भूवन पोख्रेल
नेपालका हरेक प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व प्रदान गरेको नेपाली कांग्रेस जनआन्दोलनपछिको पहिलो निर्वाचित सरकारमा थियो । नेपाली कांग्रेसको संसदीय दलले नेताको रुपमा गिरिजाप्रसाद कोइरालालाई चयन गरेपछि गिरिजाप्रदा कोइराला प्रधानमन्त्री बने । नेपाली कांग्रेसको लामो संघर्ष केवल राजनीतिक अधिकारको लागि मात्र थिएन, नेपालको चौतर्फी विकास, जीवन स्तर बृद्धि र अन्य सुखसुविधा प्राप्तिका लागि पनि थियो ।
नेपाली कांग्रेसले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवादको मूललक्ष्य नै देशमा राष्ट्रियताको संरक्षण, सम्बद्र्धन गर्दै प्रजातन्त्रको माध्यमबाट देशको दु्रत आर्थिक विकास, उत्पादनमा बृद्धि, न्यायमुखी समाजको सिर्जनाका साथै गरिबी निवारण गर्नु हो । राष्ट्रियताको जग प्रजातन्त्रमा मात्र बलियो हुन्छ भन्ने विश्वास राख्ने नेपाली कांग्रेसको सरकार बनेको एक महिना पनि नबित्दै सर्वसत्तावादमा विश्वास राख्ने कम्युनिष्टहरुले कर्मचारी आन्दोलनको माध्यमबाट देशमा अस्थिरता ल्याई विकास निर्माणमा अवरोध खडा गर्नुको साथै प्रजातान्त्रिक मूल्य, मान्यता र प्रशासनिक मर्यादामा समेत प्रहार गरे ।
पञ्चायती तानाशाही व्यवस्थाले ३० दशक लादेका समाजका विविध समस्याहरु त थिए नै त्यसपछि आम निर्वाचनपछि बनेको सरकारको प्रारम्भदेखि नै नेकपा एमालेले सडक आन्दोलन गरी देशमा अस्तव्यस्तता उत्पन्न ग¥यो । त्यस्तो अस्तव्यस्ततालाई सुव्यवस्थित र अनुशासित बनाउनुपर्ने दिशाहीनतालाई निश्चित दिशा देखाउनुपर्ने, विपन्नताको खाडलमा सम्पन्नताको जग बसाल्नुपर्ने समस्या बोकेर आएको सरकार सुरुका दिनमै प्रतिपक्षले अनेकौं समस्या उत्पन्न गरी समाजमा अराजकता सिर्जना गर्न खोजेको अवस्थामा पनि नेपाली कांग्रेस मध्यावधि निर्वाचनमा होमियो ।
त्यसपछि स्थिर सरकार बन्ने वातावरण नै बनेन । दोस्रो संविधानसभामा नेपाली कांग्रेसले वहुमत ल्याएपछि संविधान त दिनसक्यो तर त्यसपछिको निर्वाचनमा आफू पुनः कमजोर प्रतिपक्षको रुपमा स्थापित भएको छ । कहाँ चुक्यो त कांग्रेस भनी सबेले प्रश्न चिह्न उब्जेको छ । नेपाली कांग्रेसले आफ्नो सिद्धान्त र आदर्शलाई अक्षरस पालन गरेको छ या आफ्नो सिद्धान्त र आदर्शलाई बिर्सेको छ ? भन्ने कुराको मूल्यांकन नेपाली जनताले गरिरहेका छन् ।
नेपाली कांग्रेस कुन सिद्धान्त र आदर्शलाई जनता सामू लगेर जनतामा स्थापित भएको हो भन्ने कुरा नेपाली कांग्रेसको नेतृत्वले बेलाबखतमा बिर्सने गरेको तथ्य कसै सामू छिप्न सकेको छैन । सिङ्गो नेपाली कांग्रेसको सिद्धान्त र आदर्शलाई एकातिर पन्छाएर जनताबीच जाँदाको परिणाम के हुन्छ भन्ने विगतका वर्षहरुमा भएका स्थानीय निर्वाचन र संसदीय निर्वाचनको परिणामलाई हेरे पुग्छ । नेपाली कांग्रेस जननायक विश्वेश्वरप्रसाद कोइरालाद्वारा प्रतिपादित सिद्धान्त र आदर्शबाट निर्देशित पार्टी हो ।
प्रजातन्त्रको पुनःस्थापनापछिका पछिल्ला वर्षहरुमा नेपाली कांग्रेसका कतिपय नेताहरुले वीपीको आदर्श र सिद्धान्तलाई चटक्क बिर्सेको परिणाम आज नेपाली कांग्रेसको यो अवस्था आएको हो । पार्टीभित्रको चरम आन्तरिक गुटबन्दी झाँगिँदै गएकाले नै कांग्रेस कमजोर बन्न पुगेको हो । पार्टीभित्रको गुटबन्दी प्रजातान्त्रिक अभ्यासमा नौलो होइन, यसमा पनि कांग्रेस अछूतो रहेन ।
