गोरक्ष समाचारदाता
तुलसीपुर, २० कार्तिक । अबदेखि तुलसीपुरमा छोरीहरुको लागि गुड न्यूज छ । तुलसीपुर उपमहानगरपालिकाले अबदेखि छोरी जन्मेदेखि २० बर्षसम्म निरन्तर मासिकरुपमा रकम जम्मा गरिदिने भएको छ । छोरीको महत्व दर्शाउन, उनीहरुको शिक्षा, स्वास्थ्य र पठन–पाठनमा सघाउन नगरले प्रशंसनीय कार्यको सुरुवात गरेको छ ।
बिहेपछि पनि छोरीहरुलाई जीवनयापन गर्न सहजता होस् भनेर नगरले मासिक एक सय रुपैयाँ जम्मा गर्ने अभियान शुरु गरेको नगर प्रमुख घनश्याम पाण्डेले बताए । उनले छोरीको आर्थिक र सामाजिक सशक्तीकरणका लागि जन्मेदेखि हरेक महिना एक सयका दरले बैंक खातामा रकम जम्मा गर्ने क्रम शुरु भएको जानकारी दिए ।
कार्यपालिकाको ९५आंै बैठकले स्मार्ट छोरी विहेबारी बीस वर्षपारी कार्यविधि पारित गरेसँगै अब यो लागू हुने उनले बताए । कार्यक्रम सञ्चालनका लागि उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा बजेट समेत विनियोजन गरिसकेको नगर प्रमुख पाण्डेले जानकारी दिए ।
कार्यविधिमा उल्लेख भएअनुसार २०७७ साउन १ गतेपछि जन्मिएका उपमहानगरपालिकाभित्रका हरेक छोरीहरुको बैंक खातामा रकम जम्मा हुने उपप्रमुख माया शर्माले जानकारी दिइन् । कार्यविधि केही ढिला पारित भएको भए पनि पहिलेदेखि नै यो कार्यक्रम लागू हुने उनले जानकारी दिइन् । कार्यक्रममा समावेश हुनका लागि अभिभावकले छोरी जन्मिएको ३५ दिनभित्रमा अनिवार्यरुपमा जन्मदर्ता गराएको हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
जन्मदर्ता अनिवार्य गर्नुपर्नेमा कतिपय अभिभावकले ढिला गर्ने गरेको भन्दै ३५ दिनभित्र गरिदिन शर्माले आग्रह गरेकी छन् । त्यसका साथै अभिभावकले बैंकमा खाता खोलेर खाता नं. उपमहानगरपालिकालाई उपलब्ध गराउनुपर्ने हुन्छ । कार्यविधिमा उल्लेख भए अनुसार जन्मेको पहिलो महिनामा १ हजार २ सय रुपंयाँ र त्यसपछि हरेक महिना एक सयका दरले खातामा रकम जम्मा हुने उपप्रमुख शर्माले जानकारी दिइन् । उपमहानगरपालिकाले बालिकाको नाममा खोलेको खातामा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । बालिका २० वर्ष पुगेपछि मात्रै उक्त रकम निकाल्न मिल्ने व्यवस्था गरिएको छ ।
कार्यविधि अनुसार २० वर्ष नपुग्दासम्म विहे नगरेको र अनिवार्यरुपमा माध्यमिक तहसम्म अध्यापन गरेको हुनुपर्ने उल्लेख गरिएको छ । बीचमै विवाह गरेमा या माध्यमिक तहसम्म पढेको नभएमा रकम सरकारी खातामा फिर्ता हुने प्रावधान राखिएको छ । नगर प्रमुख पाण्डेले तत्काललाई मासिक १ सय रुपैयाँ जम्मा गर्न थालिएको भए पनि भविष्यमा कार्यविधि परिवर्तन गरेर आवश्यकताअनुसार रकम बढाउन सकिने तर्क गरे ।
कार्यविधिमा कथंकदाचित समय अगावै बालिकाको मृत्यु भएमा, गम्भीर प्रकृतिको रोग लागेर माध्यमिक तह पूरा गर्न नसकेमा, संरक्षकको मृत्यु भई आर्थिक कठिनाई भएको खण्डमा त्यतिबेलासम्मको पुरै रकम बैंक खातामा उपमहानगरले जम्मा गरिदिने प्रावधान राखिएको छ ।