कृषिमा यान्त्रीकरण
बालाराम खड्का
तुलसीपुर, २० कार्तिक । भर्खरै भित्रिँदै गरेको कृषिमा यान्त्रिकीकरणले यहाँका किसानहरुलाई सहजता हुनुका साथै कृषि उत्पादन लागत मूल्यमा समेत कमी आएको किसानहरुले बताएका छन् । यान्त्रिकीकरणलाई थप प्रभावकारी र व्यापक बनाउन भिन्नै भूउपयोग नीति ल्याएर जग्गाको अनाधिकृत खण्डीकरण रोक्न पनि किसानहरुको सुझाव रहेको छ ।
कुनै समय घरभरि खेती गर्नका लागि गोरु, राँगा हलको हल पाल्ने चलन थियो । गोरु राँगा उत्पादनका लागि गाई र भैसी पनि पाल्ने गरिन्थ्यो । तर हाल ती सबै लोप भएका छन् । आधुनिक कृषि प्रणालीलाई विस्तारै किसानहरुले रोजेका छन् । हाल कहीँकतै गोरु, राँगाहरु खेती गर्नका लागि पाल्ने गरे पनि जिल्लामा धेरै जसोले ट्रेक्टरले नै जोताउने, धान निकाल्नेदेखि काट्नेसमेत गरेका छन् । परम्परादेखि गोरुले खेत जोत्दै आएका पदमबहादुर खड्काले यस बर्षदेखि ट्रेक्टर लगाएर खेती गर्ने गरेको बताए । उनले यस बर्ष पनि धान भित्राएर गहुँ ट्रेक्टरबाटै छरेको बताए । उनीजस्तै अर्का किसान भानु केसीले पनि यस बर्ष धान थे्रसरमा हालेर खेतबाट ल्याएको बताए ।
टे«क्टरले जोतेको प्रतिघण्टा १७÷१८ सयसम्म लैजाने र खेती भित्र्याउन र स्याहार्न पनि सहज हुने भएकाले हाल सबै किसाहरु यसतर्फ आक्रर्षित भएका छन् । जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समयमा दाङमा कृषि क्षेत्रमा यान्त्रिकीकरणको प्रयोग बढ्दै गएको छ । मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा कृषिमा यान्त्रिकीकरणको प्रयोग गरेर खेती हुन थालेपछि कृषकहरुलाई पनि सहज भएको छ । योसँगै अब जोत्नका लागि गोरु–राँगा पनि पाल्न छोडेका छन् । ‘पहिले–पहिले परम्परागत तरिकाले खेती गथ्र्यांै, त्यसले जनशक्ति र लागत बढी लागे पनि उत्पादन कम हुन्थ्यो’, स्थानीय चित्रबहादुर केसीले भने ।
उनले ४÷५ दिन लगाएर खेतमा गहँु छर्न र मानिस लगाएर धान चुट्ने गरे पनि हाल एकै दिनमा ट्रेक्टरले खेती सक्ने गरेको सुनाए । उनले गोरु पनि नपाइने र जिल्लामा धान काट्ने, रोप्ने, दाउनेसमेत मेसिन आएको भन्दै सहज भएको बताए । जसले गर्दा समय र लागतको बचतसँगै उत्पादन बढ्न थालेको कृषकहरु बताउँछन् । गाउँमा काम गर्ने युवाहरु वैदेशिक रोजगारीका साथै अन्य क्षेत्रमा काम गर्न जाँदा कृषिक्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुने समस्या पनि त्यत्तिकै रहेको छ । जनशक्ति पनि महंगिँदै गइरहेको अवस्थामा कृषि यान्त्रिकीकरणले कम खर्चमा उत्पादनमा वृद्धि हुने भएकाले प्रविधितर्फ कृषकको आर्कषण बढेको स्थानीयहरु बताउँछन् ।
पछिल्लो समय केही सहकारी संस्थाले समेत कृषि उपकरण तथा प्रविधिको प्रयोगमा किसानलाई मद्दत गर्न थालेका छन् । त्यस्तै व्यक्तिहरुले पनि यान्त्रिक साधनहरु किनेका छन् । पछिल्लो समय कृषि क्षेत्रमा वितरण भएको अनुदान सदुपयोग हुन नसकिरहेको सन्दर्भमा वास्तविक किसानहरुलाई पहिचान गरी यान्त्रिकीकरणको प्रयोग बढाउन सके कृषिमा आधुनिकीकरण हुनसक्ने कृषि विज्ञहरु बताउँछन्् ।
कृषि प्राविधिक माधव केसीले कृषिमा यान्त्रिकीकरण बढ्दै गएको भन्दै सबैको पहँुच पुग्ने गरी यसको विकास गर्नुपर्ने बताए । उनले हाल धेरै जसोले कृषिमा यान्त्रिकीकरण प्रयोग गर्ने गरेको बताए । ‘पछिल्लो केही बर्षदेखि कृषिमा यान्त्रिकीकरण बढ्दो छ, यसले गर्दा किसानलाई पनि सहज भएको छ, यसको वृद्धि अझै गर्न सके सहज हुनेछ’, उनले भने । मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा कृषिमा यान्त्रिकीकरणको प्रयोग गरेर खेती गर्नाले उत्पादनमा वृद्धि हुने समेत उनको भनाइ छ । कृषि यान्त्रिकीकरण बढेसँगै विभिन्न कारणले बाँझै रहने खेत–बारीहरुमा पनि खेती हुन थालेको छ ।