पार्टीभित्रको स्वार्थी समूलाई विस्थापित नगरी सुधार सम्भव हुँदैन । धर्मनिरपेक्षता नेपाली जनताका लागि आवश्यक थियो कि थिएन ? जनता समक्ष छलफल गर्नु पर्दथ्यो । ८० प्रतिशतभन्दा बढी नेपाली जनताले सनातन बैद्धिक धर्म र संस्कृतिमा विश्वास गर्दछन् । यस्तो अवस्थामा मुलुकमा धर्म निरपेक्षता थोपर्ने काम नेपाली कांग्रेसको नेतृत्वले गरेको ठूलो गल्ती हो । वीपीले प्रतिपादन गर्नुभएको नेपाली कांग्रेसको सिद्धान्त र आदर्शभित्र धर्मनिरपेक्षता पर्दैन । उग्रवामपन्थी र दक्षिणपन्थीहरुसँगको सहकार्य वीपीले प्रतिपादन गरेको नेपाली कांग्रेसले स्वीकार गर्दैन ।
नेपाली कांग्रेसले आफ्नो पहिचान के हो भन्ने बिर्सेर सत्ताका लागि अपवित्र गठबन्धन गरेर तत्कालीन नेताहरुको क्षणिक स्वार्थ पूर्ति भए पनि यसले समग्र नेपाली कांग्रेसको सिद्धान्त र आदर्श विपरित भयो । पार्टीलाई यस्तो गठबन्धनले बेफाइदा पु¥यायो । नेपाली कांग्रेस सिद्धान्ततः जनताको स्वतन्त्रता र स्वाधीनताका लागि संघर्ष गरेको पार्टी हो । वीपी सत्ताका लागि कहिल्यै पनि लालायित हुनु भएन, यदि सत्तामा लालायित भएको भए त्यति लामो निर्वाचन र कारागारको यातना सहनुपर्ने थिएन ।
वीपीले नेपाली कांग्रेसमा सधैँ सैद्धान्तिक र विषयगत अडान लिएका थिए । राष्ट्रियताको विषयमा, प्रजातान्त्रिक संस्थाहरुका विषयमा, आर्थिक विकास र समाजवादी व्यवस्थाका विषयमा वीपीले निरन्तर अडान लिएको इतिहास साक्षी छ । हिन्दू स्तानमा बसेर संगठन गर्दा पनि आफ्नो राष्ट्रियताको छविलाई उनले धमिलो हुन दिएनन् । राजासँग मेलमिलापको नीति लिएर नेपाल फर्किंदा पनि प्रजातन्त्रको आग्रहमा उनले कहिल्यै समर्पण गरेनन् । वीपीले भनेका छन्– जुन दिन नेपाली कांग्रेसले राष्ट्रियताको आफ्नो अडान छाड्ने छ, त्यो निरर्थक भएर जाने छ ।
नेपाली कांग्रेस आम जनताको पार्टी हो । आम जनताको चाहना नै नेपाली कांग्रेसको चाहना हो । जनताको चाहना विपरित नेपाली कांग्रेसको गन्तव्य हुन सक्दैन तर नेपाली कांग्रेसले किन जनप्रियता गुमायो ? कांग्रेस जनतामाझबाट किन टाढियो ? भन्ने बारेमा आन्तरिक बहस गरी नेपाली कांग्रेसका निष्ठावान् नेता र कार्यकर्ताहरु एकजुट भए, कांग्रेसका विरुद्ध भएको आन्तरिक र बाहिरको षड्यन्त्रको पर्दा उघारि नेपाली कांग्रेसलाई पुनः आम नेपाली जनताको पार्टीका रुपमा स्थापित गर्नु पर्छ ।
देश र जनताको आवश्यकता अनुसार नेपाली कांग्रेसले आफ्नो सिद्धान्त र आदर्शलाई परिमार्जन गर्दैै लैजानु पर्छ । नेपाली कांग्रेसले नेपाली जनताको आवाजलाई आफ्नो आवाज बनाउनु पर्छ । नेपाली जनताको भावनालाई मूर्त रुप दिन अबका दिनमा नेपाली कांग्रेस क्रियाशील हुनु पर्छ । विगतमा गरेका गल्तीलाई सच्याएर नेपाली कांग्रेस पुनः जनता माझ जान हिचकिचाउनु हुँदैन ।
