गुरुप्रसाद शर्मा रेग्मी
वर्तमान समयको शैक्षिक अन्योलता, कानुनी राज्यको अभावले चरम चुलीमा पुगेको भ्रष्टाचार, संस्कार र संस्कृतिविहीन राजनीतिले सिर्जना गरेको विकृति र विसंगतिका कारण जे जस्तो व्यवस्था र अवस्था बन्न गएको छ त्यो मत्स्य न्यायको अवस्था हो । यतिबेला नेपालीलाई गुज्रनुपरेको छ, त्यसलाई नारकीय अवस्थाभन्दा अत्युक्ति नहोला । यस्तो अवस्था र व्यवस्था सिर्जना किन भयो ? भन्ने प्रश्न हरेक नेपाली जनताको ओंठमा झुण्डिएको छ ।
विगतदेखि वर्तमानसम्मका सत्ता पक्ष र प्रतिपक्षका नेतृत्वहरु कार्यकर्ताहरुले मूल समस्या के हो ? त्यसको पहिचान नै नगरी समस्याको समाधान खोज्ने धृष्टता गर्दा नै समस्याहरु झन बढी जटिल र पेचिला बनेको छ । वर्तमानको यो जटिल अवस्थाले शिक्षा, स्वास्थ्य जस्ता सबै क्षेत्रहरुमा प्रतिकूल असर पर्न गएको छ । मानिसलाई आत्मिक र भौतिक ज्ञान दिने शिक्षा हो । सैद्धान्तिक विचाप्रति आस्था र निष्ठा जगाइदिने राजनीति हो । चरित्रता, नैतिकता, वैचारिक शुद्धता, व्यावहारिक शुद्धता जगाइदिने धर्म हो ।
यतिबेला शिक्षा, राजनीति, धर्मलाई व्यवसाय बनाएर नाफा र नोक्सानीको जोड घटाउमा लाग्छन् भन्ने त्यस्तो शिक्षा, राजनीति, धर्मले समाजमा न मानवतालाई अटाउन दिन्छ न कानुनी राज्य नै स्थापना हुन दिन्छ भने सरकारक भएको अनुभूति जनतालाई कसरी हुनसक्छ ? एउटा देशलाई राम्रो नराम्रो बनाउने शिक्षा राजनीति र धर्म नै हो । यो देशमा यी तीनवटै कारकतत्वलाई वास्तविक रुपमा व्यवसाय बनाएर व्यावसायिक व्यवहार गर्ने गरिन्छ भने त्यहाँ मानवता आदर्श इमानदरिता र न्यायको कुरा एकादेशमा एउटा राजा थिए भनेजस्तो भएको छ ।
यसमा सुधार हुन सक्दैन भन्ने कुरा छैन, सत्ता पक्ष र प्रतिपक्षका नेताहरु कार्यकर्ताहरुले अनावश्यक अस्वाभाविक महत्वाकांक्षा नराखेर नेपाली जनताको प्रकृति चाहना र क्षमता बुझेर त्यही अनुसारको स्वास्थ्य र स्वच्छ वातावरण निर्माण गरिदिने हो भने न जनतामा न नराम्रो असर पर्ने थियो न समस्या नै जटिल र कठिन हुने थियो ।
हरेक वस्तुहरुमा प्रकृति प्रदत्त मौलिक धर्म र गुण भएझौ मनुष्यमा पनि ज्ञान र कलाको खानी अन्तरनिहित रहेको हुन्छ । त्यसले अनुकूल परिस्थिति र वातावरण पायो भने अंकुराउने र मौलाउने अवसर पाउँदछ । मानव जीवनको हरेक कालखण्डमा हरेक भेडाहरुमा नेपालको अवस्था र व्यवस्थालाई नियाल्ने हो भने आम नेपाली जनताको आत्मबल आत्मविश्वास र आत्मगौरवमा सधैँ राजनीतिक नेतृत्व ग्रहण बन्ने गरेकाले नेपाली जनता हतास र निराश बन्न गएको छ ।
