध हुन सकेन । त्यसमा पनि धेरै पालिकामा बिसिजी खोपका लागि सिरिन्जको अभाव भएको भन्दै स्थानीय पालिकाका खोप केन्द्रबाट बालबालिकाका आमाहरुलाई अर्को महिना आउनू भनेर फर्काइयो ।

यो महिना करिब–करिब ५० प्रतिशत जति बालबालिका बिसिजी खोपबाट बञ्चित भएका छन् । स्थानीय पालिकाका स्वास्थ्य प्रमुखहरुले भने यसलाई सामान्यरुपमा अभिव्यक्ति दिएका छन् । बालबालिकालाई लगाउने खोपजस्तो कुरामा पनि सामान्य अभिव्यक्ति दिँदा बालबालिकाका अभिभावक भने गम्भीर भएका छन् । एकजना आमा भन्छिन्– ‘खोप त छ, तर सिरिन्ज सकिएको छ भनेर फर्काइयो, यो कति लाजमर्नु कुरा हो’, सरकारी निकायले यसलाई गम्भीरतापूर्वक लिएका छैनन् ।

तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानेले केही समय खोपका लागि सिरिन्जको अभाव भएको स्वीकार गरे । उनले तुलसीपुर क्षेत्रमा हरेक महिनाको १० गतेदेखि १४ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुँदै आएको बताउँदै यो अवधिमा बिसिजी खोपको सिरिन्ज अभाव देखिएका कारण केही बालबालिकाहरु खोप सेवाबाट वञ्चित भएको बताए । खोप लगाउन छुटेका बालबालिकाहरुलाई अर्को महिनाको प्याकेजमा सबै खोपहरु उपलव्ध गराइने पनि महाशाखा प्रमुख न्यौपानेले बताएका छन् ।

उता घोराही उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख नारायण घर्तीले पनि कहिलेकाहिँ एक÷दुई दिन खोपको अभाव हुने भए पनि अहिले नियमितरुपमा खोपसेवा सञ्चालन भइरहेको दावी गरे । त्यसैगरी घोराही उपमहानगरपालिकामा पनि कुनै प्रकारका खोपको अभाव नभएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाले दावी गरेको छ । तर सो उपमहानगरपालिकामा पनि नियमित खोपका लागि केही समय सिरिन्जको अभाव भएको स्थानीय आमाहरुले बताएका थिए ।

कहिलेकाहिँ हुनुपर्ने ठ्याक्कै दिनमा नभएको हुनसक्छ, तर अभाव भने भएको छैन’, स्वास्थ्य शाखा प्रमुख घर्तीले भने– ‘भ्याक्सिन आउन कहिलेकाहिँ एक÷दुई दिन ढिलाई हुँदा सेवाग्राहीले नियमित दिनमा लाउन नपाउने हुन सक्छ ।’ उनले १–२ दिन ढिलाई हुँदा कोही आत्तिनु नपर्ने समेत बताएका छन् ।

सिरिन्ज पनि आइपुग्योेः स्वास्थ्य कार्यालय

जिल्ला स्वास्थ्य कार्यालय दाङले जिल्लामा अहिले कुनै प्रकारको खोपको अभाव नभएको जनाएको छ । सप्लाईमा ढिलाई हुँदा केही पहिले समस्या देखिए पनि कोरोना भाइरसका कारण जिल्लामा खोपको समस्या नभएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले दाबी गरेका छन् ।

तर संघीय स्वास्थ्य मन्त्रालयको स्वास्थ्य विभागबाट आउनुपर्ने खोप निर्धारित मितिमा निर्धारित मात्रामा जिल्लामा आउन नसक्दा जिल्ला स्वास्थ्य शाखाले पनि स्थानीय पालिकाहरुलाई खोपका लागि सिरिन्ज अभाव भएको भनेर फर्काएको थियो । उनका अनुसार अहिले बालबालिकाहरुका लागि तथा अन्य व्यक्तिहरुका लागि आवश्यक सबै प्रकारका खोपहरु रहेको समेत बताए ।

‘खोपहरुका लागि भ्याक्सिन तथा सिरिन्ज आउन ढिलाई भएका कारण १÷२ दिन ढिलाई भएको थियो समस्या भएको होइन’, कार्यालय प्रमुख शाहीले भने– ‘म आफैले १९ गते बिसिजीको सिरिन्ज ल्याएपछि अहिले त्यो समस्या हटेको छ ।’ उनले भने त्यही समयमा कोही सम्बन्धित पालिकाहरुमा रहेका स्वास्थ्य कार्यालयहरुमा पुगेको बेला पाउन नसकेको हुन सक्ने समेत उनले बताए ।