कोरोना जाँचलाई प्रभावकारी बनाउन प्रतिबद्ध

गोरक्ष समाचारदाता
दाङ, २० कार्तिक । कोरोना भाइरस संक्रमणको नियन्त्रण रोकथाम, परीक्षण र उपचारको अवस्थाको विश्लेषण र भविष्यमा आउनसक्ने चुनौतीका विषयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छलफल गरिएको छ ।

प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डा संगीता भण्डारीको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रणका लागि हालसम्म गरिएका प्रयास र अपनाउनुपर्ने आवश्यक तयारी आदिका बारेमा पनि सरोकारवाला निकायसँग बृहत छलफल गरेको छ । जिल्लामा बढ्दो कोरोना संक्रमणको अवस्थालाई मध्येनजर गर्दै कोरोना जाँचलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने तथा उपचारका लागि आवश्यक पर्ने साधन स्रोत, संक्रमितहरुको होमआइसोलेशन, क्यारेन्टाइनको व्यवस्थापन, संक्रमितको सम्पर्कमा रहेकाहरुको पहिचानलगायतका विषयमा छलफल गरेको छ ।

यस्तै बैठकले समुदायमा संक्रमण थप नफैलियोस् भन्ने उद्देश्यले संक्रमितले आइसोलेशनमा रहँदा अपनाउनुपर्ने स्वास्थ्यका मापदण्डका बारेमा जनचेतना जगाउने र परीक्षण सम्बन्धमा सरकारले तोकेको निर्देशिका र निर्देशन वमोजिम परीक्षण र रिपोर्टिङ गर्ने निर्णय गरेको छ । त्यस्तै जनचेतना जगाउन स्वयम्सेवकहरु तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैह्रसरकारी संघसंस्थाको सहयोग लिने, उपचारका लागि आवश्यक आइसियु बेड, भेन्ट्रिलेटर, विशेषज्ञ चिकित्सक, आवश्यक स्वास्थ्य सामग्री तथा बजेट निकासाको लागि आवश्यक पहल गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, स्वास्थ्य कार्यालय प्रमुख अंगदबहादुर शाही, राप्ती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. सर्वेश शर्मा र प्रतिष्ठानका डीन डा बसन्त लामिछानेलगायतको उपस्थिति रहेको थियो ।