कुनै मानिस जात, धर्म र धनले ठूलो हुँदैन । उ प्रकृति प्रदत्त सुन्दर ज्ञान र कर्मले ठूलो हुन्छ । धन कमाउने, शिक्षण, प्रशिक्षण, राजनीति समाज सेवा, शासन, प्रशासन, आध्यात्मिक आस्था जगाउने जस्ता जुन ज्ञानका कथाहरु छन् तिनलाई आफ्नो रुची स्वभाव, भाव र लगावका आधारमा छनोट गरेर त्यसैलाई आफ्नो गन्तव्य बनाई साधनारत बनायो भने सफलताको उचाइमा पुग्न सकिन्छ भन्ने कुरालाई यो देशमा शिक्षा, राजनीति, धर्मका नेतृत्वहरुले आत्मसात गर्न नसक्नु नै यो देशको दुर्भाग्य बन्न गएको हो ।
यहाँ त जनताको मनमस्तिष्कमा डर, शंका, अविश्वासको भाव भरिदिएर उनीहरुलाई निरीह गराउने काम भइरहेको हुन्छ । त्यसैले जनता राजनीतिकर्मीहरुको व्यथितिमा बोल्न नसक्ने अवस्था बनाइएको छ, खाली एउटा राजनीतिकर्मीले अर्को राजनीतिकर्मीलाई कसरी पछाडि पार्ने भन्ने मस्तिष्क भएका राजनीतिकर्मीहरुले गुट उपगुट बनाउने र एकले अर्काको चरित्र हत्या गर्ने, काम नै यतिबेलाको शिक्षाले बाँडिरहेको छ भने सकारात्मक सोच, चिन्ता गर्नु कति उपयुक्त हुन्छ होला ?
राजनीतिमा बढ्दै गएको अस्थिरता र अन्योलताले वितृष्णा बढ्दै गएको छ ।
विगतदेखि वर्तमानसम्मको राजनीतिक इतिहासको विश्लेषण गर्ने हो भने राजनीतिक दलहरुमा नेतृत्वको लागि गुट, फुट, जुट र लुटको राजनीतिलाई सत्ता र सम्पन्नताको बन्दी बनाइदिएका छन् । त्यसैले यहाँ विकास निर्माण, शान्ति, सुरक्षा, सुशासनको परिवर्तनका कुरा, कानुनीराज्यका कुरा सडकमा नेताहरु, कार्यकर्ताहरुका नारा मात्र बन्न गएका छन् ।
व्यवहारमा कहीँकतै जनताले देख्न र भोग्न पाएको अवस्था छैन । यो देशका राजनीतिक दलका नेताहरुको चरित्र, व्यवहार, कार्यशैली, चिन्तनको अभिव्यक्ति सबैमा द्वेधता हुने भएको र देखिने भएकाले सबै क्षेत्रहरुमा अन्योलता मात्र नभएर विभेद समेत गर्ने गराउने भएकाले देशले उन्नति र प्रगतिको बाटो समाउन नसकेको वास्तविकतालाई नकार्न सकिँदैन ।
यो देशका राजनीतिक दलका नेताहरुले परिवर्तनका जति ठूला कुरा गरे पनि परिवर्तनको लागि आवश्यक पर्ने संस्कार, संस्कृति र संरचना यथास्थितिवादी र उपभोक्तावादी नै रहेको छ । यही सत्य तथ्यताले गर्दा यो देशका राजनीतिक दलका नेताकार्यकर्ताहरुले गणतन्त्रलाई आत्मसात गर्न सकेका छैनन् ।
गणतान्त्रिक सत्ताको नाम दिए पनि राजा र राणाकै नीति र शैली ल्याइ भजाउने काम गरिरहेपछि परिवर्तन देख्न र भोग्न चाहने जनताको अपेक्षा कसरी पूरा हुनसक्छ ? यो देशको सत्तामा सहभागी हुने र भएका क्रान्तिकारी परिवर्तनकारी, यथास्थितिवादी जुन दल भए पनि विदेशीको सामू घुँडा टेक्ने दुवै हात जोड्ने र हात थाप्ने प्रवृत्तिले गर्दा दाताको नीतिको दलाली गर्ने र उसकै नीतिको प्रवक्ता बन्ने प्रतिबद्धता गर्ने भएकाले जसले जति दिन्छ, जसरी दिन्छ जसरी भए पनि लिने जुन परम्परा बनेको छ त्यसैले देशलाई गरीब बनाएको छ ।