नेपालका अन्य राजनीतिक दलहरुको भन्दा नेपाली कांग्रेसको यात्रा भिन्न छ । सात दशकको अवधिमा यसले अनेकौँ प्रकारका उकाली–ओराली, भञ्ज्याङ र चौतारीहरु पार गर्दै आएको छ । खास लक्ष्य र सिद्धान्तका साथ हिडेको पार्टीको यात्रा कहिल्यै पूर्ण हुँदैन । विगतमा भएका कमजोरीबाट पाठ सिकोर नेपाली कांग्रेसलाई जनप्रिय पार्टी बनाउन सबै दत्तचित्त भएर जुटौँ ।
तोकिएको समयमा नेपाली कांग्रेसको चौधौँ महाधिवेशन कोरोना कहरका कारण उक्त समयमा नहुने निश्चित भएको छ । नयाँ मिति तोक्नका लागि कांग्रेसले कार्तिक २१ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । गत फागुन महिनामै कांग्रेसले विधानले दिएको चारवर्षे कार्यकाल गुजारिसकेको छ । विधानले दिएको अतिरिक्त एक वर्ष कार्यकाल बढाउन पाउने सुविधा कांग्रेसले प्रयोग गर्दै आएको जुन समय फागुनमा सकिएपछि अबा कांग्रेसले संवैधानिक व्यवस्था अनुसारको थप ६ महिना समय लिन सक्ने छ ।
त्यस अनुसार उसलाई आगामी भदौसम्म महाधिवेशन गर्न समय लिन सक्नेछ । महाधिवेशनको पूर्वाधारका रुपमा रहेको क्रियाशील सदस्यता र विभिन्न राजनीतिक दल परित्याग गरेर कांग्रेस प्रवेश गरेका नेताहरुको समायोजनका विषयमा प्रश्न उठाइएको छ । असन्तुष्ट पक्षले उठाएका विषयमा व्यापक छलफल र बहस गरी अघि बढेमा मात्र महाधिवेशनको निष्पक्षतामाथि प्रश्न उठ्न पाउँदैन । असन्तुष्ट पक्षले सभापति गृहजिल्ला डडेलधुरा, कैलालीदेखि रसुवासम्मको समायोजन र सदस्यता वितरण न्यायोचित नभएको गुनासो गर्दै आइरहेका छन् । त्यसलाई सच्याउनुपर्ने सन्तुष्ट पक्षको माग छ ।
पार्टी क्रियाशील सदस्यता पनि विधान अनुसार वितरण नभएको गुनासो गर्दै आएका छन् तर संस्थापन पक्षले यसलाई अस्वीकार गरेको छ । असन्तुष्ट पक्षले राखेका असहमतिबारे संस्थापन पक्षले गम्भीर देखाएको छैन भन्ने आरोप छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष र असन्तुष्ट पक्ष आ–आफ्नो अडानमा कायमै देखिएका छन् । नेता रामचन्द्र पौडेल सहित असन्तुष्ट पक्षले उठाएका १६ बुँदे मागका विषयमा छलफल चलिरहेको छ र अडान कायमै छ ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशन आगामी जेठमा गर्न पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा प्रस्ताव आएको छ ।
आगामी फागुन ७ देखि १४औँ महाधिवेशन गर्न सम्भव नरहेको जिकिर गर्दै छलफलमा सहभागीले गरे । संगठन समायोजन, क्रियाशील सदस्यता वितरण सहितका काम समयमा नसक्ने जिल्लालाई महाधिवेशनमा सहभागी नगराउने गरी नयाँ मिति सहितको कार्यतालिका निर्धारण गरे मात्र जेठमा महाधिवेशन सम्भव हुन्छ ।
नेपालका हरेक प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व प्रदान गरेको नेपाली कांग्रेसलाई नेपाली जनताले अहिले प्रमुख प्रतिपक्षको भूमिका दिएका छन् । संविधान निर्माणको सन्दर्भमा आएका सुझावलाई आत्मसात गर्न नसक्ने कुनै पनि पार्टीको भविष्य छैन भन्ने कुरालाई आत्मसात गर्दै अगाडि बढ्नु आजको आवश्यकता र नेपाली कांग्रेसको भावी गन्तव्य हो भन्दा अत्युक्ति हुने छैन । नेपालमा प्रजातन्त्रको स्थापना गरी नेपाली जनतालाई सुख, समृद्धिका साथ नेपालका विकास गर्ने महान लक्ष्यका साथ वि.सं. २००३ सालमा स्थापना भएको नेपाली कांग्रेसको गरिमामय इतिहास लक्ष्यमा पुग्ने क्रममा फेरि अर्को पहाड आइपुग्दा हिच्किचाउँदैन ।
