लमही–घोराही–तुलसीपुर सडकखण्डको स्तरोन्नति गरी चारलेन बनाउने काममा निकै ढिलासुस्ती भएको छ । ढिलासुस्तीसँगै केही स्थानमा कामको गुणस्तरमै पनि प्र्रश्न उठेको छ । निर्माण हुँदै गरेका कतिपय संरचना भत्किइसकेका छन् ।
निर्माण कम्पनीको आधिकारिक रुपमा उपस्थिति नभएर पेटी ठेकेदारका रुपमा काममा खटिएका प्रतिनिधिबाट काम सन्तोषजनक रुपमा सम्पन्न हुन सकेन । पहिलो किस्ता स्वरुप निर्माण कम्पनीका नाममा जति रकम निकाशा भएको थियो, त्यो रकम बराबरको काम प्रगति सन्तोषजनक रुपमा हुन नसकेपछि निर्माण कम्पनीले राखेको बैंक ग्यारेन्टीबाट समेत पेस्की स्वरुप लिएको रकमबाट केही कट्टा गरी निर्माण कम्पनीलाईं एक चरणको कारवाही गरिएको छ ।
कारवाहिसँगै लकडाउनका कारण केही समस्या भएको आवेदन निर्माण कम्पनीका तर्फबाट परियोजनाका कार्यालयमा परेपछि बढीमा ५ महिना म्याद थप पनि भएको छ । यद्यपि निर्माण कम्पनी अझै पनि काममा फर्केको छैन ।
पहिले लकडाउनको कारण मजदुर नपाएको वहाना बनाउँदै आएको निर्माण कम्पनीले दशैंपछि तत्काल काम सुरु गर्ने आश्वासन दिएको थियो । तर दशैं पनि काम सुरु नहुँदा तोकिएको समयमा निर्माणको काम सकिने अवस्था देखिएको छैन । तीन वर्षमा सकिने भनिएको निर्माणको अवधि एक वर्ष सकिइसकेको छ । तर यस बीचमा सडकले आफ्नो स्वामित्वमा फिलिङ गर्ने र पर्खाल लगाउने केही झिना–मसिना काम वाहेक केही हुनसकेको छैन ।
सडकको अधिकार क्षेत्रभित्रै धेरै विद्युत पोलहरु छन् । पोल सार्ने काम पनि द्रुत गतिमा हुनसकेको छैन । रुखहरु हटाउने काम सुरु भए पनि अझै सबै क्षेत्रमा रुख कटानको काम समेत सकिएको छैन भने दूरसञ्चारका तारहरु र खानेपानीका पाइपहरु समेत व्यवस्थापन गर्न सकिएको छैन । यो ढिलासुस्तीले तीन वर्षमा होइन काम सक्न अझै कम्तिमा ५ वर्ष समय लाग्ने देखिएको छ ।
भारत सरकारको सहयोग रकम भन्दै निर्माण कम्पनी पनि भारतै छनोट गरियो । तर छनोट भएको भारतको मुम्बईको तथ्य इञिजनियरिङ एण्ड इन्फ्राइस्टक्चर कम्पनी आफै काममा नआएर केही नेपाली युवाहरुलाई स्थानीय प्रतिनिधिका रुपमा काम गर्ने गरी जिम्मा दिएको छ । तर ती नेपाली प्रतिनिधिसँग आवश्यक स्रोतसाधनलगायत जनशक्ति पनि पर्याप्त प्रयोग गर्न सक्ने क्षमता देखिएको छैन ।
भारतीय कम्पनीले गरेका निर्माणका काममा यस्ता ढिलासुस्तीका प्रशस्तै उदाहरणहरु छन् । लमही कोइलाबास हुलाकी सडक निर्माणको ठेक्का पनि भारतीय निर्माण कम्पनीलाई दिँदा यस्तै समस्या भएको थियो । जसका कारण तीन वर्षमा सकिनुपर्ने काम दश वर्षसम्म पनि सम्पन्न हुनसकेको छैन । यस्तो अवस्था घोराही–तुलसीपुर चारलेन सडकमा नआओस् भन्नेमा सरोकारवाला परियोजना गम्भीर हुनु आवश्यक छ ।
पाँच नम्बर प्रदेशको धेरै व्यस्त सडकका रुपमा रहेको यो सडक निर्माणमा ढिलाइ गर्नु गम्भीर त्रुटि हो । तोकिएको समयमा काम गर्ने हैसियत नभएका व्यक्तिलाइ निर्माण एजेण्टका रुपमा काममा नलगाऔँ । तोकिएको समयमा काम गर्न नसक्ने निर्माण कम्पनीको ठेक्का खारेज गरी अन्य कम्पनीलाई काममा लगाऔँ । ढिलासुस्तीको अन्त्य गरौँ ।