देशमा प्रतिवर्ष आउने विदेशी सहायताको बाढीले नेपाल र नेपालीलाई बाढीपीडित जस्तो बनाइदिएको छ । यसले जनतालाई अपांग बनाइदिएको, विपन्नताको दलदलमा भासिनुपरेको छ । तर राहत वितरणको कार्य गर्नै गराउने नेता कार्यकर्ताहरुलाई सम्पन्न बनाउने काम भइरहेको छ । राजनीतिको आत्मसम्मानमा आँच पु¥याएर वितृष्णा बढाइरहेको छ ।
राजनीतिक दलका नेताहरुले आफ्नो विकृत अनुहार नदेखियोस् भनेर देशमा स्रोत र साधन नभएको अभाव भएको कुरा भन्ने गर्दछन् । दलका नेताहरुमा नैतिकता, इमानदारीता र राजनीतिक संस्कार र संस्कृति नभएको, दृढ इच्छाशक्ति नभएकाले गन्तव्यको अन्योलताले गर्दा देश र जनतालाई धनी देशका गरीब जनता भएर बस्नुपरेको हो ।
यति मात्र नभएर एउटा नेपालीलाई अर्को नेपालीसँग डराएर बस्नु पर्दछ भने त्यहाँ सरकारको उपस्थितिको अनुभूति जनताले कति गर्न सकेको हुन्छ ? भन्ने कुराले सबै पुष्टि गरिदिन्छ । जबसम्म यो देशमा भएका स्रोत र संसाधनहरुलाई सही ढङ्गबाट परिचालन गर्ने बुद्धि, विवेक र आत्मबल सहितको नेताहरुमा दृढ इच्छाशक्ति जागृत हुँदैन देश र देशवासीलाई यस्तै दयनीय गरिबी र बेरोजगारीको अवस्थामा नेपालीलाई बस्नुपर्ने वाध्यता बनिरहने छ ।
यो देशका नेताहरु कार्यकर्ताहरुको प्रवृत्ति र प्रकृतिले गर्दा नेपाली आम जनताको चेतना प्रतिकुल असरको प्रतिक्रियाले नै गरीबीको रुप लिने गरेको छ । गरीबीको संस्कृति भनेको भोक भएकाले मानिस जसरी भए पनि भोक मेटाउने कार्यकर्तामा लाग्ने भएकाले उनीहरु नेताहरुको प्रलोभनमा परेर भ्रष्ट नेताको पछाडि लाग्न वाधा हुनुपरेको छ । भोको जनताको लागि स्वतन्त्रता, परतन्त्रतामा कुनै अन्तर हुँदैन ।
गरीबीको संस्कृति निर्जीव हुने भएकाले अनेक दुःखकष्टको भरमा दाबिएका हुन्छन् । हुन त नेपालको धारालाई कर्मभूमि भनिन्छ । यहाँ जसले कर्मलाई निष्क्रिय हुन दिँदैन त्यसलाई विपन्नताले छुन सक्दैन । नेपालको विडम्बना के छ भने यो कर्मभूमिका मानिसहरुलाई कर्म गर्न नदिने र कर्मलाई निष्क्रिय बनाइदिने अहमभूमिका राजनीतिक दलका नेताहरुबाटै भइरहेको छ । हिजोका दिनमा पनि यही भइरहेको थियो, आज पनि भइरहेको छ । त्यसैले त गरीबी हटाउने नारा लगाउन नेताहरुले लागेको ५ दशक हुँदासम्म पनि गरीबी घट्नुको साटो झन–झन बढ्दै गइरहेको छ ।
बढी शोषित र पीडित हुने गरीब नै हुन्छन् । उनीहरुको मन मस्तिष्कमा हिजो सम्पन्नले र आज नेताहरुले यस्तो डर प्रत्यारोपण गरिदिएका हुन्छन् कि उसले आफ्नो जीवनको भविष्यको बारेमा कुनै कुरा सोच्न नसकोस् भन्ने विचार राख्ने गरेको पाइन्छ । यहाँ ठूला साना जति पनि आन्दोलन जनआन्दोलन भएका छन् त्यसमा प्राप्त गरीबकै सन्तान मरेका छन् ।
जनताको यही गरीबीपनालाई देखाएर हात थाप्ने र आएको रकमले आफू मोटाउने र जनतालाई झन दुब्लाउने काम भइरहेकाले देश र देशबासीको यो डरावस्था हुन गएको हो । आज राजनीति कता जाँदै छ कसैले भन्न सक्दैन ।