त्यो पहाडलाई छिचोल्नको लागि रणनीतिक योजना बनाएर अघि बढ्छ । विगतमा भएका कमजारीबाट पाठ सिकेर नेपाली कांग्रेसले आफ्नो लक्ष्य निर्धारण गर्न ढिला भइसकेको छ । पार्टी नेतृत्वले गरेका कमीकमजोरीका सम्बन्धमा पार्टीभित्र खुल्ला बहस चलाउनु पर्छ र गरेको गल्तीलाई गल्ती हो भन्ने पनि महशुस गर्न सक्नुपर्छ । विगतमा भएका गल्तीहरु सम्बन्धमा व्यापक विचार विमर्श गरी नेपाली कांग्रेसलाई जनप्रिय पार्टीको रुपमा पुनःस्थापित गर्नु पर्छ ।
नेपालमा सैद्धान्तिक रुपमा लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरिएको छ तर व्यवहारमा सो अनुकुलको आचरण र व्यवहार नहुँदा आम जनताले लोकतन्त्रको वास्तविक अनुभूति गर्न पाएका छैनन् । तसर्थ, सिद्धान्तमा मात्र होइन व्यवहारमा पनि, नीतिमा मात्र नभइृ नियतमा पनि र संरचनामा मात्र होइन संस्कारमा पनि परिवर्तन गर्न सकेमा लोकतान्त्रिक मूल्य, मान्यताहरुले सार्थकता पाउने भएकाले यसतर्फ नेपाली कांग्रेस कटिबद्ध र एकताबद्ध भएर जुट्न जरुरी छ ।
राजनीति शब्दको मूल मर्म विधि वा नीतिमाथिको शासन भन्ने बुझिन्छ । जसले विधिको शासन व्यवस्था कायम गरी देश र जनताका समस्या समाधानका निमित्त निरन्तर उपायको खोजी गर्छ । अस्तव्यस्तता र अभावलाई दीर्घकालीन रुपमा समाधान गर्न यसले विधि तथा नीति बनाई न्यायिक शासन पद्धति कायम गर्छ । साम्प्रदायिक स्वार्थभन्दा माथि उठेर जब राष्ट्रिय स्वार्थमा देशको राजनीति केन्द्रित हुन्छ तब सोच्न सकिन्छ शासन प्रणालीले सही पथ लियो । लोकतन्त्र भनेको विश्वव्यापी मूल्य मान्यता माथिको न्यायिक अनुभूति हो ।
शान्ति, सुरक्षा र निर्धक्कसँग जीवन यापन हो । समानुपातिक दृष्टि नै लोकतान्त्रिक अभ्यास हो । अहिले हामीले भोगिरेहको सरकार लोकतान्त्रिक मूल्य मान्यतामा आधारित छ कि छैन ? एकपटक सोच्ने बेला भएको छ । लोकतन्त्रमा राष्ट्र र जनताप्रति सेवाको भावना बढी हुनु पर्छ । व्यक्ति केन्द्रित नेतृत्व र भ्रष्ट संस्कार भएको सरकारले लोकतन्त्रको उपहास गर्छ ।
लोकतान्त्रिक परिपाटीले जनाकांक्षाले सम्बोधन गर्न सकेन भने ती अलोकतान्त्रिक सरकार बन्छ । त्यसले अधिनायकवादलाई टेपा पु¥याउँछ । सर्वसाधारणलाई मात्र कानुनी दायरामा ल्याउने र आफ्नाका निमित्त कानुन नै संशोधन गरी रक्षा गर्ने प्रवृत्ति लोकतन्त्रमाथिको अपराध हो । यो नक्कली अनुहारले देशमा अराजकता मात्र निम्त्याउँदैन, अन्ततः लोकतन्त्रलाई नै खतराको स्थितिमा पु¥याउँछ ।
वर्तमान सुरकारले जनभावनाको कदर गर्न नसकी संघीयतालाई स्वार्थ सिद्ध गर्ने यन्त्रका नाममा समृद्धिको भ्रम पिटिरहेको छ, जनता आजित भई ‘राजा आउ देश बचाऊ’ भन्दै सडकमा आन्दोलनमा उत्रिरहेका छन् ।
यस परिस्थितिमा लोकतन्त्रको रक्षार्थ अन्तिम विकल्प र उत्तम विकल्पको रुपमा नेपाली कांग्रेस जनतामाझ गई जननिराशालाई चिर्नका लागि फुटको मानसिकता हटाई एकजुट भई चौधौँ महाधिवेशनको संघारमा देशको र जनताको भविष्य सुनिश्चित गर्ने अभियानमा दलीय स्वार्थपूर्ण राजनीतिबाट माथि उठ्न आवश्यक छ । जसको माटोमा राम्रो पकड छैन त्यो कुनै पनि बेला ढल्न सक्छ । मन जित्ने काम भए जोकोही पनि किनारा लाग्छ ।